८ वैशाख २०८१ शनिबार
समाज

भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती

फाइल फोटो

दसगजा क्षेत्रभन्दा सय मिटरको दूरीमा सुनसरी कोशी गाउँपालिका वडा नं. ८ मा पाँच वर्षअघि भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवान प्रवेश गरे। एसएसबीका जवानले स्थानीय अशोक यादव, सरोज यादव, नरेश यादव र मनोज यादवलाई ताकेरै गोली हाने। गोली प्रहारबाट उनीहरु घाइते भए।  

नेपाली भूभागमा प्रवेश गरी गोली प्रहार गर्ने तत्कालिन सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका बिकान्त सारावतसहित छ जनाको समूहबिरुद्ध कारबाहीको माग राखेर चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा किटानी जाहेरी दिए।

गोली प्रहारलगत्तै गल्ती भएको तत्कालिन एसएसबी ४५ बिग्रेडका कमाण्डर बीरपुरका राम अवतारले स्वीकारका थिए। तत्कालिन सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र एसपी सन्जय शर्माले भारतीय सुरक्षा अधिकारीसँग पटक–पटक दोषीलाई कारबाही गरि सार्वजनिक गर्न माग गरे। तर, कारबाहीबारे केही पनि सार्वजनिक गरिएन।  

एसएसबीका जवानले २०७२ साल मंसिर ९ गते गाउँमा प्रवेश गरी ताकी–ताकी गोली हानिएको थियो। हरिपुरकै एक नेपालीले भारतबाट रासायनिक मल लिएर आउने क्रममा एसएसबीका जवानसँग विवाद भएको निहुँमा गाउँमै पसेर अन्धाधुन्ध गोली प्रहार भएको थियो।  

कोशी गाउँपालिका वडा नं. ५ कै ३२ वर्षे सफिद मियाँ बेला मौकामा भारतीय बजार विरपुर र वासमतियाबाट घरायसी प्रयोजनका लागि सामान खरीद गरेर ल्याउँदा एसएसबीका जवानले दुव्र्यहार गर्ने गरेको बताए। ‘कहिलेकाँही ५/१० केजी चिनी, दाललगायतका सामग्री खरीद गरेर ल्याउँदा पनि दुर्व्यवहार गर्ने र कुटपिट पनि गर्ने गर्छन,’ सफिदले भने, ‘बोल्न नसक्ने सर्वसाधारणलाईं त झनै दुःख दिने गरेका छन्।’

कोशी गाउँपालिका क्षेत्रको श्रीपुर, लौकही र लाही नाका बस्ने एसएसबीका जवानले नेपालीलाई बढी दुःख दिने गरेको भारतीय सीमा क्षेत्र भन्दा पाँच सय मिटरको दुरीमा घर भएका कोशी वडा नं. ५ कै मुस्ताक आलमले बताए। पत्रकार समेत रहेका आलम भन्छन, ‘कुनै ठूलो घटना नै हुनु पर्दैन, सामान्य कुरामा पनि एसएसबीका जवानले दुःख दिन्छन्।’

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरायसी प्रयोगका लागि दैनिक उपभोग्य सामग्रीसँगै रासायनिक मल ल्याउनुलाई स्वाभाविक मानिन्छ। तर, यही विषयमा बढी नेपालीले दुःख पाउने गरेका छन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्। विशषेगरी, सुनसरीको कोशी, हरिनगर, नरसिंह(भोक्राहा, देवानगञ्ज र बर्जु गाउँपालिका क्षेत्रको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एसएसबीका जवानसँग त्रासमा हुने गर्छन्। जसले गर्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले सधैंभरी स्थानीय प्रहरी–प्रशासनको आडभरोसा खोज्ने गरेका छन्।

नेपाल र भारतबीचको सीमा छुट्याउने सीमा स्तम्भ आसपासको क्षेत्रलाई १० गजा क्षेत्र भनिन्छ। अन्तर्राष्ट्रिय सीमासम्बन्धी मान्यता अनुसार यो क्षेत्रमा कुनै पनि देशका नागरिकहरुलाई बस्ने अधिकार हुँदैन, त्यसैले यो क्षेत्रलाई नो मेन्स ल्याण्ड पनि भनिन्छ। दस गजा क्षेत्र पार गरेर पनि एसएसबीका जवानले सीमा क्षेत्र नजिकैका नेपालीमाथि ज्यादती गर्ने, गोली प्रहार गर्ने र दुर्व्यवहार गर्ने श्रृंखला पटक–पटक दोहोरिँदै आएको छ।

प्रकाशित: १६ श्रावण २०७८ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App