१६ चैत्र २०८० शुक्रबार
समाज

बैतडीको शर्माली गढीमा पदमार्ग निर्माण

बैतडीको शिवनाथ गाउँपालिका २ मा पर्ने ऐतिहासिक शर्माली गढीमा पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ। गोर्खाली सेनाले कुमाउ विजय गर्ने बेलाको महत्वपूर्ण किल्लाको रुपमा रहेको शर्माली गढीमा पुग्नका लागि नेपाली सेनाले पदमार्ग निर्माण गरेको हो।

१५ लाख रुपैयाँको लागतमा नेपाली सेनाले २ सय ६३ मिटर लामो पदमार्ग निर्माण गरेको बैतडीस्थित हनुमानध्वज गुल्मका सहायक गुल्मपति गिरिजा भट्टले जानकारी दिए। शर्माली गढीको प्रचारप्रसार र संरक्षणका लागि पदमार्ग निर्माण गरिएको हो। गत पुसदेखि पदमार्ग निर्माण सुरु गरी वैशाखमा निर्माण कार्य सम्पन्न भएको उनले बताए।

यस्तै, शिवनाथ गाउँपालिकाले गढीको ८ सय मिटरजति भागमा तारबारले घेरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। नेपाली सेनाले निर्माण गरेको पदमार्ग गाउँपालिकालाई हस्तान्तरण भइसकेको छ।

सन् १७९० मा गोर्खाली सेनाले कुमाउ विजयका लागि लडाई लड्दा शर्माली गढीमा गोर्खाली सेना बसेको स्थानीय जानकार बताउँछन्। डडेल्धुरामा रहेको अमरगढी किल्लाको सहायक किल्लाको रुपमा शर्माली गढी रहेको स्थानीय बताउँछन्। गोर्खाली सेनाले सन् १७९० मा कुमाउ विजयी अभियान चलाउँदा शर्माली गढीलाई मुख्य किल्लाको रुपमा लिएर सेना तैनाथ गरेको इतिहास रहेको छ।

तत्कालिन समयमा सेनाले लडाईको बेला प्रयोग गरेका खुँडा खुकुरी समेत त्यो गढीमा केही वर्ष पहिला फेला परेको नागार्जुन माविका प्राचार्य महामलसिंह साउँदले बताए। उनले भने, ‘पछिल्लो समयमा शर्माली गढीका पर्खाल, तत्कालिन समयमा बनाइएका प्रवेशद्वार सबै जीर्ण भएका छन्।’

शर्माली गढीबाट महाकाली नदी पार गरेर कुमाउ जान गोर्खाली सेनालाई सजिलो भएकाले शर्माली गढीमा सेनाको टुकुडी बसेको स्थानीय बताउँछन्। शर्माली गढी ऐतिहासिक किल्ला भएकाले यसको संरक्षण सम्वर्द्धनमा सबैले ध्यान दिनु पर्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउँदले बताए।

प्रकाशित: ७ श्रावण २०७८ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App