coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीमतीमाथि एसिड प्रहार गर्न नपाएपछि . . .

श्रीमतीसँगको सामान्य विवादपछि तीन जनालाईं एसिड प्रहार गरेको आरोपमा सुनसरी बराह क्षेत्रका एक पुरुष पक्राउ परेका छन्।बराह क्षेत्र वडा नं. ३ हर्दियाका ३० वर्षे रोमन राजधामी पक्राउ परेका हुन्। 

एसिड प्रहार गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले महानगरीय प्रहरी वृत गौशाला काठमाडौँको सहयोगमा पक्राउ गरेको हो। घटना साउन १२ गते रातिको हो। घटना अनुसार चुरोटको विषयमा रोमनसँग उनकी श्रीमती २८ वर्षे सरु भन्ने सरस्वती बस्नेतको विवाद भएको थियो।

यही विवादलाई लिएर रोमनले एसिड प्रहार गर्न खोज्दा सरस्वती भागेर ज्यान जोगाउन छिमेकी श्यामकुमारी धामीकोमा पुगिन्। रोमनले उनलाई पछ्याउँदै छिमेकी श्यामकुमारीकै घरमा पुगे। उनको हातमा एसिडको बोतल थियो। सरस्वती छिमेकीको घरभित्र ढोका थुनेर लुकिन्।  

‘रोमनले ढोकामा लाताले हानेर फोड्न खोजेपछि घरधनी ४३ वर्षे श्यामकुमारीले सम्झाउन खोजिन्,’ इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले भने, ‘श्रीमतीलाईं प्रहार गर्न नपाएको झोकमा सम्झाउने श्यामकुमारीको टाउको तथा अनुहारको भागमा एसिड प्रहार गरे।’ उनका अनुसार त्यसपछि श्यामकुमारीका छिमेकी २१ वर्षे सुनम राजधामी र १९ वर्षे सुजन राजधामीले छुट्याउन पुगे। उनीहरुलाई पनि रोमनले एसिड प्रहार गरे।  

एसिड प्रहारबाट घाइते श्यामकुमारीको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागि अहिले म्याक्स अस्पताल विराटनगरमा लगिएको छ। उनको अवस्था गम्भीर रहेको छ। रोमन तामाका त्रिशुल बनाएर बिक्री गर्ने काम गर्दै आएका थिए।

एसिड कहाँबाट, कसरी ल्याए? भन्नेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजवंशीले बताए। घटनामा संलग्न रोमनबिरुद्द एसिड आक्रमण (कुटपिट वा अङ्गभङ्ग सम्वन्धि कसुर) मा सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

प्रकाशित: १८ श्रावण २०७८ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App