coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिलाम्मे सडकले यात्रुलाई सकस

सहिद मार्ग। तस्बिर: दिनेश/नागरिक

यतिबेला रोल्पाका प्राय ठूला र ग्रामिण सडकहरु सकसमा छन्। जिल्लाको एकमात्र ठुलो योजना भनेर चिनिएको सहिद मार्गले त झन् यतिबेला सहिदकै उपहास गरिरहेको देखिन्छ। दाङको घोराहिदेखि रुकुम जोड्ने २ सय २० किलोमिटर सडक मध्य १ सय ४० किलोमिटर सडकमा मुस्किलले सवारी साधन चल्ने गरेकोमा अहिले त्यो पनि असम्भव जस्तै बनेको छ।  

दाङदेखि होलेरी सम्मको पक्की सडक पनि हस्तान्तरण नहुदै पैदल हिड्न समेत जोखिम बनेको छ। दर्जनौ स्थानमा सडककोबीचमा माछा पोखरी जत्रा खाडलले गर्दा साना ठुला सवारी साधनको बिजोग भएको छ। जोखिम पुर्ण यात्राका लागि रोल्पाली बिबश बन्दै गर्दा सरोकारवाला भने मौन जस्तै छन्।  

‘कम्तिमा सडकमा जमेको पानी काटेर फालिदिए पछि सजिलो हुने थियो। हिलो जमेर गाडि चिप्लीन्छ।’ एक सवारी चालक भन्छन् ‘यात्रु बोकेर हिड्न हुनु सम्मको जोखिम छ।’ सडकका कारण सवारी साधनमा हुने क्षतिको अनुमान समेत गर्न सकिने अवस्था छैन। हरेक दिन दर्जनौ सवारीसाधन चल्ने यो सडकमा दैनिक कुनै न कुनै सवारी साधन बिग्रीने गरेको स्थानीयहरु बताउँछन्।  

‘दार्बोट सम्मको सडक अलि ठिकै छ। धेरै स्थानमा टेन्डर भएको छ। डवल कटिङ हुदैछ।’ सहिद मार्ग सडक आयोजनाका प्रमुख बिष्णु वाबु पाण्डे भन्छन् ‘निर्माण व्यवसायीलाई भनेर धेरै बिग्रेको ठाउमा तुरुन्तै मर्मत गर्न लगाउँछु।’ शान्ती पकृया पछि रोल्पामा आएको सबै भन्दा ठुलो र गतिलो आयोजना भनेकै यहि सहिद मार्ग मात्र हो तर पनि यसलाई गतिलो बनाउने तर्फ कसैको ध्यान गएको छैन।  

केहि वर्ष अगाडि करोडाैं रकम खर्चिएर दाङको घोराहिदेखि रोल्पाको होलेरी सम्म गरिएको ३१ किलोमिटर सडक हस्तान्तरण कच्ची भन्दा पनि कमजोर हुदा सम्म समेत कोहि सकैको ध्यान गएको छैन। क्षमता भन्दा बढि भार बोकेर सिमेन्ट कारखानाका टिप्पर गुडेको कारण देखाउदै पन्छिने सरकारी निकाय र निर्माण ब्यबसायिले सडक मर्मतमा कहिल्यै ध्यान दिने गरेका छैनन्।  

सडक गतिलो नभएपछि रुन्टीगढी गाउँपालिका होलेरीका अध्यक्ष बालाराम बुढा दाङ हुदै रोल्पा सदरमुकाम आएका थिए। केन्द्र सरकारको जिम्मामा रहेको यो सडक सुधार नभएको भन्दै अध्यक्ष बुढाले पटक पटक गुनासो समेत गर्ने गर्दछन्। ‘यो बिषयमा धेरै बोलियो तर सुनुवाई भएको छैन। प्रसाशकका हिसाबले दाङ र रोल्पाका सिडियोहरुले पनि खासै चासो दिएका छैनन्।’

अध्यक्ष बुढा भन्छन् ‘संघिय सांसद बर्षमान पुन र हालका मुख्य मन्त्री कुलप्रशाद केसिले समेत यो सडक सुधारमा बेवास्ता गरेका कारण गति नलिएको हो।’ उनका अनुसार तत्काल सडक कार्यालयले निर्माण व्यवसायी परिचालन गरेर सडक सुधार गर्नु पर्दछ।

त्यसो त रोल्पाका करिब करिब सबै सडकहरु यतिबेला बन्द छन्। सडक अवरुद्व हुँदा गाउँगाउँमा प्रहरीको गस्ती समेत पातालिएको छ। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी सडक भत्कीएका कारण सुरक्षामा चुनौती थपिएको स्विकार गर्दै प्रहरीको गतिबिधिलाई पनि प्रत्यक्ष असर गरेको बताउँछन्।  

वर्षेनी करोडौं रकम खर्च हुने यहाँका सडक जोखिमपूर्ण भए पनि केन्द्र, प्रदेश र स्थानीय तिनै तहका सरकारहरु मौन जस्तै छन्। ‘हामिले हेर्ने ठाउँमा अलि अलि हेरी रहेका छौ। प्रदेश र केन्द्र मातहतमा रहेका सडक हाम्रो क्षेत्राधिकारमा पर्दैनन्।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी भन्छन् ‘हाम्रो मातहतका सडक बनाउने चलाउने काम भईरहेको छ। थप सुधारको प्रयासमा छौ।’ डोजर अप्रेटरको सहजतामा खनिएका जिल्लाका अधिकांस सडक अवरुद्व हुँदा यात्रु संगै बिरामीहरु थप मारमा पर्ने गरेका छन्।  

प्रकाशित: ९ भाद्र २०७८ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App