coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रियस्तरका खेलाडी हत्याका आरोपी दश वर्षपछि पक्राउ

अन्तर्राष्ट्रियस्तरका कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या भएको दश वर्षपछि हत्याको आरोपीलाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। दश वर्ष पहिले कुस्ती खेलाडी बैरागीको हत्या भएको जिल्ला सदरमुकाम गौरबाटै रौतहट प्रहरीले हत्या आरोपी तत्कालीन प्रेमपुर गोनाही गाविस वडा नम्बर ३ हाल गोनाही देवाही नगरपालिका ७ का जगदेव हजराका ५० वर्षीय छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले हजरालाई सदरमुकाम गौरमा हिँडिरहेको समयमा नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्। मृतक खेलाडी बैरागीकी पत्नी रामकुमारी देवीको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी सोनफी हजरा समेत भएको कतव्य ज्यान मुद्दामा वारदातपश्चात फरार रहेका हजरालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको एसपि शाहको भनाइ रहेको छ।  

खेलाडी वैरागीले सन् १९९९ मा नेपालमा भएको सातौँ साफ खेलकुदमा कुस्तीमा नेपाललाई कास्य पदक दिलाएका थिए। कुस्तीमा देशको मान बढाएको भन्दै वैरागीलाई विभिन्न संघसंस्थाले सम्मानित पनि गरेको थियो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि अन्य खेलाडीसँगै वैरागीलाई काठमाडौँमा सम्मानित गरेका थिए। 

यसै क्रममा वैरागीलाई २०५६ पुस ५ मा गोरखा दक्षिण बाहुबाट पनि विभूषित गरिएको थियो।प्रायः जिल्ला सदरमुकाममा बस्दै आएका प्रतिष्ठित खेलाडी बैरागीलाई २०६८ असार २३ मा जिल्ला अदालत गौर नजिकै सडकमा गोली हानी हत्या गरिएको थियो।

मृतक खेलाडीकी पत्नीले घटना भएको समयमा नै दिएको जारीको आधारमा प्रहरीले अनुन्धान गरी २०७५ मा मिसिल तयार पारी जिल्ला अदालत गौरमा पेश गरेको थियो। सोही मिसिलमा नाम रहेका र मृतककी पत्नीसमेतले किटानी जाहेरी दिएको आधारमा आरोपी हजरालाई पक्राउ गरी अदालतमा पेश गरिएको एसपि शाहको भनाइ छ।

प्रकाशित: २८ श्रावण २०७८ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App