coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शहीद मनोज हत्यकाण्ड भएको ३० वर्ष पूरा

शहीद मनोज जोशीको शालिक। तस्बिर: दमन/नागरिक

खोटाङका शहीद मनोज हत्यकाण्ड भएको ३० वर्ष पूरा भएको छ। २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो। 

दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ। तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो। 

बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन्। लामो समयदेखिको मागका वावजुद जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो। उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए। सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए। 

सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाउँदै आएको छ। दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराकारुपमा जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो। वास्तबिक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए। यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीकारुपमा परिचित थिए।  

बिगतका वर्ष मनोजमार्ग सरसफाई, अस्पतालका बिरामीलाई फलफुल वितरण, व्याटमिन्टन, चेस, कविता, गजल र हाजिरीजवाफ प्रतियोगीता लगायतका कार्यक्रम गर्दै मनोज जोशी स्मृति दिवस मनाउने गरिएकामा यसपल्ट कोभिड–१९ का कारण शुक्रबार बिहान दिक्तेल अस्पतालचोकस्थित जोशीको समाधिमा माल्यार्पण एबं श्रद्धाञ्जली सभा कार्यक्रम मात्र आयोजना गरिएको छ। जोशीलाई शहीद घोषणा गर्ने माग पुरा भए पनि दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए।

प्रकाशित: १५ श्रावण २०७८ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App