६ वैशाख २०८१ बिहीबार
समाज

सशस्त्र प्रहरीभित्र वृत्ति विकासमा असर

एउटै दर्जामा १६ वर्षसम्म बढुवा नहुने

सशस्त्र प्रहरी बलभित्र माथिल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा प्रहरी निरीक्षकदेखि एसपीसम्मकै वृत्ति विकासमा असर परेको छ। प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्ष पुग्दा पनि एउटै दर्जामा रहनु डिएसपीदेखि एसएसपीसम्मको बढुवा पनि समयमा नहुँदाउनीहरूको वृत्तिविकासमा असर पुगेको हो। माथिल्लो तहमा बढुवाको प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतहरूमा निशासा छाउन थालेको छ।

सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरूलाई संगठनभित्र भावी महानिरीक्षक (आइजिपी) का रूपमा हेरिने भए पनि उनीहरूको समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायब उपरीक्षक (डिएसपी) मै घर जाने अवस्था सिर्जना हुन थालेको छ। प्रहरी निरीक्षकको बढुवा सामान्यतया १० देखि ११ वर्षभित्र भइसक्नुपर्ने भए पनि सशस्त्र प्रहरीमा १६ वर्षसम्म पनि बढुवा हुन सकेको छैन। 

सशस्त्र प्रहरीका अधिकारीहरूको वृत्ति विकासबारे गृह मन्त्रालय र अर्थ मन्त्रालयमा पटकपटक छलफल भए पनि मन्त्रालय तहबाटै उचित निकास नआउँदा उनीहरूको बढुवा रोकिएको हो। भर्ना भएको लामो समयसम्म पनि वृत्तिविकासमा परेको असरले उनीहरू सेवामा रहिरहने कि राजीनामा दिने भनी दोधारमा मात्र छैनन्, भर्ना हुन चाहनेका लागि समेत सशस्त्र प्रहरी अकार्षण बन्न नसकेको अवस्था छ। ‘एक पदमा लामो समय भयो काम गरेको, बढुवा हुन लामो समय पर्खनुपर्छ। वृत्तिविकासमा भएको ढिलाइका कारण सशस्त्र प्रहरीमा आकर्षण पनि कम हुन थालेको छ,’ सशस्त्र प्रहरीका एक डिएसपीले भने।

सशस्त्रमा हाल डिएसपीदेखि नायब महानिरीक्षक (डिआइजी) सम्म १ सय १० पद रिक्त रहे पनि बढुवा प्रक्रिया अगाडि बढेको छैन। ‘१५ वर्ष भयो जागिर खाएको, एउटै पदमा काम गर्नु परेको छ। कमान्ड गर्ने स्थान पनि फरक छैन,’ २०६३ मा भर्ना भएका एक प्रहरी निरीक्षकले भने। 

सशस्त्र प्रहरी प्रवक्ता डिआईजी राजु अर्यालले बढुवाको आफ्नै प्रक्रिया भएकाले स्वाभाविक रूपमा बढुवा हुँदै जाने बताए। उनले दुई डिआइजी र एसपीको बढुवा भइसकेको बताए। ‘अन्य विषयमा मलाई जानकारी छैन। संगठनमा दरबन्दी पनि थपिने कुरा भएको यसबाट केही समस्या समाधान हुन्छ कि,’ प्रवक्ता अर्यालले भने।  

नेपाल प्रहरीमा सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सई) मा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका अधिकृतहरू उपरीक्षक (एसपी), वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बनिसक्दा पनि खुला प्रतिस्पर्धामार्फत इन्सपेक्टर भएकाहरू १५ वर्ष कटिसक्दा उनीहरूको बढुवा सुरु भएको छैन।

नेपाल प्रहरीमा प्राविधिकमा भर्ना भएका सईहरू सशस्त्रमा स्थानान्तरण भएपछि अहिलेको बढुवामा डिआइजी बनेका छन्। भर्खरै बढुवा भएका डिआइजी कालीदास धौबजी नेपाल प्रहरीको सईबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। नेपाल प्रहरीमा उनीसँगै भर्ना भएकाहरू भने अहिले पनि इन्सपेक्टर र डिएसपी छन्। नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण हुँदा प्राविधिकलाई पनि गैरप्राविधिक (इन्फेन्ट्री) मानिएकाले उनी डिआईजी भएका हुन्। नेपाल प्रहरी र नेपाली सेनाबाट स्थानान्तरण भई गएकाहरूले राम्रो अवसर पाए पनि सशस्त्रमै खुला प्रतिस्पर्धामार्फत प्रवेश गरेकाहरू भने वृत्ति विकासमा पछि परेका छन्।

सशस्त्र प्रहरी स्थापनाताका नेपाल प्रहरीबाट ९ हजार ८ सय १४ र नेपाली सेनाबाट १ सय २० जना स्थानान्तरण भएका थिए। त्यस्तै करारमा २ हजार ५० जनालाई लिइएको थियो। सशस्त्रमा नेपाली सेनाबाट आएका डिआईजी सिपी गौतम छन्। हालका प्रवक्ता डिआइजी राजु अर्याल, गण्डकी प्रदेशका डिआइजी नारायणदत्त पौडेल र प्रदेश २ का डिआइजी गौतम संगठनको आगामी नेतृत्वका लागि प्रखर दाबेदार हुन्।

