२ आश्विन २०७८ शनिबार
समाज

विश्व बाघ दिवस: बासस्थान सप्रिएपछि टहलिँदै बाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षौदेखि बाघ छ। प्रशस्त आहारा र सुरक्षित बासस्थान भएका कारण शुक्लाफाँटामा बाघ बस्दै आएका छन्। सन् २०१८ मा भएको बाघ गणना अनुसार शुक्लाफाँटामा १७ वटा बाघ छन्। त्यसका अलावा भारतको दुधुवा नेशनल पार्कसँग जोडिएको अन्तर्राष्ट्रिय जैविक मार्ग रहेको वसन्ता कोरिडोर र लालझाडी जैविक मार्गमा पनि छिटफुट बाघ देखिने गरेको थियो। तर, पछिल्ला समयमा निकुञ्जबाहेकको जंगलमा बाघ देखिन थालेको छ।  

कैलालीको सामुदायिक वन क्षेत्र सप्रिँदै जानुले पनि पछिल्ला दिनहरुमा पुनः बाघ पुस्तौनी बाटोमै फर्कन थालेको संरक्षणविद्हरु बताउँछन्। कैलालीमा बाघको मुख्य क्षेत्र बसन्ता र कञ्चनपुरको लालझाडी क्षेत्र भए पनि पछिल्लो समयमा बसन्ता क्षेत्रमा बाघको बाटोमा अवरोध आउनु र मसुरिया क्षेत्रमा वनको अवस्था सप्रिनुले पनि सहायक मार्ग हुँदै मसुरिया क्षेत्रमा बाघ टहलिन थालेको संरक्षणका क्षेत्रमा काम गरिरहेका तथा सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा बताउँछन्। पहिले घना जंगल रहेको र वसन्ता जैविक मार्गको बैकल्पिक मार्गका रुपमा रहेको मोहनपुर–मसुरिया मार्ग जोडिने सामुदायिक वनको हैसियन सप्रिएकाले यो क्षेत्रमा बाघको ‘मुभमेन्ट’ बढिरहेको उनी बताउँछन्।  

‘हसुलियाहुँदै मसुरियाको जंगल भनेको बाघको पुस्तौनी बाटो पनि हो,’ उनले भने,‘यो बाटो भएर धेरैपटक बाघ ओहोर दोहोर गरिरहेको रेकर्ड हामीसँग छ।’ यो क्षेत्रमा वर्षौदेखि बाघ रहेको बताउँदै उनले भने,‘मसुरिया क्षेत्रमा वर्षौदेखि बाघ बसोबास गर्दै आएको भए पनि बीचमा जंगल मासिँदा बाघ आउन छाडे पनि पछिल्लो समयमा यो क्षेत्रमा जंगलको हैसियत सप्रिदै जाँदा पुनः बाघ लयमा फर्कन थालेका छन्।’  

सामुदायिक वनको अवस्था सप्रिदै गएका कारण गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैयामा विचरण गर्न आइपुगेको थियो। अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ अहिले सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरहेको थियो। त्यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाको  वन क्षेत्रमा पनि गत फागुनतिर दुई महिनासम्म बाघ सामुदायिक वन वरपर घुमेको उपभोक्ताहरु बताउँछन्। लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा दुई महिना बाघले विचरण गरेको थियो।  

बाहिर गएका बाघ पुनः पुस्तौनी बाटो हुँदै आफ्नै ‘एरियामा’ फर्कन थालेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल प्रमुख कृष्णदत्त भट्ट बताउँछन्। ‘वसन्ता क्षेत्रसँग जोडिएको सहायक जैविक मार्गमा पछिल्लो समयमा सामुदायिक वनहरु सप्रिएका छन्,’ उनले भने,‘त्यही भएर अहिले यो क्षेत्रमा बाघको मुभमेन्ट बढिरहेको छ।’  

वसन्ता जैविक मार्गमा केही अवरोध आउन थालेपछि बाघ पुनः सामुदायिक वनको अवस्था सप्रिएसँगै सहायक मार्गतिर टहलिन थालेको उनको भनाइ छ। वसन्ताको सहायक जैविक मार्गका रुपमा रहेको मसुरिया क्षेत्रमा मुख्यगरी तीन ठाउँमा बाघको बसोबास क्षेत्र रहेको बताउँदै उनले भने,‘चुरेसँग जोडिएको राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अण्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको भए पनि वनको अवस्था विग्रिएसँगै बाघ केही समयका लागि बाहिरिएको थियो। अहिले पुनः फर्किएको छ।’ चोरी सिकारीले बाघलाई केही असुरक्षा हुने भए पनि संरक्षणकर्मी र सामुदायिक वनले समुदायमा जनचेतना जगाउँदा बाघलाई केही हदसम्म सुरक्षित वासस्थान तथा विचरण गर्ने स्थान सामुदायिक वनहरु बनेको उनको भनाइ छ।  

बसन्ता कोरिडोरको सहायक मार्गका रुपमा रहेको वरपरका सामुदायिक वनहरुको अवस्था राम्रो हुन थालेको र आहारका लागि पनि वन्यजन्तुहरु पाइन थालेपछि बाघ कैलाली क्षेत्रको सामुदायिक वनमा देखिन थालेको विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले बताए। उनले भने,‘कैलाली पुस्तौदेखि बाघको बासस्थान रहेको र केही वर्षदेखि वन अतिक्रमणसँग जनघनत्व बढ्न थालेपछि असुरक्षित बनेका बाघ पुनः सामुदायिक वनले जंगलको अवस्था सुधारेका कारण सुरक्षित बासस्थानको खोजीमा बाघ निकुञ्ज बाहिरको सामुदायिक वनहरुमा देखिन थालेका छन्।’  सन् २०१८ को तुलनामा बाघको संख्या बढेको हुन सक्ने बताउँदै उनले भने,‘नेपालमा बाघको संख्यामा सुधार भएको छ, बाघको संख्या बढ्दा उसले आफ्नो बासस्थान बनाउन बर्दिया राष्ट्रिय निकुञ्ज, दुधुवा नेसनल पार्क तथा कैलालीकै राष्ट्रिय वनबाट सामुदायिक वनतिर देखिन थालेका छन्।’ एउटा एरियामा एउटा मात्रै बाघ बस्ने भएकाले बाघको संख्या बढ्दा अर्को बयस्क बाघ आफ्नो बासस्थानको खोजीमा बाहिर निस्कँदै सामुदायिक वनलाई सुरक्षित वासस्थानको महसुस गरेर बस्न थालेको हुनसक्ने आँकलन गरिएको वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरु बताउँछन्। 

सुदूरपश्चिम प्रदेशमा भने अहिले १९ वटा बाघ रहेका छन्। सन् २०१८ को बाघ गणनाअनुसार सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा बाघ रहेका छन् भने दुई वटा बाघ लालझाडी र वसन्ता जैविक मार्ग तथा आसपासका सामुदायिक वनमा देखिने गरेका थिए। पछिल्लो समयमा भने बाघको संख्यामा वृद्धि भएको हुनसक्ने आँकलन गरिए पनि २०२२ मा हुने बाघ गणनापछि मात्रै बाघको एकिन संख्या बताउन सकिने संरक्षणकर्मी ओमप्रकाश सापकोटा बताउँछन्।

प्रकाशित: १४ श्रावण २०७८ १७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App