७ वैशाख २०८१ शुक्रबार
समाज

कटारी नगर फुटाउने प्रस्ताव मुख्यमन्त्री कार्यालयमा

उदयपुरको कटारी नगरपालिका टुक्र्याएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका पाँचवटा वडाको अलग्गै गाउँपालिका गठन गर्न पाऊँ भन्ने मागदाबीसहितको प्रस्ताव प्रदेश सरकारसमक्ष पुगेको हो। 

नगरका ९, १०, ११, १३ र १४ नं. वडावासीले छुट्टै गाउँपालिका बनाउन गरेको मागलाई असार १७ गते सम्पन्न सातौं नगरसभा अधिवेशनले पारित गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नगरापालिकाको सिफारिससहित आफूहरूको मागपत्र प्रदेश मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको गाउँपालिका माग सहजीकरण समितिका संयोजक अम्बर मगरले बताए।  

उनले भौगोलिक कठिनाइका कारण पहाडी भेगका पाँच वडावासी आफूहरूलाई नगरपालिका केन्द्र कटारी धाउन, सेवासुविधा उपभोग गर्न असहज भएकाले पाँचवटा वडा मिलेर अलग्गै गाउँपालिका बनाउन खोजेको बताए। नगर केन्द्र टाढा परेकाले विकास निर्माणमा धेरै बाधा पुगेको र दुर्गम गाउँपालिकाभन्दा पनि पछि परेको भन्दै पाँचवटै वडावासीको पटकपटकको छलफलबाट अलग्गै स्थानीय तह गठन गर्ने आफूहरूको मागलाई नगरसभाले पारित गरेर सिफारिससहित दिएको ज्ञापनपत्र मंगलबारै मुख्यमन्त्री शेरधन राईलाई बुझाएको संयोजक मगरले बताए। मुख्यमन्त्री राईले प्रदेशबाट आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको पनि उनले बताए।  

कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले पहाडी भेगका पाँचवटा वडा भौगोलिक रूपमा विकट र दुर्गम रहेकाले विकास निर्माण र सेवासुविधा प्रवाहमा असहज भएको भन्दै अलग्गै गाउँपालिका बनाउने माग गरेबमोजिम नगरसभाले पारित गरेर प्रक्रिया अघि बढाइदिएको बताए। जनतालाई सहज सेवासुविधा पुग्छ भने नगर जनप्रतिनिधि बाधक नबन्ने भनेर सिफारिस गरिदिएको उनले बताए। मेयर श्रेष्ठका अनुसार २०७२ को संविधानको धारा २९५ मा व्यवस्था भएअनुसार वडाहरू छुट्टिएर गाउँपालिका निर्माण गर्न मिल्ने प्रावधानलाई टेकेर सिफारिस गरिएको हो। वडावासीको प्रस्ताव नगरसभाले पास गरेर प्रदेश सरकारसमक्ष सिफारिस गरेको र अब प्रदेशले बाँकी कार्य अघि बढाउने उनले बताए।  

कटारी ११ का वडाध्यक्ष सरोज बुढाक्षेत्रीले माथिल्लो भेगका वडाहरूलाई कटारी बजारमा रहेको मुकाम आउजाउ गर्न धेरै टाढा परेको र सामान्य गाउँपालिकाजत्ति पनि विकासका पूर्वाधार निर्माण हुन नसकेकाले नगरपालिका बन्न लायक नदेखेर छुट्टै स्थानीय तह बनाउन माग गरेको बताए। उनले वडावासीलाई सेवासुविधा लिन र विकास निर्माणबाट पछि परेकैले गाउँपालिका बनाउन चाहेको बताए। छुट्टै गाउँपालिका बनाउन चाहेका पाँचवटा वडाको भौगोलिक क्षत्रफल १ सय २५ वर्ग किलोमिटर छ भने जनसंख्या १८ हजार ५ सय ८६ रहेको नगरपालिकाले जनाएको छ। उनीहरू छुट्टै गाउँपालिका बन्दा पनि कटारी नगरपालिका कायम रहन कानुनी रूपमा कुनै बाधा नपर्ने पनि नगरपालिकाले जनाएको छ।

‘पाँचवटा वडाले अलग्गै गाउँपालिका बनाए पनि हाम्रो नगरपालिका कायम रहन्छ,’ उपमेयर भीमकुमारी राउतले भनिन्, ‘अर्को गाउँपालिका बनाउँदा पनि कटारी नगरपालिका कायम रहन भूगोल, जनसंख्या र सबै पूर्वाधार पुग्ने भएकाले स्थानीय तह पुन:संरचना मापडण्डका आधारमा उहाँहरूको माग सम्बोधन गरिएको हो।’ 

प्रकाशित: ९ श्रावण २०७८ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App