७ वैशाख २०८१ शुक्रबार
समाज

हेलम्बुका बाढीपीडितको घर बन्दै

हेलम्बु गाउँपालिका–१ चिउरी खर्क गरिब मगर र दलित बस्ती हो। २०७२ सालको भूकम्पले थिलथिलो भएको उक्त बस्तीवासीले आफ्नो थातथलोमा बस्न नसक्ने भएपछि सडकछेउ मोहीबापत कमाउँदै आएको जग्गामा भूकम्पको बेला पाएको रकमले घर बनाए। घर बनाएको ३ वर्ष नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले न घर रह्यो न आफूले मोहीबापत कमाउँदै आएको जमिन नै।

पटकपटकको प्राकृतिक प्रकोपका कारण यो बस्तीका मान्छे जीविका उकासिनुको साटो झन् भासिएको छ। चिउरीखर्कका गोपाल थापा मगर भन्छन्, ‘भूकम्पमा बनाएको घरको ऋण तिर्न सकेको छैन अर्को विपत्ति झेल्नुपर्‍यो। न घर रह्यो न जग्गा नै ! अब कसरी जीविका धान्ने ?’ चिउरीखर्कमा यस्ता २२ घरधुरी छन्। सबैको अवस्था उस्तै छ। न घर रह्यो न जमिन। भूकम्पका कारण विस्थापीत भएका उक्त बस्ती अब पुरानै थातथलोमा बस्न बाध्य छन्। तर आशा भने मारेका छैनन्। 

अर्का स्थानीय काले कामी भन्छन्, ‘जे हुनु भयो। अब पुरानो थातथलोमा फर्कनेबाहेक अरू विकल्प छैन। यहीँ घर बनाउने र पाखो फाँडेर खेती लगाउन सुरु गर्ने हो। बच्नु त पर्‍यो नि।’ त्यसैले उनीहरूले पुरानै थलोमा अस्थायी आवास बनाउन सुरु गरेका छन्। उक्त समुदायमा हेलम्बु गाउँपालिकाको डिजाइन अनुसार स्टार्ट फन्डको सहयोगमा केएर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा ३ कोठे अस्थायी आवास निर्माण कार्य सुरुभएको छ। जुन बाढीले बगाएको १ महिनामा नै उठ्ने क्रममा रहेको आत्मनिर्भर केन्द्रका कुमार थापाको भनाइ छ।

वर्षायाम दिनहुँको झरी र घामले बस्न धौ धौ भएको बेला निर्माणाधीन अस्थायी आवासले चिउरीखर्कवासीको मनमा बाढीको पीडा भए पनि मुहारमा थोरै भएपनि हाँसो आउन थालेको छ। नजिकिँदो चाडपर्वमा बास र गाँस गुमाउँदाको पीडामा तत्काल घर बनाउन पाउँदा उनीहरूको मुहारमा हाँसो थपिएको हो। स्थानीय चन्द्रकुमारी थापा मगर भन्छिन्, ‘बाढीमा बाँचेको शरीरलाई जोगाउन चिपाल हालेर बसेका छौँ। घाम र पानीमा बस्न धौ धौ भएको छ। त्यसैले हामी सबै मिलेर घर बनाउन जुटेका छौं। एक महिनापछि पुरानै थलोमा सर्ने योजना छ। त्यहीँ घरमा बसेर चाडपर्व मान्ने हो।’

जम्मा एक सय ७ घरपरिवार विस्थापित रहेको तथ्यांक रहेपनि करिब ९० घर पूर्णरूपमा क्षति भएको गाउँपालिकाका अध्यक्ष निमा शेर्पाले बताए। उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको पाँच लाख आउनेबित्तिकै स्थायी आवासका लागि काम थाल्नेसमेत जानकारी दिए। गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको उनले बताए।  

हेलम्बु गाउँपालिकाको प्रविधिक स्टमेटअनुसार ३ लाख ६६ हजार रूपैयाँ बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन्। २०७६ असार १ मा मेलम्ची नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍यायो। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारलगायतको क्षेत्र क्षतविक्षत बनायो। हेलम्बु गाउँपालिका र मेलम्ची आसपासका २ सय ५४ घर पूर्ण क्षति भयो। ६ सय ९६ घरधुरी विस्थापीत भए।

प्रकाशित: १७ श्रावण २०७८ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App