१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागू पदार्थ राखेको खुलासा

राैतहटमा प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागू पदार्थ राखेर खुलासा भएको छ । रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीले नै अवैध लागू पदार्थ राखेर पक्राउ गरी कारबाही अगाडि बढाएको सिसिटिभी फुटेजबाट देखिएको छ ।  

गत साउन ३२ गते रौतहट सदरमुकाम गौरस्थित होटल ग्रिन सिग्नलबााट खाजा खाएर निस्केका पत्रकार मोहम्मद मोजिबुल्लाह एवं निजको मोटरसाइकल चलाउने सहकर्मी राजपुर नगरपालिका ७ का शेख गुलाबलाई सादा पोसाकमा रहेका प्रहरीले १०५ पिस नाइट्रोभेट लागू औषधसहित पक्राउ गरेको थियो ।

लागू पदार्थसहित पक्राउ गरिएको भनिएका पत्रकारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी नदिई म्याद थप गरेर अनुसन्धान अगाडि बढाइरहेको अवस्थामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रतिबन्धित लागू पदार्थ राख्ने पनि प्रहरी नै रहेको सिसिटिभी फुटेजबाट देखिएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रतिबन्धित लागू पदार्थसहित पत्रकार नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेपछि छानबिन थालेको थियो । महासंघले आन्तरिक रुपमा छानबिन अगाडि बढाउँदा सिसिटिभी फुटेज प्राप्त गरेको र त्यसमा प्रहरीले नै पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रतिबन्धित लागू पदार्थ राखेको स्पष्ट देखिएको छ ।  

नेपाल पत्रकार महासंघ रौतहट शाखामा शनिवार आयोजित पत्रकार सम्मेलनमा शाखाका सचिव मदन ठाकुरले नेपाल पत्रकार महासंघ रौतहट शाखाले गरेको अनुसन्धानबाट प्राप्त सिसिटिभी फुटेज सार्वजनिक गरेका छन् । सिसिटिभी फुटेजमा प्रष्ट रुपमा अपराध अनुसन्धानमा सादा पोसाकमा रहेका दुई प्रहरी प्रष्ट रुपमा देखिएका छन् भने प्रहरीको अगाडि नै पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रतिबन्धित लागू औषध राखेको देखिएको छ ।  

सिसिटिभी सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सिसिटिभीको फुटेजमा स्पष्ट रुपमा देखिएको र मान्छे समेत चिनिएको बताएको छ । मान्छे चिनिएपछि घटनाको अनुसन्धान गहन रुपमा हुन थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अपराध जस्ले गरेको भए पनि अपराधी छुट्न नहुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नारायणप्रसाद चिमरियाले बताएका छन् । अझ गहिरो अनुसन्धान थालेको बताउँदै डिएसपि चिमरियाले अहिले नै केही भन्न नमिल्ने बताएका छन् । सिसिटिभी फुटेजबाट फसाउने काम भएको देखिएको हुँदा रौतहट प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको र चाडै दोषीलाई सार्वजनिक गर्ने बताएका छन् ।  

पत्रकारलाई फसाउन प्रहरीको भूमिका देखिएकोले जिल्लामा प्रहरीबारे अनेक किसिमको चर्चा हुन थालेको छ । प्रहरीप्रति विश्वास गर्नुपर्नेमा प्रहरीले नै फसाउने जस्तो गैरकानुनी काम गरेकोप्रति रौतहटका नागरिक क्षुब्ध बनेका छन् ।

प्रकाशित: ५ भाद्र २०७८ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App