७ वैशाख २०८१ शुक्रबार
समाज

कान्द्रा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ भने एक बेपत्ता छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–९ डोङपुरका धनबहादुर सिँहकी ९ वर्षका छोरी लक्ष्मी सिँह र सोही ठाउँका रामफल चौधरीका ७ वर्षकी छोरी जेनी चौधरीको ज्यान गएको हो। उनीहरुसँगै डुबेकी धनबहादुरकी ६ वर्षकी अर्की छोरी अनु सिँह बेपत्ता छिन्। उनको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।  

उनीहरु नुहाउन गएका बेला आज दिउँसो साढे चार बजे नदीमा डुबेर बेपत्ता भएका हुन्। कान्द्रा नदीमा नुहाउने क्रममा वर्षेनी बालबालिकाको ज्यान जाने गरेको छ।  

त्यस्तै कैलालीको मोहन्याल गाउँपालिका–७ बाँकामा नम्बर नखुलेको जीप कर्णाली नदीमा खस्दा दम्पत्ती बेपत्ता भएका छन्। एसपी अधिकारीका अनुसार डोटीको आदर्श गाउँपालिका–३ काँडेका चन्द्र प्रकाश जोशी र रुबी जोशी नदीमा बेपत्ता भएका हुन ।  

उनीहरुका तीन जना छोराछोरी घाइते अवस्थामा नदी किनारमा भेटिएको प्रहरीले जानकारी दिएको छ। घाइते अवस्थामा भेटिनेमा १२ वर्षकी लक्ष्मी जोशी, ४ वर्षकी सावित्री जोशी र २ वर्षका भुवन जोशी रहेका छन्।  

उनीहरुको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ। उनीहरु मध्ये सावित्रा र भुवनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।  

एसपी अधिकारीले उनीहरु चढेको जीप नदीमा भेटिएको बताएका छन्। उनका अनुसार अहिले जीप नदी बाहिर निकाल्ने प्रयास भैरहेको छ। उनले सो जीप जोशी आफैले चलाएको बताए। जीप ब्याक गर्ने क्रममा नदीमा खसेको हुनसक्ने एसपी अधिकारीले बताए।  

जोशीको परिवार नेपालगञ्जमा उपचार गरेर घर फर्किने क्रममा चिसापानी–सोल्टा सडक खण्ड घुम्न गएको बुझिएको छ।

प्रकाशित: १५ श्रावण २०७८ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App