coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना कहर: धमाधम बन्द हुँदै फिल्म हल

फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्।

‘कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्रमा गतिविधि ठप्प भइरहेको अवस्थामा हल बन्द गरेर राख्नुको सट्टा भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउनु उत्तम होला,’ उनले भने, ‘तत्काल पुरानो शैलीको सिद्धार्थ हल भत्काउने सम्झौता गरिसकेका छौं। साउनको अन्तिम साताबाट हल भत्काइनेछ।’

२०४९ सालमा बौद्धमा रहेको दुई रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको सिद्धार्थ हल चार सय सिट क्षमताको छ। अधिकांश नेपाली फिल्म रिलिज हुने यो हल राजधानीको पूर्वी भेगमा चर्चित रहेको छ। ‘कोरोना भाइरस महामारीपछि फिल्म हल सञ्चालनमा आउँदा फिल्मकर्मीले फिल्म रिलिज गर्न चाहेनन्,’ उनले भने, ‘जसका कारण बाध्य भएर धमाधम फिल्म हल बन्द गर्नुपरेको छ। तत्काल फिल्म हल खुल्ने छाँट नदेखिएपछि हल भत्काउनु उत्तमजस्तो लाग्यो।’ उनले सिद्धार्थ हलको जग्गालाई मासिक डेढ लाख भाडा तिरिरहेको बताए। डेढ दर्जन कर्मचारी रहेको सो हलको मासिक खर्च तीन लाख रुपैयाँ रहेको छ । सिद्धार्थ हल भत्काएपछि निर्माण हुने नयाँ भवनमा हल राख्ने वा नराख्नेबारे टुंगो लागिसकेको छैन।

सिद्धार्थ हल भत्काएलगत्तै राजधानीको कोटेश्वरमा रहेको पुष्पाञ्जली हलसमेत भत्काइने उनले बताए। उनले थपे, ‘अहिले हल बन्द गर्नुको विकल्प छैन । कोरोना भाइरस महामारीको जटिल अवस्था रह्यो भने ९० प्रतिशत पुराना हल सधैंका लागि बन्द हुन्छन्।’कोरोना भाइरसका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्णजस्ता हल पनि बन्द भएका छन्। क्युएफएक्सले घाटा बेहोर्न थालेपछि जय नेपाल र कुमारी हल सञ्चालन गरिएका थिए ।

‘कोरोना भाइरस महामारीअघिदेखि नै कुमारी र जय नेपाल हल घाटामा थिए,’ क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले भने, ‘घाटा भए पनि हल  बन्द गर्न तयार थिएनौं । कोरोना भाइरस महामारीसँगै निकै घाटा हुँदै गएपछि जयनेपाल र कुमारी बन्द गर्‍यौं।’ क्युएफएक्सले सन् २००१ मा जय नेपाल र २००४ मा कुमारीलाई लिएको थियो।

चलचित्र संघको तथ्यांकअनुसार कोरोना भाइरस महामारी फैलिएयता देशभरका २८ फिल्म हल बन्द भइसकेका छन्। संघका महासचिव अशोक दाहालका अनुसार एउटा हल निर्माण हुँदा औसतमा ६ देखि १० करोड रुपैयाँ खर्च हुने गरेको छ। ‘अहिलेको परिस्थितिमा सबैभन्दा बढी फिल्म र पर्यटन क्षेत्र प्रभावित भएका छन्,’ उनले भने, ‘फिल्म क्षेत्रका लागि सरकारले दीर्घकालीन नीति ल्याउनुपर्छ। फिल्म र हल निर्माणमा सरकारले ऋण उपलब्ध गराउनुको साटो प्रोजेक्ट ऋण दिनुपर्छ । सामान्य अवस्थामा फिल्म क्षेत्र फर्कन समय लाग्छ। अधिकांश फिल्मकर्मीदेखि प्राविधिकसम्मले वैकल्पिक रोजगार खोजिरहेका छन्। यो निराशाजनक कुरो हो।’

देशभर दुई सयभन्दा बढी फिल्म हल भए पनि कोरोना भाइरस महामारी फैलिनुअघिसम्म एक सय ९३ स्क्रिन सञ्चालनमा थिए। कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि देशभरका फिल्म हल बन्द छन्। चलचित्र संघले गत वर्ष पुसदेखि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खोल्ने स्वघोषणा गरे पनि अधिकांश हल खुलेनन्। केही फिल्म हल खुले पनि दर्शकको प्रतीक्षा गर्दागर्दै फेरि बन्द भए।

संघका महासचिव शर्माका अनुसार १६ महिना देशभरका एक सय ९३ वटा हल बन्द हुँदा फिल्म क्षेत्रले १५ अर्बभन्दा बढी घाटा बेहोर्नुपरेको छ। ‘देशभरका एक सय ९३ फिल्म हलका प्रतिसो ७२ हजार सिट बिक्रीका लागि खुला हुन्थे,’ उनले भने, ‘प्रतिसिट टिकटको औसत मूल्य दुई सय रुपैयाँ हुँदा एक सोमा एक करोड ४४ लाखका टिकट बिक्रीका लागि खुला गरिन्थ्यो।’ यस हिसाबले १६ महिनामा ६ अर्ब ९१ करोड रुपैयाँ हाराहारीको टिकट बिक्रीमा हुन्छन्। प्रतिदिन तीन शोका दरले फिल्म प्रदर्शन हुँदा १६ महिनामा २० अर्ब हाराहारीका टिकट बिक्रीमा हुन्थे।

