coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार र घरेलु हिंसाका घटना बढे

देशभर बलात्कार र घरेलु हिंसाका घटना बढेको पाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकले बलात्कार र घरेलु हिंसाका घटना बढेको देखाएको हो। गत साता सार्वजनिक गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ बलात्कारविरुद्ध २ हजार ५ सय ३४ वटा उजुरी परेका थिए। त्यसअघि आर्थिक वर्ष २०७६/७७ मा २ हजार १ सय ४४ वटा उजुरी परेकोमा यस वर्ष ३ सय ९० बढी उजुरी परेको हो।

आर्थिक वर्ष २०७५/७६ मा २ हजार २ सय ३० र आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ८० वटा बलात्कारका उजुरी दर्ता भएका थिए। ‘नेपाल प्रहरीमा परेका उजुरीका आधारमा चार वर्षको तथ्यांकअनुसार महिलामाथि हुने हिंसाका घटना ह्वात्तै बढेको छ,’ नेपाल प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले ले भने, ‘पछिल्लो चार वर्षमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतसम्मले वृद्धि भएका छन्।’

तथ्यांकअनुसार चार वर्षमा बलात्कारका घटना १८ दशमलव १९ प्रतिशतले बढेको छ। अधिकांश बलात्कारका घटनामा चिनजानका व्यक्ति संलग्न रहेको पाइएको छ । प्रहरीको तथ्यांकअनुसार प्रतिदिन औसतमा बलात्कारसम्बन्धी घटनाका सात उजुरी दर्ता हुने गरेको छ । बलात्कारका पीडितमध्ये १० वर्षमुनिका ११.९८ प्रतिशत, ११ देखि १८ वर्षका ५३.२४ प्रतिशत र ६० वर्षमाथिका १.४८ प्रतिशत छन् ।

आर्थिक वर्ष २०७७/७८ मा विभिन्न प्रकृतिका अपराधसम्बन्धी ४० हजार १ सय २० घटना दर्ता भएका थिए। औसतमा प्रतिदिन १ सय १० वटा घटना प्रहरीमा दर्ता भएका थिए । यसमध्ये कर्तव्य ज्यानसम्बन्धी ६ सय ९७ वटा मुद्दा परेका थिए । आर्थिक वर्ष २०७६/७७ कुल ५ सय ५५ कर्तव्य ज्यानसम्बन्धी घटना प्रहरीका दर्ता भएकोमा आर्थिक वर्ष २०७७/७८ मा २५ दशमलव ५८ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७६/७७ मा पाँच सय ५५ कर्तव्य ज्यानसम्बन्धी उजुरी परेकोमा आर्थिक वर्ष २०७७/७८ मा यो संख्या बढेर ६ सय ९७ पुगेको थियो।

यस आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटनाहरू १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। सो तथ्यांकअनुसार दैनिक औसतमा १९ जनाले आत्महत्या गर्ने गरेका छन्। आत्महत्याका ७ हजार १ सय १७ वटा घटनामध्ये अधिकांशले झुन्डिएर र विष खाएर आत्महत्या गरेका छन्। यस आर्थिक वर्षमा ज्यान मार्ने उद्योगसम्बन्धी घटनाहरू २० दशमलव ९४ प्रतिशतले बढेका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, जबर्जस्ती करणी उद्योग र लागू औषधजस्ता कसुरहरू आर्थिक वर्ष २०७६/७७ मा भन्दा २०७७/७८ मा बढेका छन्।

‘मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, चोरी, सार्वजनिक शान्तिविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर र बैंकिङ कसुरजस्ता अपराधहरू आर्थिक वर्ष २०७६/७७ भन्दा आर्थिक वर्ष २०७७/७८ मा घटेका छन्,’ एसएसपी कुँवरले भने, ‘तर महिला तथा बालबालिका लक्षित हुने आपराधिक घटना ह्वात्तै बढेका छन् ।’

महिला तथा बालबालिका लक्षित हुने आपराधिक घटनासम्बन्धी उजुरी बढेका छन्। बालविवाह ३१ दशमलव २५ प्रतिशत, बहुविवाह १६ प्रतिशत जबर्जस्ती करणी उद्योग ६ दशमलव ९९ प्रतिशत, अप्राकृतिक मैथुन ३३.३३ प्रतिशत, बाल यौन दुराचार २०.२५ प्रतिशत र बोक्सीको आरोप ७९.४१ प्रतिशत उजुरी परेका थिए। घरेलु हिंसाका घटना २१.२४ प्रतिशतले बढेका छन्। आर्थिक वर्ष २०७७/७८ मा घरेलु हिंसाको घटनासम्बन्धी १४ हजार २ सय ३२ उजुरी परेका थिए। आर्थिक वर्ष २०७६/७७ मा घरेलु हिंसासम्बन्धी कुल ११ हजार ७ सय ३८ उजुरी परेका थिए।

प्रहरीको तथ्यांकअनुसार यस वर्ष सवारी दुर्घटनाका घटना समेत ३३.६६ प्रतिशतले बढेको छ। सो तथ्यांकअनुसार बैकिङ कसुर २८.२९ प्रतिशत, मानव बेचबिखन तथा ओसारपसार २५.६ प्रतिशत, चोरी २.८२ प्रतिशत, साइबर अपराध ११.११ प्रतिशत र संगठित अपराध ४६.१५ प्रतिशतले घटेका छन्।

प्रकाशित: २३ श्रावण २०७८ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App