१५ चैत्र २०८० बिहीबार
समाज

कोरोना संक्रमण दर नघटेपछि धरानमा अनुगमन

धरानमा बजार अनुगमनको क्रममा मास्क विना हिँडेकालाई वितरण गरिँदै । तस्बिर : रोहित राई

निषेधाज्ञा खुकुलो पारिएपछि धरानमा कोरोना संक्रमणका दर बढेपछि स्थानीय सरकारसँगै व्यापारीहरुमा चिन्ता छाएको छ।  

धरानमा फेरि कडाईका साथ निषेधाज्ञा गर्नुपर्ने माग पनि बढीरहेको छ। तर, लामो निषेधाज्ञापछि भर्खर बजार खुला भएकोमा राहत महसुस गरेका व्यापारीहरु भने चिन्तित छन्। धरानमा पछिल्लो समय दैनिक ५० भन्दा बढी संक्रमितहरु थपिइरहेका छन्। शुक्रबार ७३ जना संक्रमित थपिएको धरानमा अघिल्लो दिन बिहीबार ४७ जना, बुधबार ७१ जना र मंगलबार ६३ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण दर उच्च हुँदै गएपछि उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउन अनुगमन सुरु गरेको छ।  

फेरि जनजीवन तथा व्यापार व्यवसाय ठप्प बनाउने गरि लकडाउन वा निषेधाज्ञा गर्नुभन्दा तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नु उपयुक्त हुने भएकोले अनुगमन सुरु गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन्। ‘धरानमा संक्रमणको दर बढीरहेको छ, यसले गर्दा फेरि निषेधाज्ञा गर्नुपर्छ भन्ने दबाब परिरहेको छ,’ उनले भनिन्,‘बल्ला जनजीवन सहज हुँदै गएको थियो, फेरि लकडाउन गर्नुपर्यो भने के होला? त्यसैले सबैले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरौं भन्ने अग्रह, सचेतना गराउन अनुगमन गरिएको हो।’

सुनसरी उद्योग वाणिज्य संघका प्रनिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका निकायहरुसहितको टोलीले धरानको भिडभाड हुने भानुचोक, सब्जी मण्डी, दशीलाइन, माछाभौडीलगायत स्थानमा अनुगमन गरेको थियो। सो क्रममा मास्क विना हिँडेका व्यक्तिहरुलाई मास्क लगाउन आग्रह गर्दै वितरणसमेत गरिएको थियो। अनुगमन टोलीले व्यापारीहरुको एन्टिजेन परीक्षण पनि गरेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। 

‘बढी भिडभाड हुने क्षेत्रका ७१ जना व्यापारीहरुको रेण्डम एन्टिजेन परीक्षण गर्यौ, त्यसमध्ये १ जना महिला र २ जना पुरुषको रिपोर्ट पोजेटिभ आयो,’ उनले भने,‘उहाँहरुलाई घरमा सुरक्षितसाथ बस्न र परिवारको पनि जाँच गर्न आग्रह गरेका छौं।’

उपमहानगरका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले संक्रमणको दरमा कमी नआएपछि स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउन अनुगमन थालिएको बताए। पहिलो दिन मास्क विना हिँड्डुल गर्नेहरुलाई मास्क वितरण गर्दै सम्झाई बुझाई गरिएको र अर्को दिनदेखि जरिवाना गरिने उनले बताए। ‘सकेसम्म घरबाट बाहिर ननिस्कन भनिरहेका छौं। मास्क नलगाउनेलाई पनि मास्क लगाउनुस् भन्दैछौं। भोलिदेखि अनुगमन गर्दा मास्क विना हिँडेको भेटिए ईलाका प्रशासनमार्फत जरिवाना गराउँछौं,’ उनले भने।

प्रकाशित: ८ श्रावण २०७८ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App