सशस्त्र प्रहरीको पदीय संरचनाअन्तर्गत आईजीपी एक, अतिरिक्त महानिरीक्षक (एआईजी) दुई, डिआइजी १६, एसएसपी २६, एसपी ८७, डिएसपी ३ सय ६० र इन्सपेक्टर ९ सय ४० रहेको छ। माथिल्ला तहमा दरबन्दी कम र नेपाल प्रहरीबाट आएकाहरूले लामो समयसम्म ठाउँ ओगट्दा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको वृत्ति विकासमा असर परेको हो। अहिले नौ कामु एसएसपी खाली रहे पनि केही सीमित प्रहरी अधिकारीहरू बढुवा हुन नपाउने भएपछि शक्ति केन्द्रको आडमा त्यो पनि रोकिएको छ।

३७ हजार १ सय १९ दरबन्दी रहेको सशस्त्र प्रहरीमा यसअघि एआइजी ६ र डिआइजी १८ रहने व्यवस्था थियो। तीन वर्षअघि एआइजी दुई र डिआइजी १६ बनाइयो। पछिल्ला दिनमा यसले पनि सशस्त्र प्रहरी अधिकृतहरूको वृत्ति विकासमा असर पारेको हो। सशस्त्र प्रहरीका उच्च अधिकृतहरू एआइजीको संख्या कम भएकाले कार्यसम्पादनमा गम्भीर असर पारेको सशस्त्र अधिकारीहरूको दाबी छ। 

पछिल्ला दिनमा सशस्त्र प्रहरीको ध्यान सीमा सुरक्षामा बढी नै केन्द्रित भएकाले सीमा विभागलाई छुट्टै बनाई त्यसमा एआइजीको दरबन्दी थप्नुपर्ने भए पनि त्यसो गरिएको छैन। सशस्त्र प्रहरीको सीमा व्यवस्थापान, विपद् व्यवस्थापनलगायतका मुख्य जिम्मेवारी भए पनि दरबन्दी निकै कम रहेको छ। ‘अहिलेकै अवस्थामा १० हजार दरबन्दी आवश्यक भए पनि सरकारले ४ हजार दिएर टारेको छ, महानिरीक्षक शैलेन्द्र खनालले दरबन्दी र वृत्तिविकासबारे धेरैपटक मन्त्रालयमा कुरा पु¥याएको भए पनि त्यसमा बेवास्था भयो,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने। दरबन्दी थप नभएको अवस्थामा पाँचवटा ब्याचका कतिपय अधिकृत एसपी र एसएसपी पनि बन्न सक्ने देखिँदैन।

सिसं ३ देखि सिसं ७ का अधिकांश अधिकृत डिएसपी र एसपीमै अवकाशमा जानेछन्। सिसं १ र २ का अधिकृतहरू भने नेतृत्वमा पुग्ने सम्भावना छ। २०५९ कात्तिक २६ मा इन्सपेक्टर भएका सिसं १ का नौजना अहिले कायममुकायम एसएसपी छन्। उनीहरूभन्दा पाँच महिनापछि ७ चैत २०५९ मा भर्ना भएकाहरू सबैजना एसपी भइसकेका छन्। जसमध्ये अब आठ जना कामु एसएसपी बन्नेछन्।

सिसं २ भन्दा पाँच महिनापछि २९ साउन २०६० मा भर्ना भएका सिसं ३ का अधिकृतहरू कहिले एसपी बन्ने कुनै ठेगान छैन। सिसं ३ मा ९६ जना पास आउट भए पनि अहिले ९० जना कार्यरत छन्। उनीहरू सेवामा प्रवेश गरेको नै १८ वर्ष पुगिसकेको छ। २० एसपीको संख्या अझै रिक्त छ। हाल सशस्त्रमा सिसं ५ सम्मका इन्सपेक्टर डिएसपी भइसकेका छन्।

सिसं ४ मा ९७ र सिसं ५ मा ८९ जना सेवा प्रवेश गरेका थिए। २०६२ फागुन २१ मा खुलातर्फ भर्ना भएका सिसं ६ का इन्सपेक्टरहरू १६ वर्ष लागिसक्दा पनि डिएसपी हुन सकेका छैनन्। हाल सशस्त्रमा रिक्त डिएसपी पद संख्या ७५ रहेको छ। सिसं ६ मा १ सय १ जना सेवा प्रवेश गरेको भए पनि हाल ९३ जना कार्यरत छ। 

उनीहरू सबैजना अहिले बढुवामा पर्नेछैनन्। नेपाल प्रहरीमा उनीहरूसँगै इन्सपेक्टरमा भर्ना भएकाहरू डीएसपी भएकै पाँच वर्ष पुग्न लागिसकेको छ। सिसं ६ भन्दा सिसं ७ मा भर्ना भएका इन्सपेक्टर नै बढी अन्यायमा परेका छन्। ६ असार २०६४ मा इन्सपेक्टर बनेको सो ब्याचका एक सय ३१ जना छन्। यही अवस्था आए सो ब्याचका कतिपय इन्सपेक्टरहरू भर्ना भएको २८ वर्षपछि मात्र डिएसपी बन्नेछन्।

प्रकाशित: ७ श्रावण २०७८ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App