२ आश्विन २०७८ शनिबार
समाज

वर्षेनी बढ्दै पाटेबाघ, संरक्षणमा अनेकौं चुनौती

पाटेबाघ संरक्षण गर्न एक दशकअघि स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज। तस्बिर: नागरिक

सरकारले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुरूप पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। निकुञ्ज स्थापनाको एक दशकमा बाघको संख्या अपेक्षित रुपले त बढ्यो। सन् २०१० मा निकुञ्ज स्थापना हुँदा ४ वटामा सिमित रहेको पाटेबाघ सन् २०१८ मा गणना गर्दा २१ पुग्यो। अहिले त्यो संख्या पनि बढेर गएको निकुञ्जका अधिकारी बताउँछन्। वर्षेनी संख्या बढिरहँदा पाटेबाघ संरक्षणमा पनि अनेकौं चुनौती थपिदै गएको छ।

बाघको संख्या बढेपनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाई हुनु, चोरी शिकार नियन्त्रण नहुनु, आहारा प्रजाती बढाउन समस्या हुनु, मानव र बाघबीच द्वन्द्व हुनु, निकुञ्ज क्षेत्रमा विकासका पुर्वाधार निर्माण गरिनु, घाईते बाघको तत्काल उद्धार गरेर राख्ने ठाउँ अभाव हुनु संरक्षणका चुनौती हुन्। ‘निकुञ्जमा पाटेबाघको संख्या बढेर गएको हाम्रो अनुमान छ, त्यसकारण बाघको बासस्थान र आहारा प्रजाती व्यवस्थापनलाई जोड दिईरहेका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भने।उक्त निकुञ्ज बाँके, दाङ र सल्यानसम्म ५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 

यी तीन वटै जिल्लाको अधिकांश भू–भागलाई निकुञ्जको मध्यवर्ती क्षेत्रले छोएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्तीसोनारी, बैजनाथ र कोहलपुर, दाङको बबई र दंगिसरण तथा सल्यान कालिमाटीमा दर्जनौं मानव बस्ती छन्। निकुञ्जको मध्यवर्ती क्षेत्र बाँकेको बालापुर र खड्गवार गाउँमा दुई वर्षअघि बाघले स्थानीयलाई आक्रमण गरी मारेको थियो। त्यतिबेला घाँसकाट्न गाउँ नजिकैको जंगलमा गएका बेला बाघले आक्रमण गरेको थियो।

त्यसयता भने बाघले कुनैपनि घटना नगराएको निकुञ्ज प्रशासनले जनाएको छ। ‘बाँके राष्ट्रिय निकुञ्जभित्र बाघ अहिले आफ्नै प्राकृतिक बासस्थानमा रमाईरहेको छ,’ सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेले भने ‘आहारा प्रजाती बढेपछि आफ्नै बासस्थानमा बस्न रुचाउँछ, त्यसकारण बाघको आहारा बढाउने काम निकुञ्जले गरिरहेको छ, त्यसकारण बाघको संख्या पनि बढिरहेको छ।’ आहारा प्रजाति बढेपछि बाघको संख्या स्वतः बढ्ने उनी बताउँछन्। बाघको संख्या बढेसँगै संरक्षणमा भने अनेक चुनौती रहेको सहायक संरक्षण अधिकृत न्यौपानेको भनाई छ। पाटेबाघलाई मनपर्ने आहारा चौका र चित्तल हो। चौका र चित्तलको संख्या पनि निकुञ्जभित्र अत्यधिक रुपले बढेको सम्वद्ध अधिकारीहरु बताउँछन्।

विश्वमै लोपउन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाती संरक्षणका लागि विभिन्न काम गरिरहेको निकुञ्जले जनाएको छ। निकुञ्जले तारबार, पोखरी, वनपथ, घाँसे मैदान, मचान, सुरक्षा पोष्ट लगायत पुर्वाधार निर्माण गरेको प्रमुख संरक्षण अधिकृत शाहले सुनाए। ‘बाघ हेर्न आउने पर्यटकका लागि धेरै पूर्वाधार तयार भईसकेका छन्, अझै कतिपय पूर्वाधार बनाउने योजनामै छौं,’ अन्तरक्रियामा उनले केहीदिन अघि सुनाएका थिए। सन् २०२० मा निकुञ्जले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरिरहँदा कोरोना महामारीले सबै योजना प्रभावित बन्न पुगेको थियो। महामारी नियन्त्रणमा आएपछि बाघ हेर्न आउने पर्यटक लक्षित कार्यक्रम अगाडी बढाउने निकुञ्जको तयारी छ।

सन् २०१८ गरिएको गणना अनुसार नेपालमा पाटेबाघको संख्या २ सय ३५ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ पाईन्छ। सन् २०१८ मा गरिएको गणना अनुसार पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७ र शुक्लाफाँटामा १६ रहेको छ। निकुञ्ज विभागले सन् २०२२ सम्म बाघको संख्या बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेको छ।

निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले आगामी पुससम्म देशभर रहेका निकुञ्जमा बाघ गणना कार्य सुरु गरिने बताए। ‘सन् २०१० मा १ सय २१ रहेको बाघको संख्या २०१८ मा आईपुग्दा २ सय ३५ पुग्यो,’ उनले नागरिकसँग भने ‘सन् २०२२ मा बाघको संख्या २ सय ५० पुर्याउने विभागको लक्ष्य छ, त्यो लक्ष्य अवश्य पुरा हुन्छ।’ उनका अनुसार विभागले हरेक ४/५ वर्षको फरकमा बाघ गणना गर्छ। आगामी पुसदेखी बैशाखसम्म बाघ गणना कार्य सम्पन्न गरेर तथ्यांक सार्वजनिक गर्ने विभागको तयारी छ।

बाघको संख्या बढेपनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाई, बढ्दो चोरी शिकार, आहारा पुर्याउन समस्या, मानव र बाघबीचको द्वन्द्व, निकुञ्ज क्षेत्रभित्र विकासका पुर्वाधार निर्माण, घाईते बाघको तत्काल उद्दार गरेर राख्ने ठाउँ अभाव हुँदा संरक्षणमा चुनौती थपिने गरेको विभागका सूचना अधिकारी आचार्य बताउँछन्।

प्रकाशित: १४ श्रावण २०७८ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App