७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरको नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद: दुई पक्षबीच झडप

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनौटमा विवाद नमिलेपछि शुक्रबार साँझ मन्दिर परिसरमा दुई पक्षबीच झडप भएको छ। झडपमा परी दर्जनौ हताहत भएका थिए। रातिसम्म पनि मन्दिर परिसरमा सयौंको भीड बाँकी नै रहेको छ।  

घण्टाकर्ण चतुर्दशीको दिन नकींसहित देवगणहरुको पद हस्तान्तरण गर्ने कार्यक्रमम रहेकोले दुवै पक्ष सयौं समर्थकहरुबीच साँझदेखि मन्दिर परिसरमा रहेका थिए। सयौंको संख्यामा दुवै पक्ष रहेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था मिलाएको थियो। प्रहरीले रातिसम्म पनि मन्दिरभित्र पुगेकालाई भित्र र बाहिर रहेकालाई बाहिर नै राखेर सुरक्षा दिइराखेको छ। दर्जनौको संख्यामा रहेका प्रहरीहरु मन्दिर प्रवेशद्धारमा पालो बसेका छन्।  

सहमति अनुसार भक्तपुर नगरपालिका वडा नं ७ बस्ने हरिगोविन्द बनमालाको परिवार नकीं छनौट भएका थिए। तर पालो मिचिएको भन्दै अर्काे पक्ष भक्तपुर नै बस्ने कृष्णराम बनमालाको परिवारले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए।

मुद्दा छिनोफानो नहुँदा दुवै पक्ष बाहिरै भिडभाडका साथ ठूलो संख्यामा रहेका थिए। मन्दिरभित्र रहेको कृष्णरामको समूह बाहिर निस्कँदा मन्दिर प्रवेशद्धारमा रहेका विपक्षी समूहले रोकेका थिए। यो क्रममा झडप भएको थियो। प्रहरीको अगाडि नै भएको झडप केही समयमा प्रहरीले नियन्त्रणमा लिएपछि झडपबाट ठूलो क्षति हुन पाएन। तैपनि राति अबेरसम्म त्यहाँ पक्षविपक्षका सयौं मानिसको हुल थियो।

नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सदस्य तथा नाइकेका कान्छो छोरा बालकृष्ण बनमालाले घण्टाकर्णको अन्तिम दिन नकीं छनौट भइसकेपछि पद हस्तान्तरण गर्ने बेलासम्म पनि नकीं छनोट भएन भने यसवर्ष नवदुर्गा देवता बाहिर ननिस्किने अर्थात नवदुर्गा जात्रा कुनै पनि नहुने अवस्था सृजना भएको बताए। उनले दुई पक्षलाई तेस्रो पक्ष अर्थात देवगणहरुको समूहले निर्णय दिन नसकेपछि यस्तो परिस्थिति सृजना भएको बताए। विवादले झडपको रुप लिएपछि समस्या झन बल्झिएको उनको कथन छ।  

प्रत्येक वर्ष दशैंको विजया दशमीको दिन राष्ट्रप्रमुखबाट पूजाआजा गर्न आउने भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकस्थित ऐतिहासिक मन्दिरमा नकीं छनौटमा विवाद भएपछि अदालतसम्म पुगेको छ। प्रत्येक वर्ष आपसी छलफलबाटै नकीं छनौट हुने गरेको र सोही अनुसार यो वर्ष पनि भएकोमा आफ्नो पालो मिचिएको भन्दै कृष्णराम बनमालाको परिवारले नेपालको संविधान २९७२ को धारा १४४(१)(२) बमोजिम उपयुक्त आज्ञा आदेश जारी गरी पाउँं भनी उच्च अदालत पाटनमा निवेदन पत्र दर्ता गराएका थिए।  

मन्दिरमा प्रत्येक वर्ष पालो अनुसार नयाँ नकीं छनौट हुने गर्दछ। साथै नवदुर्गा देवगण भई वर्षभरि विभिन्न स्थानमा गई नाच्न जाने देवगणहरु छनौट हुने गर्दछन्। परिवर्तन हुने नयाँ १९ जना देवगणहरुको हकमा भने विवाद भएको छैन। प्रत्येक वर्ष नयाँ नकीं र पुराना देवगणहरु परिवर्तन भई शुक्रबार घण्टाकर्ण चतुर्दशीका दिन पालो हस्तान्तरण हुने गर्दछ। यस क्रममा मन्दिर परिसरमा दुई पक्षबीच झडप भएको हो।  

छनौट हुने नकींले नवदुर्गाको मन्दिरमा दैनिक नित्य पूजा र आरती गर्ने गर्छिन्। त्यसबापत उनले पाउने भनेको त्यहाँ चढाएको दक्षिणा मात्रै हो। जुन थोरै हुने बताइन्छ।  

नकीं छनौट भई शुक्रबारबाट लगभग दुई महिना नयाँ नियुक्त देवगणहरुलाई नाचगान सिकाउन सुरु हुने परम्परा छ। यही अनुसार नाचगान सिकेका नयाँ देवगणहरु वर्षभरि नै भक्तपुरका टोलटोलका साथै काठमाडौं र काभ्रेपलान्चोक जिल्लाका विभिन्न टोलहरुमा पुगेर नवदुर्गा नाच नाच्ने जाने गर्दछन्।

प्रकाशित: २२ श्रावण २०७८ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App