७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण सम्पन्न, उद्घाटन गर्न सिन्धुलीमा राष्ट्रपति आउने

सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा बनेको युद्ध संग्रहालय भवन । तस्बिरः अनिल/सिन्धुली

यहाँको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य सम्पन्न भएको छ। नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं बिजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमका बीच युद्ध संग्रहालयको तत्कालिन रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेसँगै निर्माणले तीब्रता पाएपछि हाल निर्माण सम्पन्न भएको नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।  

करिब चार करोड पचास लाख रुपैयाँ बजेटमा युद्ध संग्रहालय निर्माण भएको बर्दबहादुर गणका गणपती बिजय थापाले जानकारी दिए। इस्ट इण्डिया कम्पनीका सेनालाई पराजित गरि ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले युद्ध संग्रहालय बनाई ऐतिहासिक झल्को दिने संग्रहालयको निर्माण सम्पन्न गरेको हो। 

युद्ध संग्रहालयमा नेपालको रक्षा गर्न विरपुर्खाहरुले प्रयोग गरेका सम्पूर्ण सामग्री रहने गढका गढपति थापाले बताए। 'इतिहासको जगेर्ना गर्दै युवापुस्तालाई इतिहासको महत्व बुझाउनका लागि सिन्धुलीगढी र यहाँ बनेको नेपालकै पहिलो युद्ध संग्रहालयले महत्वपूर्ण भूमिका खेल्नेछ', उनले भने। युद्ध संग्रहालयको आन्तरिक सजावटका केही काम बाँकी रहेको र अन्य सम्पूर्ण काम सम्पन्न भइसकेको उनले बताए। 'स्ट्रक्चरको काम सकिएर भित्रि सजावट हुँदै छ', उनले भने, 'आन्तरिक सजावटपछि यहि साउन १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने भएको छ। युद्धमा प्रयोग भएका घरेलु हातहतियार तथा नेपाल आर्मीसँग भएका युद्ध संग्रहालयमा राख्न मिल्ने पुराना सामग्री राखिएको छ।  

नेपाल एकीकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको सिन्धुलीगढीमा युद्धमा प्रयोग भएका हातहतियारदेखि स्थानीयसँग भएको हातहतियार समेत संकलन भएको नेपाली सेनाले जनाएको छ। 'नेपालकै पहिलो युद्ध संग्रहालयको निर्माण पूरा भएको छ', गणका गणपति थापाले नागरिकसँग भने, 'निर्माण सम्पन्न भएको युद्ध संग्रहालयको उद्घाटन गर्न यहि साउन १३ गते राष्ट्रपति र सेनापति आउने कार्यक्रम तय भएको छ। 

नेपाल एकीकरणका बेला बि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौ कब्जा गर्न ईष्ट ईण्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ। सोही खुसीयालीमा सिन्धुलीगढीलाई अन्तर्राष्ट्रिस्तरमा चिनाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समेत यस युद्ध संग्रहालयले सकरात्मक भूमिका खेल्ने नेपाली सेनाको विश्वास छ। 

निर्माण सम्पन्न भएको युद्ध संग्रहालय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रदर्शन लगायत संग्रहित गरि राखिएको छ। 

करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा छ कोठे एक तले संग्रहालय निर्माण भएको छ। निर्माण सम्पन्न भएको युद्ध संग्रहालय उद्घाटन गर्न राष्ट्रपति आउने कार्यक्रम तय भएको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले बताए।  

सिन्धुलीगढीका अनुसन्धानकर्ता सागरकुमार ढकाल वि.स १८२४ कात्तिक २४ गते इस्ट इण्डिया कम्पनिका कप्तान किनलोकनको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको इतिहास रहेको बताउँछन्। जतिबेला झण्डै एक हजार ६ सय अंग्रेज सेनाहरु हताहत भएका थिए। अंग्रेजहरुविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो बिजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो। 

वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाडौमा ब्यापक लुटपाट गरी बनेपा हुँदै फर्किँदा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी) फर्किएका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरुले दावी गरेका छन्, जुन प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ।

प्रकाशित: १० श्रावण २०७८ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App