१६ चैत्र २०८० शुक्रबार
समाज

भारतमा संक्रमण बढेपछि नेपालगन्जमा त्रास

नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत सीमा नाका । तस्बिर: नागरिक

भारतमा कोरोना भाइरस महामारीको संक्रमण बढेपछि नेपालगन्जमा त्रास फैलिएको छ। यसअघि गत वैशाखमा कोरोना महामारीको दोस्रो लहर पनि भारतबाटै भित्रिएको थियो। नेपाल–भारत सीमा खुल्ला रहेको र आवत–जावत गर्ने ब्यक्तिको स्वास्थ्य जाँचमा कडाई नगरिएकाले भारतको महामारी सहजै नेपाल भित्रिन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।  

‘भारतसँग जोडिएको सीमा नाका खुल्ला छ, भारतमा महामारी बढिरहँदा रुपैडिहा हुँदै दिनहुँ ठूलो संख्यामा नेपालगन्ज भित्रिरहेका छन्, भारतबाट दैनिक रुपमा भित्रिने मान्छेबाट नै कोरोना भाइरस फेरि आउने निश्चित छ,’ एक स्वास्थ्यकर्मीले भने। प्रत्यक्षदर्शीका अनुसार भारतबाट दिनहुँ भित्रिने मानिसको प्रभावकारी रुपले स्वास्थ्य जाँच गरिएको छैन। भारतका विभिन्न स्थानबाट फर्केका नेपाली नागरिक सीमाबाट निर्वाध रुपमा भित्रिरहेका छन्। भारतबाट आउने ब्यक्ति अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक हुन्।  

ईलाका प्रहरी कार्यालय जमुना बाँकेका अनुसार भारतबाट अचेल दैनिक रुपमा ५ सयदेखि ६ सयको हाराहारीमा नेपाली मजदुर नेपालगन्ज भित्रिरहेका छन्। ईप्रका जमुनाहाका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) पूर्ण खत्रीले दैनिक रुपमा ५ देखि ६ सयको हाराहारीमा नेपाली मजदुर भित्रिने गरेको जानकारी दिए। ‘भारतको दिल्ली, चण्डिगढ, गुजरात, मुम्बई जस्ता ठाउँमा काम गर्न पुगेका मजदुर अहिले फर्किरहेका छन्,’ उनले भने, ‘आउने मान्छे आईरहेका छन्, यताबाट भारततिर पनि गईरहेका छन्।’

कोरोना महामारीको तेस्रो लहर आउँछ भन्ने कुरा उठिरहेको छ, यस्तो बेलामा भारतमै महामारी बढ्यो, यसको संकेत त्यति राम्रो छैन: स्वास्थ्य प्रमुख धिरजंग शाह  

कोरोना महामारीको तेस्रो लहर पुनः आउने र त्यसले सबैभन्दा बढी असर बालबालिकालाई गर्ने स्वास्थ्य क्षेत्रका विज्ञले औल्याईरहेका छन्। अहिले भारतमा पुनः महामारी बढेपछि बाँकेस्थित स्वास्थ्य क्षेत्र सम्वद्ध अधिकारीहरु सचेत भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाह भारतमा फैलिएको महामारी नेपालगन्जमा सहजै भित्रिन सक्ने बताउँछन्। भारतमा बढीरहेको महामारीले फेरि त्रसित बनाईरहेको उनले बताए।  

‘कोरोना महामारीको तेस्रो लहर आउँछ भन्ने कुरा उठिरहेको छ, यस्तो बेलामा भारतमै महामारी बढ्यो, यसको संकेत त्यति राम्रो छैन,’ उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई असर गर्ने खतरा रहेको हुँदा हामीले पुर्व तयारी गरिरहेका छौं।’ पूर्वतयारी स्वरुप बाल विशेषज्ञसँग अभिमूखीकरण, छलफल र कोभिड वार्ड विस्तारको काम थालिएको शाहले सुनाए। यस्तै भारतबाट भित्रिने नागरिकको जमुनाहा नाकामा स्वास्थ्य जाँच पनि सुरु गरिएको बताए।  

जमुनाहामा हेल्थ डेस्क राखियो

भारतबाट भित्रिने नागरिकको स्वास्थ्य जाँचका लागि नेपाल–भारत सीमा नाका जमुनाहामा फेरि स्वास्थ्य जाँच सुरु गरिएको छ। नयाँ भवन निर्माण गरेर नेपालगन्ज उपमहानगरपालिकाले पुनः सेवा सुरु गरेको हो।  

यही मंगलबारबाट सञ्चालनमा आएको हेल्थ डेस्कको उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

कोरोना भाइरसका साथै डेंगु, मलेरिया लगायतका रोगको हेल्थ डेस्कमा परीक्षण गरिने नगर प्रमुख डा. राणाले जानकारी दिए। ‘देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगन्जमा पहिलो पटक हो,’ उनले भने। हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मी खटिएको नगर उपप्रमुख थापाले बताइन्। ‘भारतबाट फर्किने ब्यक्तिको स्वास्थ्य परीक्षण गरिनेछ,’ उनले भनिन्। 

५१ लाख ३१ हजार रुपैयाँको लागतमा करिव तीन महिनामा भवन निर्माण कार्य सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए।

प्रकाशित: ७ श्रावण २०७८ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App