८ वैशाख २०८१ शनिबार
समाज

अमादब्लममा फहराइएको कुवेती झण्डा थाहै नदिई फिर्ता

अमादब्लम हिमालमा अनुमति नलिई फहराइएको कुवेतको झण्डा खुसुक्क फिर्ता पठाइएको छ। पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएको यो झन्डा गत वैशाखमै कुवेत फिर्ता पठाइएको हो। पर्यटन मन्त्रालयले अमादब्लम हिमालमा दुई वर्षअघि अनुमति नलिई फहराइएको झण्डा जफत गरेको थियो।  

पोखरास्थित पर्वतीय संग्रहालयका अनुसार २०७७ चैत १७ गते यो झण्डा पोखराबाट फिर्ता पठाइएको हो। संग्रहालयका प्रशासन सहायक उज्जवल अधिकारीका अनुसार नेपाल पर्वतारोहण संघ (एनएम) का पदाधिकारीले पोखराबाट झण्डा बुझेर लगेका थिए । ‘२०७७ माघ २३ गते पोखरास्थित यो संग्रहालयमा झण्डा राख्न ल्याइएको थियो। पछि फिर्ता मागियो, हामीले गत चैत १७ गते फिर्ता गरिदियौं,’ अधिकारीले भने, ‘केही समय यहाँ राखियो, अनि फिर्ता मागेपछि हामीले दियौं।’

उनका अनुसार पर्यटन विभागले पर्वतारोहण संघलाई झण्डा फिर्ता गरेर ल्याउन भनेपछि संघले लिएर गएको उनले बताए । विभागले २०७७ माघ २१ गते यो झण्डा पोखरास्थित संग्रहालयमा राख्न भनेको थियो । त्यसको दुई दिनपछि यो झण्डा पोखरा आइपुगेको थियो। ‘राष्ट्रिय महत्वको सामान हो। पर्वतीय संग्रहालयमा राख्नु उचित हुने भनेर भनेपछि यहाँ ल्याइएको थियो। तर, पछि फिर्ता मागेपछि हामीले नै दियांै,’ अधिकारीले भने, ‘राख्नु भनेपछि राख्यौ, पछि फिर्ता मागेपछि दियौं।’

एनएमएका महासचिव कुलबहादुर गुरुङका अनुसार अमादब्लममा खुसुक्क झण्डा फहराएपछि विवाद भएको थियो। झण्डा फहराएको बारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि पर्यटन मन्त्रालयले झण्डा नै जफत गरेको थियो। २०७६ कात्तिकमा ६ हजार ८ सय १२ मिटर उचाइको अमादब्लम हिमालको चुचुरो ढाक्ने गरी फहराइएको कुबेतको झण्डाको भिडियो सामाजिक सञ्जालमा छाएको थियो।  

‘पर्यटन विभागले नै हामीलाई पोखरास्थित पर्वतीय संग्रहालयमा झण्डा राख्नु भन्यो। पछि फिर्ता माग्न भन्यो,’ गुरुङले भने, ‘सरकारले नै फिर्ता माग्नु भनेपछि हामीले गएर फर्काएका हौ । फिर्ता माग्नुको कारण हामीलाई पनि थाहा भएन। सरकारले भनेपछि कारण सोध्न पनि सकिएन।’

एनएमएले पोखराबाट लगेको झण्डा सेभेन समिट ट्रेक्सलाई बुझाएको थियो । कुटनीतिक तहबाटै झण्डा फिर्ता पठाउने जिम्मा सेभेन समिटलाई दिएकोले लगेर बुझाएको गुरुङले बताए। एक्सपिडिसन व्यवस्थापनको जिम्मा पनि सेभेन समिटले नै लिएको थियो । त्यसैले झण्डा फिर्ता गर्ने बेला पनि जिम्मा सेभेन समिटलाई दिएको हुनसक्ने उनको भनाइ छ।  

१ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको करिब १ सय ५० किलोग्रामको उक्त झण्डा जफत गरिएपछि डेढवर्षसम्म भृकुटीमण्डपस्थित पर्यटन विभागको स्टोरमा राखिएको थियो। २०७७ माघ १८ गते तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट उक्त झण्डा एनएमए मातहको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सजाउने निर्णय गरेका थिए। त्यसको पाँचदिनमै झण्डा पोखरास्थित संग्रहालयमा आइपुगेको थियो। तर, २०७७ फागुन २६ गते पर्यटन मन्त्रायलये झण्डा फिर्ता मागेको थियो।  

चैत १८ गते सेभेन समिटले फिर्ता पाएको झण्डा गत वैशाख १८ गते कुवेत पठाएको थियो। सेभेन समिटका निर्देशक छाङ दावा शेर्पाले एक्सपीडिसनको काम गरेको हुनाले झण्डा फिर्ता गराउने जिम्मा पनि दिइएको हुनसक्ने बताए। ‘हामीले झण्डा फिर्ता पठाईसकेका छौ । पर्यटन मन्त्रालयले झण्डा फिर्ता पठाइदिनु भन्यो। हामीले पनि त्यही अनुसार कार्गाे गरेर भण्डा फिर्ता पठायौं,’ शेर्पाले भने, ‘सरकारी तहमै छलफल भएपछि झण्डा फिर्ता गरिएको अनुमान छ । हामीले त सरकारले भने अनुसार काम गरेका हौं।’ पोखरामा राखिएको झण्डा  फिर्ता ल्याएर दिएपछि बुझिलिएको र पछि फिर्ता गरेको उनले बताए।  

प्रकाशित: १५ श्रावण २०७८ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App