१५ चैत्र २०८० बिहीबार
समाज

भक्तपुर आएका कोरियाली राजदूत पुगे जुजु धौ बनाएको हेर्न

भक्तपुरको दही देशभरि मात्रै होइन, संसारमै प्रख्यात छ। यही कारण होला बिहीबार भक्तपुर पुगेका नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले भक्तपुरको जुजु धौ (दही) मात्रै खाएनन्, दही बनाएको पनि हेरे। 

राजदूत मानका साथै सल्लाहकार किम जोन ह्योक र एम्बासी अफिसर पिक जिन ह्योकको टोली भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतका टोलीसँग भक्तपुरको दही बनाउने कला हेर्न पुगेका थिए। उनीहरुले दही बनाउने कलाको अभिरुचिपूर्वक स्थलगत अवलोकन गरेका थिए। अवलोकनका क्रममा राजदूत मानले जुजु धौ बनाउने विषय र यसका विशेषताबारे विभिन्न जिज्ञासा राखेका थिए।  

सोही क्रममा उनीहरुले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन भ्रमण गरेका थिए। टोलीले ख्वप इन्जिनियरिङ कलेजका पुस्तकालय, प्रयोगशालाहरुलगायत विभिन्न पक्षको पनि अवलोकन गरेका थिए।  

सो क्रममा नेमकिपा बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईं, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। नगर प्रमुख प्रजापतिले राजदूत मानलाई मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए।

यसअघि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र मानबीच नगरपालिका कार्यालय व्यासीमा भेटघाट भएको थियो। प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरमा राजदूत मानलाई पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरेका थिए।  

भेटमा राजदूत मानले सांस्कृतिक एवम् ऐतिहासिक नगर भक्तपुरको मैत्रीपूर्ण भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए। प्रजग कोरियाले अपनाएको सतर्कताले अहिलेसम्म देशमा एकजना पनि कोभिड संक्रमण नदेखिएको र भक्तपुर नपाले कोरोना रोकथाम र नियन्त्रणमा गरिरहेको प्रयासको राजदूत मानले प्रशंसा गरे।  

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको घरदैलो नर्सिङ सेवाजनमुखी रहेको बताउँदै उनले नगरवासीको जीवनस्तर उकास्न नगरपालिकाले खेलेको भूमिका उल्लेखनीय रहेको बताए।

प्रकाशित: ७ श्रावण २०७८ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App