७ वैशाख २०८१ शुक्रबार
समाज

जोखिमयुक्त छन् ग्रामीण सडक

गत असार २० गते बैतडीको सिगास गाउँपालिका–३ का ६४ वर्षीय रामसिंह धामी उपचारको लागि डडेल्धुरा जाँदै थिए। अस्पताल नपुग्दै जिप दुर्घटनामा उनले ज्यान गुमाए। उपचारका लागि हिँडेका धामीसहित गाउँका अन्य २ जनाले पनि सोही दुर्घटनामा ज्यान गुमाए भने १२ जना घाइते भए। कच्ची सडकमा जिप अनियन्त्रित भएपछि दुर्घटना भएको हो। झन सिकारु चालकले अनियन्त्रित भएको जिपलाई नियन्त्रण गर्न सकेनन्।

जिल्लाका अधिकांश दुर्घटना ग्रामीण सडकमै हुने गरेका छन्। कच्ची धुलाम्मे सडक त्यसैमाथि डोजरले काटेकै कारण जोखिमयुक्त बनेका छन्। गत वैशाख २१ गते पञ्चेश्वरको गणमेश्वरमा भएको जिप दुर्घटनामा ५ जनाले ज्यान गुमाए। वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्द भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने क्रममा भएको जिप दुर्घटनामा एकै गाउँका ५ जनाले ज्यान गुमाएका थिए। सो दुर्घटनामा परी घाइते भएकाहरु अझै पनि अस्पतालमै छन्।

सवारी दुर्घटनाको तथ्यांक हेर्दा कच्ची सडकमा बढी दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझाले बताए। गत आर्थिक वर्षमा अहिले १५ वटा सवारी दुर्घटनामध्ये १० वटा कच्ची सडकमै भएको प्रहरीको तथ्यांक छ। गत वर्षमा सवारी दुर्घटनाबाट ३४ जनाको ज्यान गएको छ भने ७८ जना घाइते भएका छन्। रुट परमिट नभएका सडकहरुमा समेत सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको प्रहरीको भनाइ छ। नियमन गर्ने निकायले पनि जोखिमयुक्त सडकमा यातायातका साधन चलाउन रोक्नुपर्ने स्थानीय बताउँछन्। जोखिमयुक्त सडकमा चालकले जबरजस्ती गाडी गुडाउँछन् भने यात्रु पनि आफ्नो सजिलोको लागि गाडीमै यात्रा गर्ने गरेकाले पनि दुर्घटना बढ्दै गएको पुर्चौडी नगरपालिका–१ का गणेश धामी बताउँछन्।

कतिपय ठाउँमा चालकको लापरबाहीले सडक दुर्घटना भएका छन् भने कतिपय ठाउँमा सडकका कारण दुर्घटना भएका छन्। कच्ची सडकहरुमा ग्रेड नमिलेका, मोड सुधार नभएकाले पनि सवारी दुर्घटना बढी हुने गरेको पाइएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए। यस्तै क्षमता भन्दा बढी यात्रु बोक्ने परीपाटीले पनि सडक दुर्घटना बढ्दै गएका छन्।

स्थानीय तहहरुले जथाभावी खनेका सडकहरु स्तरोन्नती नहुँदा सवारी दुर्घटना बढ्दै गएका बताइएको छ। ग्रामीण कच्ची सडकहरुमा ट्राफिक नियम पालना नगर्ने, सवारी चालक अनुमति नभएका सिकारु चालकहरुले सवारी साधन चलाउने लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएको प्रहरीको भनाइ छ। रुट परमिट नलिएका ग्रामीण सडकमा दुर्घटना हुँदा केही महिना स्थानीय प्रशासनले सवारीसाधन चलाउन नदिए पनि फेरि उही अवस्था दोहोरिने गरेको उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए। ‘कच्ची सडक ग्रेडसमेत मिलाएको हुँदैन,’ उनले भने, ‘यस्तो सडकमा बर्खामा झन जोखिम हुने गरेको छ।’

प्रकाशित: ८ श्रावण २०७८ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App