८ वैशाख २०८१ शनिबार
समाज

धरापमा सत्तीघाटको पक्की पुल

सत्तीघाटको क्षतिग्रस्त पक्की पुल । तस्विर: योगेश रावल

हुलाकी राजमार्ग अन्तर्गत कर्णाली नदीको सत्तीघाटमा रहेको पक्की पुल धरापमा छ। पुलको पूर्वतर्फको दोस्रो पिल्लर भासिएको छ। पिल्लर भासिएपछि पुलको पहिलो ‘स्पान’ तेर्सो भएको छ।  

हुलाकी सडक आयोजना नेपालगञ्जका योजना प्रमुख गागल भण्डारीले पुलको ‘स्पान’ ८ सेन्टिमिटर तेर्सो भएको बताए। उनले पिल्लर र बिमको बीचमा राखिएको ‘प्याड’ सरेको हुनसक्ने बताए।  

असार ११ गते नदीमा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो। बाढीले पुलको पूर्वतर्फको तटबन्ध भत्काएको छ। २०७२ सालमा निर्माण सम्पन्न भएको पुलको पूर्वतर्फको भागमा नदीले हरेक वर्ष क्षति पुर्‍याउँदै आएको छ। यसअघि निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले पुल मर्मतको काम गर्दै आएको थियो।  

टीकापुर नगरपालिका–८ वनगाउँका ठाकुरप्रसाद चौधरीले पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा वर्षेनी समस्या आउने गरेको बताए। उनले मर्मतको काम भरपर्दो नभएका कारण वर्षेनी समस्या दोहोरिरहेको आरोप लगाए। ‘राम्ररी मर्मत नै गर्दैनन्’ उनले भने, ‘जब समस्या आउँछ तब झारा टार्ने काम मात्रै भैरहेको छ।’

पुलको अवस्था जटिल बनेपछि हुलाकी राजमार्ग निर्देशनालयको टोलीले स्थलगत अध्ययन गरेको छ। आयोजना निर्देशक रोहितकुमार बिसुराल नेतृत्वको टोलीले पुलको अवस्थाका बारेमा जानकारी लिएको छ।  

आयोजना निर्देशक बिसुरालले ६ दशमलव ५ मिटरको पिल्लर थोरै भासिएको बताए। उनले पिल्लर भासिएका कारण पुल तेर्सो भएको बताए। ‘पिल्लरमा कति क्षति भएको छ भन्ने कुरा पानीको बहावका कारण हेर्न सकिएन’, उनले भने, ‘पानीको बहाव घटेपछि मात्रै विस्तृत रुपमा हेर्न सकिन्छ।’

उनले नदीमा पानीको बहाव बढ्यो भने अवस्था गम्भिर हुनसक्ने बताए। उनका अनुसार नदीको पूरै बहाव पुलको पूर्वतर्फको भागमा ठोक्किएको छ। ‘अहिले नै पुलमा त्यति धेरै समस्या छैन’, उनले भने, ‘बाढी बढ्यो भने जेपनि हुनसक्छ।’

पुलमा जोखिम बढेपछि आवागमनमा कडाई गरिएको छ। हुलाकी सडक आयोजना नेपालगञ्जका योजना प्रमुख भण्डारीले भारी क्षमताका सवारी साधनलाई आलोपालो वारपार गर्ने व्यवस्था गरिएको जानकारी दिए। ‘साना सवारी साधनले त खासै फरक पर्दैन’, उनले भने,‘ठूला सवारी साधनलाई एक पटक एउटा मात्रै वारपार गर्न दिएका छौं।’

पुलको दुवैतर्फ सुरक्षाकर्मीको टोली खटाईएको छ। यो पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकालाई जोडेको छ। यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको छ। विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका छन् भने निजी सवारीका साधन समेत त्यत्तिकै सञ्चालन भैरहेका छन्।  

नदीमा पुल निर्माण गर्दा बनाइएको डाइभर्सनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन्। नदीको मध्य भागमा बालुवा थुप्रिएर ढिस्को बनेको छ। जसले नदीको बहावलाई पूर्वतर्फ बढी धकेलेको छ। पानीको बहाव बढेपछि पुलसँगैको तटबन्ध भत्किन थालेको स्थानीय बताउँछन्।  

स्थानीयले पुलको संरक्षणका लागि नदीको बीचमा बनेका साना टापुहरु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन्। कर्णाली चिसापानी पुल भन्दा तल कर्णाली नदीको बीचमा सयौंको संख्यामा टापुहरु रहेका छन्।

प्रकाशित: ३२ श्रावण २०७८ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App