coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन्। यही भदौ १२ गते बाढी पहिरोका छुम गाउँमा एक जनाको मृत्यु भएको थियो। 

२५ पशु चौपाय बगाएर लगेको थियो। दर्जन बढि काठेपुल बगाउनुका साथै अन्नबाली पुर्णरुपमा क्षति गरेको थियो। पिठो पिस्ने दर्जन बढि घट्ट पुरेको थियो। बाढीप्रभावित गाउँमा पुगेका उर्जामन्त्री श्रेष्ठले तत्काल राहतको लागि पहल थाल्ने बताए। उनले भने,बाढीपहिरो पीडितको समस्या प्रभावकारी ढंगले संवोधन गर्नका लागि गाउँमा पुगेका छौँ। जिल्लामै हुन सक्ने काम मन्त्रालय माताहतका कार्यालयबाट गर्न निर्देशन दिन्छु। जिल्लामा नहुने सहयोग प्रदेश सरकारले गर्नेछ। ’उनले तत्काल प्राकृतिक विपद्को घटनाको संवोधन गर्न विशेष पहल हुने बताए। यहाँको प्राकृतिक प्रकोप जोखिमको पहिचान गर्ने र रोकथामका लागि गर्नुपर्ने सबै काम गर्न मन्त्रालय तयार रहेको बताए।  

उनले मन्त्रालयमा, मन्त्रालय माताहतका कार्यालयमा र क्याविनेटमा समेत यहाँका नागरिकले बाढीपहिरोबाट भोग्नु परेको समस्या संवोधनका लागि छलफल चलाउने बताए। स्थानीय रणबहादुर महताराले गाउँमा बाढीले गरेको क्षेतिले आजित किसानको घरदैलोमा पुगेर उर्जा दिएकोमा मन्त्री प्रति खुसि व्यक्त गरे। उनले भने,‘अहिले सम्म गाउँमा बाढीपहिरोको कुनै पनि घटना भएको थिएन। पहिरो आउँछ भन्ने कल्पना समेत गरेका थिएनौँ। 

पुर्खा देखि नसुनेको र नदेखेको बाढीपहिरो आयो। हामी एकदम पीडित छौ। यहाँका बाढी प्रभावितले भोग्नु परेको समस्याको छिटोभन्दा छिटो संवोधन होस। ’बाढीपहिरोले १२ वटा घट्ट,२५ वटा पशुचौपाय,एक जना मान्छे र खेतियोग्य जमिन सबै बगाएर लगेको थियो। यो संगै घरीखोला भगवती मन्दिर आसपासको क्षेत्र क्षतिग्रस्त भएको छ। मन्दिर आसपासका २२ वटा धारा बगेका छन्। यो पहिरोले पुर्खाहरुका शिला र चिन्हहरु समेत बगाएर  लिइएको उनी बताउँछन्।  

स्याउ र ओखर नर्सरी,आलु,मकै,सिमी,चिनो,कागुनो र कोदो समेत बगाएर लगेको किसान बताउँछन्। गाउँभित्रका १ सय ७५ घर धुरीको झण्डै ६० हल जमिन बाढीपहिरोले बगाएको हो। उनले भने,‘पहिरोले गाउँको सुन्दरता गुम्यो। रोजीरोटी खोस्यो। हिड्ने पुलपुलेसा बगायो। अहिले बिजोग अवस्था छ। मन्त्री ज्यु,तत्काल प्रदेश सरकारको ध्यान जावस। ’

बाढीपहिरो पीडितले प्रहरी मुचुल्का सहित पातारासी गाउँपालिकामा पेस गरिसकेका छन्। प्रदेश र संघीय सरकार संग पहल गर्न आग्रह गरिएको स्थानीय बुढाले बताए। अहिले अन्न पिस्ने घट्ट बगाउँदा रोटी खानबाट बञ्चित छन्। पुल नहुदा हिडडुल गर्न सकस छ। अहिले सेतो चामलको भात र आलुको खान्की हुने गरेको स्थानीय बताउँछन्।  

७ वटा खहरे खोलाबाट आएको बाढी पहिरोले छुमखोलो कटान गरेर खेतियोग्य जमिन बगरमा परिणत गरेको छ। पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोरा गाउँपालिकामा ठुलै विपत्ती आइलागेको बताउँछन्। उनले यहाँका बाढी पीडितको समस्या समाधानका लागि कहाँबाट के व्यवस्थापन गर्न सकिन्छ  सबै क्षेत्रमा पहल भइराखेको बताए। सामान्य रकमले यहाँको क्षति पुर्ति होला जस्तो देखिदैन। तर स्थानीय सरकार तत्काल राहतका कार्यक्रमका लागि पहल थालिरहेको अध्यक्ष बोहोराले बताए।  

उनका अनुसार छुमखोला,चौर खोला र लुम खोलामा एक्कासी बाढीपहिरो आउँदा ठुलो क्षति पुगेको छ। ‘बाढीपहिरोले झण्डै ८० मिटर सडक लगेको छ। तत्काल गर्नुपर्ने काम गर्न भनिसकेका छौँ। सदरमुकाम खलंगामा रहेको व्यापारी व्यवसायी संग सल्लाह गरेर उधारो सामाग्री दिनको लागि भनिसकेका छौँ। त्यसको व्यवस्थापन गाउँपालिकाले गर्ने तयारी भइरहेको छ,’अध्यक्ष बोहारोले भने।  

उर्जामन्त्री संगै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई,नेपाल प्रहरीका डिएसपी दानबहादुर थापा,सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठ पनि बाढीग्रस्त क्षेत्रमा पुगेका थिए।  

उर्जामन्त्री श्रेष्ठले भोलि नै विपद् व्यवस्थापन समितिको बैठक बसाल्न भनिसकेको बताए। उनले विपद व्यवस्थापन समितिमा पनि यहाँका बाढी पहिरो र पीडितको समस्या संवोधनका लागि छलफल हुने बताए। मन्त्री श्रेष्ठले जुम्ला तिला, तातोपानी ,सिँजा र कनकासुन्दरी गाउँपालिकामा बाढी पहिरोले पुर्याएको क्षेतिको बारेमा अवलोकन तथा बाढीप्रभावित स्थानीयसंग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रीका स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए।

प्रकाशित: ३२ श्रावण २०७८ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App