५ आश्विन २०७८ मंगलबार
समाज

कोरोनाबाट आमा गुमाएका तीन छोरी किरियामा

कोरोना संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी इन्दिरादेवी नरालको मृत्यु भएपछि उनका छोरीहरू १९ वर्षीया अर्चना, १७ वर्षीया अर्पना र १४ वर्षीया आशिका अहिले काजकिरियामा छन्। छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने रुढीवादी परम्परा बदल्न अर्चना र अर्पनाले त कपाल मुण्डन पनि गरेका छन्।

तीन दिदिबहिनी आमाको इच्छा पूरा गर्न छोरासरह काजकिरियामा बसेको बताउँछन्। ‘हामीलाई आमाले सानैदेखि छोराछोरी बराबरी हो भन्नुहुन्थ्यो’, अर्चनाले भनिन्, ‘आमाले छोराछोरीबीच कहिल्यै विभेद सिकाउनुभएन, छोराले गर्ने काम तिमीहरूले पनि गर्न सक्छौं भन्नुहुन्थ्यो, आमाबुबाका लागि छोराछोरी नै हामी तीनजना हौं।’ कान्छी छोरी आशिकाले आमाले आफूलाई कपाल नखौरिनु है भनेकाले नकाटेको बताइन्। उनी पनि दिदीहरूसँगै किरियामा छिन्।

‘जेठी छोरी अर्चनालाई जेठको तेस्रो साता कोरोना संक्रमण भयो’, बुवा गणेशप्रसाद नरालले भने, ‘त्यसपछि पत्नी, म र परिवारका सबै संक्रमित भयौं।’ उनले असार १ गते पत्नीलाई उपचारका लागि गोरखा अस्पताल लगेका थिए। जिल्लामा उचार सम्भव नभएपछि इन्दिरालाई प्रहरी अस्पताल काठमाडौं लगिएको थियो। ‘पत्नीलाई कोभिड भएको थियो, सास फेर्न गाह्रो भएको थियो, शरीरमा अक्सिजन पनि कम थियो’, गणेशप्रसादले भने, ‘भेन्टिलेटरमा राखेर उपचार थालियो, असार ३ देखि म पनि बिरामी परें।’ दुवैजनालाई भेन्टिलेटरमा राखियो। जेठी छोरी अर्चना बुबाआमाको रेखदेखमा लागिन्। आमा गुमाइसक्दा पनि उनले बुवालाई बचाउन मृत्युको खबर सुनाइनन्।  

‘बुवाआमा दुवैलाई कोरोनाले च्याप्दै थियो’, अर्चनाले भनिन्, ‘अन्ततः असार ६ गते हामीले ममीलाई गुमायौं।’ पत्नीको मृत्यु हुँदा पति गणेशप्रसाद भेन्टिलेटरमा थिए।  

उनलाई पत्नीको मृत्यु भएको जानकारी तत्काल दिइएन। छोरीहरूको आग्रहमा अस्पतालले पनि उनलाई यसबारे जानकारी गराएन। ‘मेरो स्वास्थ्य अवस्था झनै कमजोर हुन सक्छ भनेर पत्नीको मृत्युबारे मलाई छोरीहरूले तत्काल भनेनन्, अस्पतालले पनि भनेन’, गणेशप्रसादले भने, ‘असार ६ गते भएको मृत्युको जानकारी मलाई निको भएपछि साउन ३ मा मात्रै गराइयो।’ उपचारका क्रममा उनलाई आठ दिन भेन्टिलेटर र १७ दिन आइसिय्ुमा राखियो। नेगेटिभ रिपोर्ट आएपछि पनि स्वास्थ्य अवस्था हेरेर उनलाई पत्नीको निधन भएको कुरा सुनाइएन। ‘लामो उपचारपछि मलाई निको भयो तर पत्नीलाई बचाउन सकिएन’, उनले भने, ‘मेरो स्वास्थ्य अवस्था पनि निकै जटिल थियो।’

गणेशप्रसाद भुतपूर्व प्रहरी हुन्। उनले उपचारमा केही सहज हुने भन्दै पत्नीलाई प्रहरी अस्पताल लगेका थिए। अस्पताल गएपछि उनी पनि संक्रमित भए। त्यसबीचमा दुई छोरीलाई पनि कोभिड संक्रमण भयो। ‘परिवारलाई नै कोरोना भएपछि निकै चिन्ता भयो’, गणेशप्रसादले भने, ‘रिपोर्ट नेगेटिभ आए पनि अझै कमजोर महसुस भइरहेको छ।’ आमाको मृत्यु असार ६ गते भए पनि बुबा अस्पतालमा भएको र आफूहरू पनि संक्रमित भएकाले निको भएपछि मात्र किरियामा बसेको अर्चनाले बताइन्। उनीहरू आमाको किरियामा बसेको मंगलबार सात दिन भयो। उनीहरूले १३ दिनसम्म किरिया बस्ने बताए।

अन्य धेरै छोरीको आत्मबल बढाउन आफूहरू काजकिरियामा बसेको उनीहरूले बताए। ‘अहिलेको युगमा छोराछोरी सबै बराबरी हो। हामीले आमाको काजकिरिया आफंै गरौँ भनेर सल्लाह ग¥यौं’, अर्पनाले भनिन्, ‘आफन्त र पुरोहितले पनि सपोर्ट गर्नुभयो।’ छोरी पनि छोरासरह हुन् भन्ने सन्देश दिन कपाल खौरेर किरियामा बसेको उनले बताइन्।

‘काकाहरूले तिमीहरू सानै छौं, गाह्रो हुन्छ, पछि गरौला, अहिले हामी बस्छौं भन्नुभएको थियो’, अर्पनाले भनिन्, ‘हामीले हामी सक्छौं भन्यौं। आफैं काजकिरिया गर्ने चाहना छ भने ठीक छ, हुन्छ बस भन्नुभयो।’ छिमेकीहरूले पनि छोरा काजकिरिया बस्दा र छोरी बस्दामा कुनै विभेद गरेका छैनन्। कर्मकाण्ड अनुसार काजकिरियाको विधि चलाइरहेका पण्डित रामेश्वर खनालले भने, ‘छोरीहरूले पनि काजकिरिया गर्न मिल्छ, नानीहरूले मलाई सोधे, मैले मिल्छ भनिदिएँ।’ धर्मग्रन्थमा छोरीले गर्नुहुँदैन भन्ने नलेखिको उनले बताए। उनी भन्छन्, ‘अब समाज परिवर्तन गर्दै जानुपर्छ, त्यसका लागि पनि छोरीहरूले यस्तो सन्देश बाँड्नुपर्छ।’

स्थायी घर गोरखा भए पनि नराल परिवारको बसोबास तनहुँको आँबुखैरेनीमा छ। काजकिरिया भने पुख्र्यौली घर गोरखा देउरालीमा भइरहेको छ। तीन दिदीबहिनी अर्चना बिएड् पहिलो वर्ष, अर्पना कक्षा १२ र आशिका कक्षा १० मा पढ्छन्। गणेशप्रसाद दम्पतीले खाजा पसल गरेर गुजारा चलाउँदै आएका थिए। यो जिम्मेवारी अब बाबुको एक्लो काँधमा आएको छ।

प्रकाशित: १३ श्रावण २०७८ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App