coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती नदी वारपार गर्न पक्कि पुलमा भर्‍याङको सहारा

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बागमती नदीमा निर्माणधीन पुलबाट वारपार गर्न भर्‍याङ चढ्दै स्थानीय ।

बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्‍याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भर्‍याङ लगाउनुपर्ने बाध्यता भएको हो।  

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बागमती नदीमा करिब एक दशक अघि नै निर्माण सुरु भएको पुल हालसम्म निर्माण सम्पन्न नहुँदा पुल तर्न स्थानीयले यस्तो उपाय रोजेका हुन्। निर्माणधीन पुल वारपार गर्न स्थानीयलाई भर्‍याङको सहारा लिनुपर्ने बाध्यता भएको स्थानीयको भनाई छ। 

'नदी तर्ने अर्को कुनै विकल्प छैन, त्यो नै एउटा उपाय हो', स्थानीय मनोजकुमार मानन्धरले भने, 'हामीले बाध्यताले भर्‍याङको सहारा लिएका हौ।' उनका अनुसार पुलको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। 'बिगतका वर्षमा बर्षातको मौसममा ज्यानै जाने गरी बागमती नदीमा हेलिएर वारपार गर्नुपर्ने बाध्यता थियो, अहिले त्यो भन्दा केही सहज त भयो तर धेरै जोखिम छ,' उनले भने। पुलको दुबैतर्फको काम सम्पन्न नभएकाले पुल वारपार गर्न भर्‍याङको सहारा दुबैतर्फ लिनुपर्ने बाध्यता भएको उनको गुनासो छ। 

'निर्माण कम्पनीको ढिलासुस्तीले यस्तो समस्या आयो', उनले भने, 'हामी पुरुषलाई त भर्‍याङ चढ्न निकै मुस्किल पर्छ, महिलाहरुलाई झन् धेरै गाह्रो छ।' मानन्धरका अनुसार सामान्य तारले बानेर पुल अड्याइएकाले जोखिम धेरै छ। 'निर्माण कम्पनीले त्यहि भर्‍याङलाई अलि व्यवस्थित गरेर राखिदिने हो भने आवातजावत गर्न सहज हुन्थ्यो, तर एउटा तारमा अडिएको भर्‍याङ चढ्दा ज्यानकै बाजी राख्नुपर्छ,' उनले भने।  

एक दशकभन्दा बढी समयदेखि अलपत्र हुँदा पुल बन्दैन कि भन्ने स्थानीयलाई चिन्ता समेत भएको उनीहरू बताउँछन्। तर अब पुल बन्नेमा ढुक्क भएको र यो एक बर्खा जोखिम मोलेपनि अर्को वर्षदेखि पक्कि पुलमा वारपार गर्न पाउनेमा स्थानीय खुसी छन्। पुल निर्माण सुरु भएको १० वर्षपछि बल्ल भर्‍याङको सहारामा वारपार गर्नेसम्म बनेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामा बताउँछन्। 

बाग्मती नदीमा आएको बाढीमा हेलिएर वारपार गर्दै आएका स्थानीयहरु यतिखेर भर्‍याङबाट पुलमाथि गइ पैदल तर्ने गर्दछन्। मदन भण्डारी राजमार्ग पश्चिम खण्ड आयोजनाका इन्जिनियर निरञ्जन थापाका अनुसार बर्खाको समय भएकाले पुलको दायाँबायाँको काम अगाडि बढाउन नसक्दा स्थानीयले भर्‍याङ राखेर ओहोरदोहोर गरेको बताए। 

'पुलको अन्य धेरै काम सम्पन्न भइसकेको छ, दुबैतर्फ तटबन्ध गरेर सडकसँग जोड्ने बाकी छ,' उनले भने, 'यो बर्खाको समय भएकाले काम गर्न सकिएको छैन। उनले भर्‍याङ पुल आयोजनाले नभएर स्थानीयले जबरजस्ती राखेको बताए। 'हामीले हटाउनुस् भन्न पनि सक्दैनौ, किनभने बागमती तर्ने अर्को विकल्प छैन, जोखिम मोलेर भर्‍याङ राखेर वारपार गर्नुस भनेका पनि होइनौ', इन्जिनियर थापाले भने, 'बर्खायाम भएकाले निर्माणको काम कहिले सकिन्छ भन्न सक्ने अवस्था छैन तर दशैसम्म सक्ने तयारी गरेका छौ।'

२०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का उक्त पुलको ठेक्का लिएको थियो। भ्याट बाहेक अनुमानित लागत ३८ करोड रहेको पुल २१ करोडमा ठेक्का सम्झौता भएको र पुलको लम्बाई चारसय तीन मीटर लामो रहेको छ राजमार्ग आयोजनाको पश्चिम खण्डले जनाएको छ।  

तोकिएको समय अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बन्न नसकेको आयोजनाले जनाएको छ। पश्चिम खण्डको ११५ किमीलम्बाई मध्ये हालसम्म ९६ किमी सडक निर्माण सम्पन्न भएको र ४० वटा पुलमध्ये ३४ वटा निर्माण सम्पन्न भएको आयोजनाका ईन्जिनियर तथा सूचना अधिकारी थापाले जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०७८ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App