६ वैशाख २०८१ बिहीबार
समाज

मेयर–उपमेयर नमिल्दा थलिँदै चन्दननाथ

मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपाने

चन्दननाथ नगरपालिकाले महिला नेतृत्व पाउँदा स्थानीय खुसी थिए। पहिलोपटक महिला मेयर र उपमेयर निर्वाचित गरेका नगरवासीले तीव्र गतिमा नगरको विकास हुने आशा राखेका थिए। सामाजिक, आर्थिक, भौतिक विकास भएर समृद्धिको यात्रामा नगर अघि बढ्ने विश्वास स्थानीयले राखेका थिए। तर स्थानीयको आशा र विश्वास चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। न सदरमुकामको फोहोर समयमै उठ्न सकेको छ न कुनै देखिने खाले विकास भएको छ। केवल नगरपालिका विवादको चंगुलमा फसेको छ।

चार वर्षदेखि मेयर र उपमेयरबीचको विवादले हरेक काम प्रभावित भएको स्थानीय बताउँछन। मेयर र उपमेयर नमिल्दा कर्मचारीलाई काम गर्न पनि कठिन र सेवाग्राहीलाई सास्ती भएको छ। मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपाने (महत ) बीचको विवादका कारण नगरको विकास प्रभावित भएको हो। समयमै बजेट नआउने र पारित नहुने समस्याले नगरपालिका ग्रसित छ।

चालु आर्थिक वर्षको बजेट पनि आउन सकेको छैन। बजेटका विषयमा मेयर र उपमेयरबीच मतभिन्नता छ। मेयर सेजुवाल भन्छिन्, ‘बजेट पारित भइसक्यो।’ तर उपमेयर न्यौपाने बजेट नै आउन नसकेको बताउँछिन्। नयाँ आर्थिक वर्ष प्रारम्भ भइसकेको छ। असारको १० गते बजेट, नीति कार्यक्रम ल्याएर मसान्तसम्म पारित भइसक्नुपर्छ। तर नगरपालिकाले बजेट नै ल्याउन सकेको छैन। नयाँ आर्थिक वर्ष प्रारम्भसँगै विकासलगायतका काम अघि बढाउनुपर्नेमा त्यसो हुन सकेको छैन। सबै काम ठप्प छन। मेयर–उपमेयरबीचको विवादले नागरिकता सिफरिसदेखि घरजग्गा राजस्व संकलनको काम पनि प्रभावित भएको छ।

नीति कार्यक्रम र बजेट तर्जुमा गर्न बसेको बैठकमा उपमेयर उपस्थित हुन नमानेकाले समस्या आएको मेयर सेजुवाल बताउँछिन्। लामो समयसम्म कार्यपालिका बैठकमा उपमेयर उपस्थित नभएपछि असार ३१ गते बहुमतका आधारमा बजेट, नीति र कार्यक्रम पारित गरिएको दाबी मेयर सेजुवालको छ। उपमेयर न्यौपाने भने औपचारिक रुपमा नगरसभा डाकेर बजेट, नीति र कार्यक्रम पारित नभएको बताउँछिन्। उनले भनिन्, ‘दुईतीन आर्थिक वर्षदेखि सार्वजनिक सुनुवाइ हुन सकेको छैन। रेडबुकअनुसार योजना कार्यान्वयन भइराखेका छैनन्। अपारदर्शी रुपमा बजेट सक्ने कामले गर्दा नगरपालिका थला पर्न थालेको छ। यी विषयमा जबसम्म छलफल भएर टुंगो लाग्दैन तबसम्म न नगरसभा हुन्छ न बजेट, नीति र कार्यक्रम नै पारित हुन्छ।’ नगरवासीले भोग्नुपरिरहेको समस्या सम्बोधनका लागि आफूले आवाज उठाइरहेको उनले दाबी गरिन्।

नगरवासी माधवप्रसाद उपाध्याय नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको बताउँछन्। ‘कार्यालयमा पुगेका सेवाग्राही काम नभएर फर्कनुपरिरहेको छ। यो दुखद हो,’ उनले भने, ‘जग्गाको राजस्व तिर्न आएको दुई दिन भयो। दुई दिन नै काम हुन सकेन। दुःख मात्र पाइएको छ। मेयर र उपमेयर आन्तरिक किचलोमा लाग्नुभन्दा जनताको सेवामा लाग्दा उपयुक्त हुन्छ।’

राजस्व परामर्श समितिको बैठक बस्न नसक्दा राजस्व दररेट अनुमोदन भएको छैन। यसले गर्दा कुनै पनि शीर्षकको राजस्व संकलन हुन नसकेको राजस्व शाखाका नायब सुब्बा कमल भण्डारीले बताए। समयमै बजेट पारित हुन नसक्दा समस्या आएको बताइएको छ।

चन्दननाथ नगरपालिका–८ का वडाध्यक्ष नरजित दमाई मेयर र उपमेयरलाई आपसी विवाद निरुपण गरेर समग्र नगरपालिकाको हितमा लाग्न आग्रह गरिरहेको बताउँछन्। उनका अनुसार मेयर र उपमेयरबीचको विवादका कारण नगरपालिका थलिँदैछ।

प्रकाशित: ९ श्रावण २०७८ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App