coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धनगढीको असारे विकास: कालोपत्रेमा उम्रियो झार

कालोपत्रे सडकमा उम्रिएको झार। तस्बिरः पुष्पराज/नागरिक

असार मसान्तसँगै धनगढी उपमहानगरपालिकाले निर्माण गरेको सडकको नतिजा देखिन थालेको छ। तारानगरमा असार अन्तिम साता बनाइएको कालोपत्रे सडकमा दुई हप्ता नबित्दै दुबो उम्रिनुका साथै प्वाल परेको छ।

धनगढी उपमहानगरपालिकाको लगानीमा निर्माण भएको सडकमा गुणस्तरहीन सामग्री प्रयोग हुँदा झार उम्रिनुका साथै प्वाल परेको हो।   डिलबहादुर बमको घरदेखि तीर्थराज पाठकको घरसम्मको १ सय ६९ मिटर लामो कालोपत्रे सडकका लागि उपमहानगरपालिकाको ७ लाख रुपैयाँ र स्थानीय उपभोक्ताको एक लाख ८० हजार ३ सय ९६ रुपैयाँ लगानी गरिएको थियो।  

कालोपत्रे निर्माण भएको दुई हप्तामै बीच सडकमै झार उम्रिनुका साथै प्वाल परेको स्थानीय डम्मर जोशीले बताए। उनले भने,‘टोलमा कालोपत्रे सडक त बन्यो, तर कमसल सामग्री प्रयोग हुँदा झार उम्रिनुका साथै बीच सडकमै प्वाल परिसक्यो।’ असार मसान्तमा हतारोमा काम गर्दा सडक गुणस्तहीन बनेको उनले बताए। ‘असार मसान्तमा आएर काम गरियो,’ उनले भने,‘बजेट सक्नकै लागि कालोपत्रे गरिँदा त्यसको परिणाम तुरुन्तै देखियो।’  

असार २१ गते कालोपत्रे सुरु गरेर असार २५ गते सकिएको बताउँदै एक स्थानीयले भने,‘हतारोमा कमसल सामग्रीको परिणाम देखिइसक्यो।’ कमसल सामग्री प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदार कम्पनीलाई कहिल्यै कारबाही नहुँदा धनगढी नगर विकासमा ठगिदै गएको उनी बताउँछन्। ‘गलत गर्नेलाई कारबाही गर्नुको साटो झन उसैलाई अर्को ठेक्का र काम दिइन्छ,’ उनले भने,‘त्यसै कारण गतल गर्नेलाई प्रोत्सान मिलिरहेको छ।’    

धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्टले कुनै कुनै ठाउँमा झार उम्रिनु सामान्य भएको बताउँदै उनले भने,‘गाडी नगुड्ने ठाउँमा बनेको कालोपत्रेमा झार उम्रिन्छ भने कहीँ सडकको बेसमा हालिएको गिट्टीमा माटो परेमा पनि झार उम्रिन्छ।’ झार उम्रिनुमा बेसमा हालिएको सामग्री कमसल भएको हुनसक्ने उनले आँकलन गरे।  

सडक निर्माण गरेको दुई हप्तामै झार उम्रनु कमसल वस्तु प्रयोग भएको बताउँदै धनगढी उपमहानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीले भने,‘यस्तो गल तगर्नेलाई कारबाही गरिनुपर्छ।’ सडक निर्माण गरेरै असार मसान्तमै भुक्तानी भइसकेको उनले बताए।  

प्रकाशित: १३ श्रावण २०७८ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App