चलचित्र संघका अनुसार झापाका दमक चलचित्र मन्दिर, कृष्ण चलचित्र मन्दिर, मोरङको सुकुना चलचित्र मन्दिर, बेलबारीको शारदा चलचित्र मन्दिर, धनुषाको लवकुश चलचित्र मन्दिर, जनकपुरको रामजानकी पिक्चर्स, चितवनको नारायणी चित्र मन्दिर सदाका लागि बन्द हुँदैछन्। त्यस्तै भक्तपुरको बाराही चलचित्र मन्दिर, दमौलीको उत्तरोशिला चलचित्र मन्दिर, पाल्पाको सन्तोष चलचित्र मन्दिर, बागलुङको कालीगण्डकी मन्दिर, दाङको सत्यसाई चलचित्र, विष्णु चलचित्र मन्दिरसँगै रुपन्देहीको पद्मश्री चलचित्र मन्दिर, कुस्माको सिद्धेश्वर चलचित्र मन्दिर र धनकुटाको केडिभी सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन्।

कोरोना भाइरस महामारीअघि तयार भएर रिलिज हुन नपाएका, सुटिङ र पोस्ट प्रोडक्सनका काम अड्किदा झन्डै दुई अर्ब रुपैयाँ लगानीका चलचित्र अलपत्र परेका छन्। रिलिज हुन बाँकी फिल्मका निर्माता ऋणको ब्याज तिरिरहेका छन् । झन्डै तीन दर्जनभन्दा बढी फिल्म निर्माण भइसकेका छन् भने ४५ हाराहारी फिल्म सुटिङ र पोस्ट प्रोडक्सनमा रोकिएका छन्।

कोरोना भाइरस महामारीसँग १५ सय हाराहारीका प्राविधिक बेरोजगार हुन पुगेको चलचित्र प्राविधिक संघले जनाएको छ। ‘कोरोना भाइरस महामारीका कारण ठप्प रहेको फिल्म क्षेत्र चलायमान नहुँदा यहाँ आश्रित १५ सय हाराहारीका प्राविधिक प्रत्यक्ष मारमा परेका छन्,’ चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने, ‘सरकारको प्रतिनिधित्व गरिरहेको चलचित्र विकास बोर्डले प्राविधिकका समस्या सम्बोधन गर्ने आश्वासन दिएको भए पनि प्राविधिकहरू पलायनको स्थितिमा पुगेका छन्।’ संघले विभिन्न चरणमा प्राविधिकलाई राहत वितरण गरे पनि त्यो पर्याप्त नभएको उनले बताए।

यसअघि फिल्मकर्मीले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई भेटेर कोरोना भाइरस महामारीअघि निर्माण भई प्रदर्शनका लागि तयार भएका फिल्मलाई लगानीको ५० प्रतिशत अनुदान सहायता उपलब्ध गराउनुपर्ने, कोभिड महामारीले हालसम्म बन्द रहेका फिल्म हलको घाटाको ५० प्रतिशत अनुदान सहायता दिनुपर्ने, हालसम्म बन्द रहेका हलहरूले बाल्दैनबालेको विद्युत्को डिमान्ड शुल्कमा छुट दिनुपर्ने, वितरकले लगानी गरेबराबरको रकम एक प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने माग गरेका थिए।

त्यस्तै दीर्घकालीन नीतिअन्तर्गत करिब १० वर्षका लागि सुविधासम्पन्न सुटिङ स्टुडियो निर्माण गर्न बजेट व्यवस्था गर्नुपर्ने, दक्ष जनशक्ति उत्पादनका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, १० वर्षसम्म फिल्ममा लाग्ने सबै प्रकारका करबाट निर्माता, वितरक, प्रदर्शक, कलाकार, प्रविधिक, उपकरणमा छुट गर्दै फिल्म क्षेत्रलाई करमुक्त गर्न माग गरेका थिए।

फिल्म हल बन्द भइरहँदा चलचित्र विकास बोर्डको आम्दानी शून्यमा झरेको छ । विदेशी फिल्मलाई प्रदर्शन अनुमति दिँदा वार्षिक १० करोड रुपैयाँ चलचित्र विकास शुल्क र यति नै मात्रामा राजस्व उठ्ने गरेको थियो । नेपाली र विदेशी फिल्मबाट मासिक न्यूनतम २० करोड रुपैयाँ आम्दानी हुने गरेको थियो। ‘बोर्डले फिल्म हल खोल्न प्रयास गरिरहेको छ,’ बोर्डका अध्यक्ष दयाराम दाहालले भने, ‘अहिले फिल्म क्षेत्र घाटामा भएको हुँदा यसलाई सहुलियत उपलब्ध गराउने विषय नियमित छलफल भइरहेको छ। सिसिएमसीले चाँडै नै फिल्म हल खोल्ने निर्णय गर्नेछ। त्यसपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन करमा सहुलियत दिएर आर्थिक प्रोत्साहन गर्नुपछि भनेर लागि परेका छौं।’

प्रकाशित: १६ श्रावण २०७८ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App