७ कार्तिक २०७८ आइतबार
समाज

बाँकेमा काेराेनाकाे तेस्रो लहरबाट तीन लाख बढी मानिस प्राभवित हुने आंकलन

बाँकेको नेपालगन्जस्थित खुला रहेको नेपाल–भारत सीमा ।

कोभिड–१९ (कोरोना भाइरस) को दोस्रो लहरमा धेरै प्रभावित बनेको बाँकेमा तेस्रो लहरले झनै ठूलो प्रभाव पार्ने आंकलन गरिएको छ। तेस्रो लहरको कोरोना भाइरस न्यूनीकरणका लागि पूर्व सावधानी नअपनाउनु र सर्वसाधारणले स्वास्थ्य मापदण्डमा लापरबाही गर्दा तेस्रो चरणमा थप जटिल हुने आंकलन गरिएको हो।

तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाँकेमा तीन लाख ३३ हजार तीन सय ८७ जना कोरोना भाइरसबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ। उक्त समितिले सार्वजनिक गरेको ४३ पृष्ठ लामो प्रतिवेदनमा १८ वर्षमुनिका दुई लाख ६४ हजार सात सय ६३, एक वर्ष मुनिका १२ हजार तीन सय ७५, सम्भावित गर्भवती १५ हजार ३३ र ६० वर्षमाथिका ५३ हजार पाँच सय ९१ जना प्रभावित हुनसक्ने आंकलन गरिएको छ। उक्त प्रतिवेदनमा जिल्लामा कोभिडको तेस्रो लहरविरुद्ध गरिएको तयारी, कमी कमजोरी र सुझावसमेत प्रस्तुत गरिएको छ।

डा. विनोद खेतान संयोजक रहेको उक्त समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाइएको प्रतिवेदनमा कोभिड रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका सवालमा सुझाव दिएको छ। प्रतिवेदनले तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आंकलन गर्दै त्यहीअनुसारको तयारी गर्न सुझाव दिएको छ। समितिका संयोजक डा. खेतानले भने, ‘अहिले १८ वर्षमाथिका कतिपयले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। कतिले लगाउँदै छन्। कतिपय एकपटक संक्रमण भएर निको भइसकेका छन्। त्यसकारण अब जोखिममा रहेको रुप बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक हुन्।’

डा. खेतानले तेस्रो लहर आउने र बालबालिका संक्रमित हुने भन्ने कुराले आत्तिनुभन्दा पूर्व सावधानी अपनाउनु नै उत्तम विकल्प भएको बताएका छन्। ‘तेस्रो लहर आफैँ आउने होइन। हामीले ल्याएपछि आउने हो। त्यसकारण हामी तेस्रो लहर ल्याउने कुनै पनि गल्ती नगरौँ। बालबालिकामा संक्रमण भयो भने पनि अब ठूला मानिसहरुबाट नै हुने हो,’ डा. खेतानले भने। अहिले तेस्रो लहर आउन नदिनेतर्फ पर्याप्त सावधानी नदेखिएको खेतानले बताए।

समितिले तयार गरेको प्रतिवेदनमा हालसम्म तेस्रो लहरको रोकथामका लागि सीमा नाकामा एन्टिजेन परीक्षण गर्नेबाहेक सरकारी निकायबाट गरिएका कामहरु प्रभावकारी नभएको उल्लेख छ। नेपाली उपभोक्ताहरु दैनिक भारतीय बजार रुपैडिहा जाने प्रवृत्तिले पनि संक्रमण बढाउन भूमिका खेल्ने प्रतिवेदनमा उल्लेख छ। सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गरी सेवा प्रदान गरिएको, पछिल्लो समय होल्डिङ सेन्टरको ठाउँ कम भएकोले एक हजारजना अटाउन सक्ने हलहरु निर्माणका लागि नेपालगन्ज–१४, मा जग्गाको पहिचान गरिएको प्रतिवेदनमा जनाइएको छ।

पूर्ण लकडाउनको सट्टा 'ब्यालेन्स' लकडाउनको सुझाव

प्रतिवेदनमा हालसम्म हुँदै आएको निश्चित समयमा गरिने लकडाउनको साटो ब्यालेन्स लकडाउन गर्न सुझाव दिइएको छ। निश्चित समयमा मात्रै लकडाउन गर्दा एकैपटक धेरै मानिसहरु बाहिर निस्कँदा भिडभाड हुने भएकोले समय खुकुलो पारेर पसलहरुमा भिड हुन नदिनेतिर ध्यान दिनुपर्ने सुझाव दिइएको छ। तेस्रो लहरमा बालबालिका संक्रमित हुने सम्भावना बढी भएको भनेर सर्वसाधारणमा पर्ने मानसिक तनावलाई सम्बोधन गर्ने र जनचेतना जगाउनेतिर पनि ध्यान दिनुपर्ने प्रतिवेदनले भनेको छ।

यसैगरि दशजगा को समानान्तार हुने गरी नेपाली भूमिमा बाटो वा नाली निर्माण गर्ने वा तारवार गर्ने सुझाव पनि समितिको छ। ठाउँठाउँमा केही प्रवेश बिन्दु राख्ने र पूरै सिमानाभरि बिजुली बत्तिको व्यवस्था गर्ने एवम् सकेसम्म सिसिटिभीको व्यवस्था गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ।

प्रकाशित: २६ श्रावण २०७८ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App