७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले बस्ती नै जाेखिममा : डेढ सय परिवारले गाउँ छाडे

दोलखाको कालिञ्चोक गाउँपालिका ५ लापिलाङ स्थित रानिवनबाट खसेको भिषण पहिरो । तस्बिर: रमेश/नागरिक

जिल्लाको उत्तरी गाउँ लापिलाङमा बस्ती माथि र तल दुवै तिरबाट आएको पहिरोले घर तान्न थालेपछि १ सय ५० परिवारले गाउँ छाडेका छन्।

कालिञ्चोक गाउँपालिका ५ लापिलाङ गाउँँमा रानिवन बन्देथलीबाट झरेको भिषण पहिरोले सुनखानी–साङबा सडकखण्ड आसपासको रानिवन, घट्टे खोला, कातिके, मिजार टोल र नेवार बस्तीका १ सय ५० घर उच्च जोखिममा पारेको हो।

बस्तीको तलबाट भिषण पहिरोले तानिरहेको स्थानीय थिरबहादुर थामीले सुनाए। ‘४ हजार बढी रोपनी खेत र बारी तान्दा तान्दै भिषण पहिरो घर पछाडीसम्म आईसकेको छ’, उनले भने, ‘घट्टे खोलाको माथिबाट समेत जमिन धाँजा फाट्न थालेको छ।’

बस्तीको माथिल्लो र तल्लो दुवै भागबाट पहिरोले तान्न थालेपछि गाउँलेले बस्ती छाडेका छन्। बस्ती छाडेर उनीहरु छिमेकीको शरण, सामुदायिक भवन र विद्यालयमा पुगेका छन्। ‘दिउँसो घरमा आउँछौं, राती पल्लो बस्तीका छिमेकी र सामुदायिक भवनमा गएर सुत्छौं’, स्थानीय लालकाजी श्रेष्ठले भने।  

बस्ती तलबाट निरन्तर खसिरहेको पहिरोले घट्टे खोलोको तल्लो क्षेत्रका करिब ४ हजार रोपनी खेत र बारीको नामोनिशाना मेटाईदिएको छ। थिरबहादुरको गत साल मात्र ११ लाख खर्चेर किनेको ८ पाथी धानको बिउँ जाने खेत पहिरोले नामोनिशाना मेटाईदिएको छ। ‘खेत बारी सकियो, पहिरोले घर तान्दै छ’, उनले दुखेसो पोखे, ‘घर कुन दिन तान्ने हो ठेगान छैन, अब परिवार कसरी पाल्नु?’  

यो पहिरो गाउँमा नयाँ हैन। अघिल्लो साल समेत यही पहिरोले दुःख दिएको थियो। गत वर्ष केही घर पहिरोले पुरेको थियो भने २४ घर विस्थापित भएका थिए। त्यसबेला समेत राज्यले बस्ती स्थानान्तरण गर्ने र पीडितलाई सहयोग गर्ने आश्वासन दिएको थियो। तर उक्त आश्वासन पूरा भएन। बर्षात सकिएपछि गाउँले आफ्नै घर फर्किए। स्थानीय धनबहादुर थामीका अनुसार त्यही पहिरो यस पटक भिषण बनिदियो। माथिल्लो र तल्लो क्षेत्र दुवैबाट निरन्तर बस्ती तानिरहेको छ।  

यस पटक समेत दुई साता अघि वागमती प्रदेश सरकारका दुई मन्त्रीले पहिरो क्षेत्र निरीक्षण गरी पीडितहरुलाई प्रति परिवार ४ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएर फर्किएका छन्। प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत र आन्तरिक मामला मन्त्री केशव पाण्डेले ४ लाख रुपैयाँका दरले सहयोग पठाउने आश्वासन दिएका छन्।  

कांग्रेसका गाउँपालिका सभापति अर्जुन शिवाकोटीले तत्काल कम्तीमा १ सय परिवारलाई अस्थायी बसोबाससहित स्थानान्तरणको खाँचो रहेको सुनाए। ‘यहाँ पीडितको अवस्था असाध्यै विजोग भईसकेको छ’, उनले भने, ‘अघिल्लो वर्षदेखि पटक पटक आश्वासन मात्र भएकाले पीडितहरुको पुनर्बासका निम्ती सरकारसंग आग्रह गरिरहेका छौं।’

प्रकाशित: ३१ श्रावण २०७८ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App