८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरको रानीपोखरी पाँच महिनामै बनेको खुलासा

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित संरक्षणरत भक्तपुरको ऐतिहासिक रानीपोखरी ।

एउटा निर्माण कार्य वर्षौमा पनि नसकाएको भनी आलोचना भइरहेको बेला भक्तपुरको ऐतिहासिक रानीपोखरीको निर्माण पाँच महिनाको छोटो अवधिमै निर्माण कार्य सम्पन्न भएको खुलेको छ। भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सैनिक अवासीय स्कुलको प्रांगनमा रहेको ऐतिहासिक पोखरी यति छोटा अवधिमै निर्माण सम्पन्न भएको इतिहास भेटिएको बताएको छ। पोखरीको निर्माण नेपाल संवत् ७५० अर्थात् वि.सं.१६८७ मा तत्कालिन मल्ल राजा जगज्योती मल्लले बनाएको इतिहास छ।  

इतिहासविद् प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठले रानीपोखरीको दक्षिणपट्टि रहेको ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखअनुसार रानीपोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको पाइएको बताए। पोखरीलाई न्हु पुखु (नयाँं पोखरी) को नामबाट चिनिने गरेको बताउँदै इतिहासविद् प्राडा श्रेष्ठले रानीपोखरीको निर्माण पाँच महिनाको छोटो अवधिमै बनेको इतिहास रहेको भेटिएको बताए।  

भक्तपुर नगरपालिकाले अहिले उक्त पोखरीको पुनर्निर्माण गर्दै आएको छ। यसअघि नेपाली सेनाको अधिनमा रहेको यो पोखरीको पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारण जनताको पहुँचमा बनाउने योजानासाथ अहिले पोखरीको पुनर्निर्माण कार्य जारी रहेको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७६ साल जेठ १५ गतेबाट सुरु भएको भक्तपुरको रानीपोखरी पुनःनिर्माण कार्य करिबकरिब अन्तिम चरणमा पुगेको बताए। पुर्खाले सिर्जेको सम्पत्तीलाई मौलिक शैलीमा संरक्षण गर्ने कार्य अनुसार पोखरीको पुनःनिर्माण गरिरहेको उनले सुनाए। रानीपोखरीलाई पुनर्जीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहेको बताउँदै प्राप्त पुराना प्रमाणको आधारमा पोखरी पुनःनिर्माण अघि बढाइएको उनले बताए। पोखरी संरक्षण गरेर नगरपालिका देशकै सम्पत्ती संरक्षण गर्न निरन्तर प्रयासरत रहेको उनले बताए।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले मन्दिर, पोखरी, पाटीपौवालगायतका सांस्कृतिक सम्पदा संरक्षण र जीर्णोद्धार गरी सम्पदालाई पुनःजीवन दिने कार्य गरिरहेको बताउँदै सर्वसाधारण, आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि खुल्ला गर्ने गरी पोखरी पुनःनिर्माण कार्य छिटो सम्पन्न हुनेगरी काम अगाडि बढाइरहेको बताए।

पोखरीका साथै अहिले पोखरी आसपासका ऐतिहासिक सम्पदा पनि जिर्णाेद्धारको काम जारी छ। शनिबार मात्रै पोखरीको नजिकै रहेको एउटा पाटीको पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो। ६१ लाख रूपैयाँको लागत इष्टमेटमा पाटीको पुनर्निर्माण सुरु गरिएको थियो।

प्रकाशित: १० श्रावण २०७८ १२:३२ आइतबार

रानीपोखरी निर्माण