१२ मंसिर २०७८ आइतबार
समाज

लिदी पहिरोपीडित वर्षपछि अस्थायी आश्रयस्थलमा

वर्षअघिको लिदी पहिरोले ६३ वर्षीय साङ्बहादुर दोङलाई एक्लो बनायो। पहिरोले उनकी आमा र श्रीमतीको ज्यान लियो। घर, खेतबारीसमेत पहिरोले बगायो उनको। न परिवार रह्यो, न गरिखाने खेतबारी नै। बुढेसकालमा एक्लै बाँच्नु पर्दा अगाडिको जीवन देखेर साङ्बहादुर बिक्षिप्त बने।  

पहिरोले सर्वस्व लुटेको उनी एक्लै थिएनन्। गाउँमा अरु धेरै उनीजस्तै पीडित थिए। त्यसैले सम्हालिन करै लाग्यो उनलाई। गाउँपालिकाले उनीहरुलाई सेलाङको बाँसखर्कमा अस्थायी शिविर बनाएर राख्ने निर्णय गर्यो। बाँच्ने धुनमा छिमेकीसँगै साङ्बहादुर पनि एकदिन पैदल हिँडेर लेकाली क्षेत्रको बाँसखर्क आइपुगे। पहिरो पीडित त्रिपाल र टेन्टमूनि बस्न थाले। बर्खे भलबाढी सोहोर्दै र हिउँदको हावाहुरीमा टेन्टको डण्डी अठ्याउँदै कष्टकर एक वर्ष गुजारेपछि बल्ल साङ्बहादुरले जस्ताको टहरो पाए।  

ढुंगा र ईँटाको पक्की घर नभए पनि जस्ता र ट्रसले बनेको आश्रयस्थल पाउँदा उनी फुरुङ्ग छन्। पहिरोमा सबै गुमाएर रित्तिएका उनी सातादेखि जस्ताको टहरोमा हाँस्न सिक्दै छन्। ‘बल्ल आनन्दले निदाउन पाउँने दिन आयो,’ मुहारमा आत्मबल छचल्काउँदै साङ्बहादुरले भने। त्रिपालभित्र बर्खे भलबाढी छिरेको, हिउँदको ठिहीमा लुगलुग काँपेको र हावाहुण्डरीले अस्थायी टहरै उडाउन खोज्दाको त्रास सुनाए उनले।  हावाहुरी र घामपानी छेक्ने जस्ताको टहरोले पीडा कम गराउने उनले बताए।

२०७७ साउन ३० गते ३९ स्थानीयको ज्यान लिएको जुगल गाउँपालिका–१ का लिदी पहिरो पीडितले एक वर्षपछि अस्थायी आश्रयस्थल पाएका छन्। पक्की संरचना बराबरकै जस्ता र ट्रसको टहरो पाउँदा उनीहरु दंग छन्। पहिरोले परिवारका सदस्यसहित घर बगाएका ३० परिवारलाई गाउँपालिकाले आफ्नै स्रोत साधनमा अस्थायी आश्रयस्थल बनाएर राखेको हो।  

स्थायी संरचना नबनुञ्जेल पीडित परिवारलाई अस्थायी आश्रयस्थलमा राखिने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। सम्भावित विपद्को तयारीसमेत अघि बढाउँदै अस्थायी आश्रयस्थल बनाइएको उनले जनाए। ‘पीडितलाई स्थायी संरचना बनाएर सारेपछि खाली हुने यी टहरा विपद्पछिको प्रतिकार्यमा प्रयोगमा ल्याइने छ,’ उनले भने।  

लामो प्रक्रियाको कारण बिपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय बिपद् तथा जोखिम न्यूनिकरण व्यवस्थापन प्राधिकरणले निजी आवास बनाउने काममा बिलम्ब गर्ने देखेपछि गाउँपालिकाकै अग्रसरतामा आश्रयस्थल बनाइएको हो। गाउँपालिकाका अनुसार पीडितका लागि ३० टहरा, एक सामुदायिक भवन, दुई स्वास्थ्य इकाइ, दुई स्नानगृह, सात शौचालय र एक भोजनगृह बनाइएको छ।  

जिल्ला विपद् व्यवस्थापन समितिले स्वीकृति दिएपछि एक महिनामै आश्रयस्थल बनाइएको थियो। चौतारास्थित गोरख बक्स गण र कालीसिद्धी गण बर्दिवासका ५० भन्दाबढी सैनिक जनशक्ति परिचालन भएर आश्रयस्थल निर्माण गरिएको हो। आश्रयस्थल निर्माणमा सवा ७८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए।  

उनका अनुसार निर्माणमा गाउँपालिकाले ५८ लाख रुपैयाँ खर्च गरेको छ भने जनस्तरबाट साढे २० लाख रुपैयाँ बराबरको सामाग्री जुटेको थियो। क्रिकेटर सन्दीप लामिछानेले ५ लाख रुपैयाँ बराबरको फलाम र जस्तापाता सहयोग उपलब्ध गराएका थिए। केही दिनअघि मात्र गाउँपालिका अध्यक्ष श्रेष्ठ र नं २६ बाहिनीका बाहिनीपति सहायकरथी विष्णु राउतले संयूक्त रुपमा आश्रयस्थल पीडितलाई हस्तान्तरण गरेका थिए।  

उक्त पहिरोले २ सय आठ घरपरिवारको लिदी गाउँ नै जोखिममा परेको छ। उनीहरु सबै गाउँबाट बिस्थापित भएर बाँसखर्कमै त्रिपाल र टेन्टको शिविरमा बस्दै आएका छन्। जस्ताको अस्थायी आश्रयस्थल पाएका ३० बाहेक अरु सबै पीडित अस्थायी शिविरमै बस्दै आएका छन्। उनीहरुले छिटो स्थायी पुनर्निर्माण गरेर आफूहरुलाई सार्न आग्रह गर्दै आएका छन् । बस्दै आएको बाँसखर्क सामुदायिक वन क्षेत्रभित्र रहेकाले आफूहरु फेरि यहाँबाट पनि सर्नुपर्ने चिन्तामा पीडित छन्।  

गाउँपालिकाले भने पीडितलाई एकीकृत नमुना बस्ती बसालेर राख्न पहल गरिरहेको अध्यक्ष श्रेष्ठले बताए। ‘विपद् व्यवस्थापन प्राधिकरणसँग यस विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने। उनका अनुसार गाउँपालिकाले बुधबारदेखि गत वर्षको मनसुनपछिको विपद्का कारण घरसंरचना गुमाएका लिदीसहित बाढीपहिरो पीडितको पहिचान गरी लाभग्राही सम्झौता थालेको छ। पहिलो दिन ३० परिवारसँग सम्झौता भएको छ। लिदीसहित गाउँपालिकाभित्र २ सय ५७ पीडितपरिवार लाभग्राही पहिचान गरिएको उनले जनाए। उनीहरुले भूकम्पपीडित सरह आवास पुनर्निर्माण गर्न ३ लाख रुपैयाँ अनुदान पाउँछन्। 

प्रकाशित: २७ श्रावण २०७८ २०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App