coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राति ८ बजेपछि गाडी चलाउन रोक

कोरोना संक्रमणको दर बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही कडा बनाउँदै भदौ ५ गतेसम्म लम्ब्याइएको छ। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो।

नयाँ निर्णयअनुसार बिहीबारदेखि अत्यावश्यक सेवाबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन बेलुका ८ बजेपछि सञ्चालन हुन पाउने छैनन्।  ‘कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञाको स्वरूपमा केही परिवर्तन गरेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अत्यावश्यक सेवाबाहेक निजी तथा सार्वजनिक सवारीसाधन बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ।’ निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न गराउन पाइनेछैन।  

चोक/खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोज भतेरलगायत गर्न गराउन रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन पाउने छैनन्।

औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ। त्यसबाहेकका पसल तथा व्यवसायहरू बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको पाइएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिनेछ। अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेस्टुरेन्ट एवं फास्टफुट तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्य मापदण्ड पूर्णपालना गर्न पनि अनुरोध गरिएको छ। त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित: २७ श्रावण २०७८ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App