८ वैशाख २०८१ शनिबार
समाज

एसिडपीडित आरतीको दर्दः एसिड छ्याप्नेलाई सजाय, बेच्नेलाई सफाइ

गत फागुन दोस्रो साता जनकपुर साहित्य महोत्सवको चौथो सत्रको सन्दर्भ थियो– ‘सौन्दर्यभित्र, सौन्दर्यबाहिर’। यस सत्रमा आफ्नो विचार राख्दै एसिडपीडित आरती साहले भनेकी थिइन्, ‘एसिड छ्याप्नेलाई मात्र होइन, बेच्नेलाई पनि सजाय हुनुपर्छ।’ सोमबार जिल्ला अदालत धनुषाले आरती साहको मुद्दामा आदेश गर्दै उनका पति सञ्जीव साहलाई कसुर गरेको ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने भनेको छ। एसिड विक्रेता नागेन्द्र साहको हकमा भने अदालतले सफाइ दिएको छ।

जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेका आरतीका पति सञ्जीवलाई कसुर ठहर गरेको हो। सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रै अर्को फैसला हुने उनले बताए। यस मुद्दामा सात पटक पेसी चढेको थियो। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ अनुसार सजाय तोकिएको यो पहिलो घटना हो । सरकारले २०७७ असोज १२ गते यो अध्यादेश ल्याएको थियो। आरतीमाथि कात्तिक २९ गते एसिड प्रहार भएको थियो।

एसिड प्रहारसम्बन्धी मुद्दालाई सरकारवादी फौजदारी मुद्दाका रूपमा हेरिए पनि घटना भने रोकिएका छैनन्। नेपालमा एसिड प्रहार गरी अनुहार कुरूप पारेको खण्डमा अपराधको प्रकृति हेरी पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रूपैयाँसम्मको जरिमानाको व्यवस्था छ। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ प्रमाणीकरण भई बनेको कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेल सजाय र १० लाख जरिमाना हुने तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्नेलगायत प्रावधान राखिएको छ। साथै सरकारले एसिडको खुला विक्री वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निःशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने व्यावस्था कानुनले गरेको छ।

आरतीको दर्द

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगर माइती भएकी आरतीको पाँच वर्षअघि रूपैठाका सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो। उनीहरूकी एक चार वर्षीया छोरी रिया छिन्। विवाहको चार वर्षपछि उनीहरूबीच विवाद चर्कियो र दुवै अलग बस्न थाले। आरती छोरी रियाको साथमा जनकपुरधाम–७ पेठियामा डेरा गरी बस्न थालिन् । सञ्जीव भने आफ्नै घरमा बस्दै आएका थिए। विवाहको केही समयपछि नै सञ्जीवले आरतीलाई प्रताडित गर्न थालेका थिए। दर्द सहन नसकेर घर छाडी डेरामा बस्न थालेको उनी बताउँछिन्। आरती माइतीनजिकै डेरा लिएर बस्थिन् । फुटपाथमा तरकारी बेचेर छोरी र आफ्नो जीविका चलाउँथिन्। डेरा बस्न थालेपछि पनि सञ्जीवले डेरामै पुगेर आरतीलाई यातना दिन्थे। गत कात्तिक २९ गते डेरामै बसिरहेको बेला सञ्जीवले आरतीमाथि एसिड छ्यापे । आँखादेखि जिउको दाहिनेतिर सबै जल्यो। जनकपुरमा प्राथमिक उपचार गरी उनलाई कीर्तिपुर अस्पताल पठाइयो। आधा जलेकी आरती ४५ दिनसम्म अस्पतालको बेडमा बेहोसै पल्टिरहिन्। बिस्तारै उनको जलेको शरीरमा सुधार आउन थाल्यो। तर दाहिने आँखाको ज्योति गुम्यो । घर फर्किएकी उनको उपचार अझै जारी छ। उनले जलेको शरीरको कीर्तिपुर अस्पतालमा र आँखाको तिलगंगा अस्पतालमा उपचार गराउँदै छिन्।  

एसिडको दर्दसँगै ऋणको बोझ

आरतीको माइती पक्षको आर्थिक अवस्था ज्यादै कमजोर छ। जनकपुरको फुटपाथमा तरकारी बेचेर गुजारा चलाउँछन् आरतीका आमाबुवा । बुवा सुबोध र आमा सुनीता देवीले जनकपुरको फुटपाथमा तरकारी बेचेर आरतीको विवाह गरिदिएका थिए। एसिड आक्रमणबाट घाइते आरतीको उपचारका लागि बुवा सुबोध र आमा सुनीता लामो समय काठमाडौं बसे। उपचारमा लागेको खर्च चुक्ता गर्न उनीमाथि ऋण चढ्यो। ऋण चुकाउने एक मात्र सहारा तरकारी पसल पनि बन्द गरेर छोरीको उपचारमा दौडिनुपर्दा सुबोधको व्यापार अस्तव्यस्त भयो। करिब तीन लाख जति ऋणको बोझले च्यापिएको बताउँछन् सुबोध। ‘कीर्तिपुर अस्पताल र तिलगंगामा उपचार गराउँदा सरकारले नै खर्च बेहोरिदिए पनि औषधि, काठमाडौंको बसाइ र खानपानको खर्च त आफैंले बेहोर्नुपर्छ,’ उनले भने । आरती भन्छिन्, ‘एसिड छ्याप्नेलाई सजाय दिने आदेशले सन्तोष भएको छ तर बेच्नेले सफाइ पाउँदा उत्तिकै दुखी छु।’

प्रकाशित: २६ श्रावण २०७८ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App