८ वैशाख २०८१ शनिबार
समाज

'यौनिक अल्पसंख्यकको सुरक्षामा सरकार गम्भीर छ'

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीसँग यौनिक अल्पसंख्यकहरु । तस्बिर: नगेन्द्र/नागरिक

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले यौनिक अल्पसंख्यकको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। उनले यौनिक अल्पसंख्यकहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम सरकारको रहेको बताए।

‘यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सक्नु भएको छैन, खुलेकाहरु पनि असुरक्षित हुनुहुन्छ,’ बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफल कार्यक्रमा मन्त्री बुढाक्षेत्रीले भने, ‘तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा सरकार गम्भीर छ।’  

मन्त्री बुढाक्षेत्रीले कर्णाली प्रदेशभरी रहेका यौनिक अल्पसंख्यकको तथ्याङ्क उपलब्ध गराउन सरोकारवालाहरुसँग आग्रह गरे। ‘कर्णालीभरी कति जना यौनिक अल्पसंख्यक हुनुहुन्छ, त्यसको तथ्याङ्क भए सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउन सहज हुन्थ्यो,’ मन्त्री श्रेष्ठले भने, ‘तथ्याङ्क उपलब्ध गराउने काममा सरोकारवाला संघ–संस्थाको सहयोग मन्त्रालयलाई आवश्यक छ।’

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले यौनिक अल्पसंख्यकहरुका लागि चालू आर्थिक वर्षमा सीपमूलक तालिमको व्यवस्था गरिएको बताए। उनले यौनिक अल्पसंख्यकहरुको तथ्याङ्क नहुँदा काम गर्न मन्त्रालयलाई असहज भइरहेको बताए। सचिव काप्रीले यौनिक अल्पसंख्यकहरुका बारेमा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औल्याए।

निलहिरा समाजका भूमिका श्रेष्ठले विद्यालय तहदेखिनै यौनिक अल्पसंख्यकहरुको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याइन्। ‘घर, परिवार र समाजको डरले यौनिक अल्पसंख्यकहरु अझै पनि खुल्न सक्नु भएको छैन,’ उनले भनिन्, ‘त्यसका लागि सचेतना कार्यक्रम फैलाउन जरुरी छ।’

ब्लुडाइमण्ड सोसाइटीका मनिषा ढकालले गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरुले पाउन नसेकेको बताइन्। उनले कोरोनाविरुद्धको खोपम याैनिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिन आग्रह गरिन्।

प्रकाशित: ७ श्रावण २०७८ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App