८ वैशाख २०८१ शनिबार
समाज

विराटनगरस्थित भानु कलाकेन्द्रको अस्तित्व संकटमा

जग्गा विवादका कारण भानु कलाकेन्द्रको अस्तित्व संकटमा परेको गुनासो गर्दै संस्थाकी अध्यक्ष माया पौडेललगायत । तस्बिरः नागरिक

कलाको धरोहरका रुपमा रहेको विराटनगर स्थित भानु कलाकेन्द्र संकटमा परेको छ। जग्गा विवादका कारण ६५ वर्ष पुरानो कला साधनाको केन्द्रको अस्तित्व संकटमा परेको हो।

भानु कलाकेन्द्रकी अध्यक्ष माया पौडेलले लामो समयदेखि कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको भानु कलाकेन्द्र जग्गा विवादका कारण मासिने अवस्थामा पुगेको बताइन्। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी भानु कलाकेन्द्रको अस्तित्व जोगाउन सबैको सहयोग आवश्यक रहेको बताइन्।  

लामो समयदेखि कला केन्द्रले भोगचलन गर्दै आएको जमिन केही व्यक्तिहरूले जालसाजी गरी हडप्ने प्रयास गरिरहेको पौडेलको भनाइ छ। उनले भनिन्, ‘केही व्यक्तिहरूले नियोजित रुपमा विराटनगरको ऐतिहासिक धरोहरका रुपमा रहेको भानु कलाकेन्द्र मास्ने प्रयत्न गरिरहेका छन्।’ भानु कलाकेन्द्र आफूहरूको मात्रै नभई विराटनगरवासीकै सम्पत्ती भएकाले भानु कलाकेन्द्रको रक्षा गर्न नसके भावि पुस्ताले समेत धिक्कार्ने उनले बताइन्। भानु कलाकेन्द्रले थुप्रै राष्ट्रिय कलाकार जन्माइसकेका कारण विराटनगरको मात्रै नभई राष्ट्रकै धरोहरको रुपमा रहेको पौडेलको दाबी छ।  

विराटनगरका कलाकार चतुर्भुज आशावादीले भानु मोरङ सांस्कृतिक समितिका रुपमा २०१४ सालमा भानु कलाकेन्द्र स्थापना गरेका थिए। २०१९ सालमा संस्था विधिवत रुपमा दर्ता भएको थियो। २०४० सालको नापीले भानु कलाकेन्द्रको नाममा जग्गा नापेको थियो। भानु कलाकेन्द्रले चर्चेको जग्गा सन्सरी माइस्थानको जग्गा भएको दाबी गर्दै स्थानीय कृष्ण मास्केले २०४४ सालमा अदालतमा मुद्दा हाले। अदालतले भानुमोरङ सांस्कृतिक समिति( भानु कलाकेन्द्र)को पक्षमा फैसला गर्‍यो।  

अदालतको फैसलाका आधारमा जिल्ला मालपोत कार्यालय मोरङले २०५३ सालमा संस्थाको नाममा जग्गाधनी पुर्जा प्रदान गरेको पौडेलले बताइन्। उनका अनुसार तर, पछि सोही समूहले भद्रपुरका अर्कै जग्गा दाता खडा गरी राधाकृष्ण मन्दिरको नामबाट अदालतमा जग्गा दाबी गर्दै मुद्दा हाल्यो। सो मुद्दा भानु कलाकेन्द्रले हार्‍यो। त्यसपछि भानु कलाकेन्द्रले पुनरावेदन गरेपनि पुनरावेदन अदालतले जिल्लाकै फैसलालाई सदर गर्‍यो।  

हाल जग्गा विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। भानु कलाकेन्द्रले भोगचलन गर्दै आएको जग्गा प्रप्त नभए ६५ वर्ष पुरानो विराटनगरको धरोहरको अस्तित्व समाप्त हुने भएकाले भानु कलाकेन्द्र जोगाउन आवश्यक रहेको अध्यक्ष पौडेलले बताइन्। भानु कलाकेन्द्रको जग्गा फिर्ता गरेर बहु सांस्कृतिक केन्द्रका रुपमा भानु कलाकेन्द्रलाई स्थापित गर्ने आफ्नो उद्देश्य रहेको पौडेलले बताइन्।

प्रकाशित: ८ श्रावण २०७८ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App