१६ चैत्र २०८० शुक्रबार
समाज

इटहरीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दो

मौसम परिवर्तनसँगै सुनसरीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेको छ। विशेषगरी, जिल्ला अस्पताल इनरुवामा भाइरल ज्वरोका बिरामीको बढी चाप हुने गरेको छ।  

दुई दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको जिल्ला अस्पताल इनरुवा सुनसरीका प्रशासन प्रमुख रामकुमार मेहताले बताए। ‘वर्षातले गर्दा मौसममा आएको परिवर्तनसँगै जिल्ला अस्पताल इनरुवामा भाइरल ज्वरोका बिरामी बढी सङ्ख्यामा आउने गरेका छन्,’ उनले भने। इनरुवा अस्पतालमा भाइरल ज्वरोका बिरामी ७० जनासम्म आउने गरेका छन्।  

जिल्ला अस्पताल इनरुवा प्रशासन शाखा प्रमुख मेहताका अनुसार भाइरल ज्वरोका बिरामीमध्ये अस्पतालमै भर्ना गर्नुपर्नेको सङ्ख्या भने कमै छ। शहरी क्षेत्रमा मात्रै नभएर ग्रामिण क्षेत्रमा पनि यसको संक्रमण उच्च देखिएको छ।

इनरुवासँगै आसपासका क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। सुनसरी सदरमुकाम इनरुवासहित आसपासका भोक्राहा-नरसिंह गाउँपालिका, कोशी, हरिनगर र देवानगञ्ज गाउँपालिका र दुहवी तथा बराहक्षेत्रको तल्लो क्षेत्र प्रकाशपुरलगायतका क्षेत्रमा रहेका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक पाँच सयभन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन्।

भाइरल ज्वरोका बिरामी बढेसँगै खानपान र सरसफाईमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्य चौकी भोक्राहा(नरसिंह वडा नं. ७ का इन्चार्ज रामाशंकर साहले बताए। ‘यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने।

प्रकाशित: ७ श्रावण २०७८ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App