coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालविवाह घटाउन प्रतिवद्धता

किशोरकिशोरीमाथि हुने दुव्र्यवहार, विभेद र हिंसाविरुद्ध व्यवस्थापन गर्दै उनीहरूको सशक्तिकरण तथा संरक्षण गर्न जिल्ला र गाउँपालिकाका सरोकारवालाहरू एकजुट हुने भएका छन् । जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरको आयोजना र रौतामाई गाउँपालिकाको समन्वयमा सम्पन्न २ चरण्को तालिममा सहभागी सरोकारवालाहरूले किशोरकिशोरीमैत्री काममा एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका हुन् ।

वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा जिड्सले १० देखि १९ वर्षसम्मका किशोरकिशोरीका विभिन्न सवालमा सरकारी तथा गैरसरकारी संस्थालाई राखेर सहजीकरण गरेपछि सरोकारवालामा यो प्रतिवद्धता आएको हो । किशोरलक्षित कार्यक्रमको सहजीककरणमा जिल्ला प्रहरी, इलाका प्रहरी रौतामाई, जिल्ला अदालत, गैरसरकारी संस्था महासंघ शिक्षक, अभिभावकलाई सहजीकरण गरिएको थियो । त्यस्तै गाउँपालिका, किशोरकिशोरी समूह, बार एशोसिएसन, ओरेक, बाल संगठन, युवा सञ्जाल, उद्योग वाणिज्य संघ, मानव अधिकारकर्मी, पत्रकार महासंघ, गाउँपालिका र वडास्तरीय बाल अधिकार समिति, एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी), जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय पनि सहजीकरणमा सहभागी थिए ।

जिल्लाभित्र क्रियासिल सरकारी तथा गैरसरकारी संघसंस्थाका २ दर्जन बढी सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको सहजीकरण तालिममा बालबिबाह, हिंसा, उपेक्षा, दुव्र्यवहार, विभेदलाई न्यूनिकरण गर्दै पीडितलाई तत्काल राहत र न्याय हुने किसिमले सिफारिश प्रणालीलाई जोड दिइएको थियो । तालिममा तालिममा जिल्लामा बालबालिका र किशोरकिशोरीरुको अवस्थाबारेमा विश्लेषण गरी जानकारी गराइएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बालबिबाहका घटना रौतामाई गाउँपालिकाक्षेत्रमा दिनानुदिन बढ्दै गएकाले सो को न्यूनिकरण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै बजेट छुट्याएको बताए । उनले बजेट बिनियोजन गरेर सरोकारवालाको सहकार्यमा बालबिबाहविरुद्ध अभियान सञ्चालन गर्ने तथा केही वर्षभित्रै गाउँपालिकालाई बालबिबाहमुक्त बनाउने प्रतिबद्धता पनि जनाए ।

तालिममा घटना व्यवस्थापनबारे सरोकारवालाहरूलाई सचेत गराई जिम्मेवारीका साथ सिफारिस प्रणालीको माध्यमबाट सवै पक्ष एकजुट भएर पीडितलाई न्याय दिलाउने र राहत दिलाउने हिसावले लागि पर्ने प्रतिबद्धता जनाइएइको छ । त्यसका लागि सरोकारवाला सवै पक्ष मिलेर लाग्नुपर्नेमा गैरसरकारी संस्था महासंघ अध्यक्ष सुमन परियारकोप्रतिवद्धता छ । 

किशोरकिशोरी अधिकारसम्बन्धी विषय विज्ञहरू सागर बुढाथोकी र सनिल कोईरालाको सहजीकरणमा भएको तालिम सदरमुकाममा ३ दिनसम्म चलेको आयोजक संस्था जिडस्का अध्यक्ष पुष्पराज पोखरेलले बताए । उनका अनुसार जाल्पाले सन् २०२१ देखि ३ वर्षका लागि रौतामाई गाउँपालिकाका ८ वटै वडामा किशोरकिशोरी र बालबालिकाको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित: १३ श्रावण २०७८ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App