५ वैशाख २०८१ बुधबार
समाज

समायोजना गरिएको भाडादर कार्यान्वयन नभएसम्म यातयात बन्द गर्ने

फाइल तस्बिर

धादिङका यातायात व्यवसायीहरूले नयाँ कायम गरेको भाडादर कार्यान्वयन नभएसम्मका लागि यातायात बन्द गरेका छन् । विभिन्न ६ वटा यातायात व्यवसायीहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेर नयाँ समायोजन गरिएको भाडादर कार्यान्वय नभएसम्म धादिङबाट चल्ने सम्पुर्ण यातायात सेवा बन्द गर्ने निर्णय गरेका हुन् । मंगलबारबाट यातयात सेवा बन्द गराएका हुन् ।  

संघीय सरकारले केही दिनअघि अन्तर प्रदेश चल्ने लामो दुरीका सार्वजनिक यातायातले भाडादर वृद्धि गराउन पाईने निर्णय गरेको थियो । एउटै प्रदेशभित्र चल्ने र स्थानीय तहमा चल्ने सवारीको भाडा समायोजन गरेको छैन । तर, धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाडौबाट छुट्ने सबै रुटको भाडा आफु खुसी २८ प्रतिशतले बढाएका थिए ।  

सरकारले लामो दुरीका सार्वजनिक यातायातले भाडादर वृद्धि गराउन पाईने भनेपनि धादिङका यातायात व्यवसायीले स्थानिय रुटहरुमा चल्ने यातयातमा पनि भाडादर वृद्धि गरेपछि विभिन्न विद्यार्थी संघठनहरुले विरोधसमेत गरेका छन् । साउन १ गतेदेखि सरकारको निर्णय भन्दै यातायात व्यवसायीले मनोमानी ढंगले २८ प्रतिशत भाडा वृद्धि गरेको थियो । धादिङका यातायात व्यवसायीहरूले वृद्धि गरेको सार्वजनिक यातायातको भाडा गैरकानूनी भन्दै स्थानीय प्रशासनले कारबही गर्न थालेपछि यातायात बन्द गरेका हुन् । यातायात व्यवसायीहरु समायोजन गरिएको भाडादर कार्यान्वयन नभएसम्म धादिङ जिल्लाबाट संचालन हुने सम्पुर्ण यातायात सेवा बन्द गर्ने निर्णयमा पुगेका हुन् ।

कोभिड १९ को महामारीको कारणले अस्तव्यस्त भइ यातायात सेवा संचालन गर्न नसकेको बेला अति प्रभावित क्षेत्र सार्वजनिक यातायात व्यवसायलाई सरकारले प्रथमिकतामा नराख्नु, विशेष सहुलियत र छुट नदिनु तथा सहमति भएका विषयमा पनि कार्यान्वयन नहुदा यातायात व्यवसायी दोहोरो मारमा परेको विज्ञप्तिमा उल्लेख छ ।  

यसअघि १ सय ८७ रुपैयाँमा धादिङ काठमाडौं गरिरहेका यात्रुले अहिले बढाएको भाडा अनुसार लोकल बसमा २ सय ३७ र ननस्टप तथा डिलक्स बसमा २ सय ९० रुपैयाँ भाडादर कायम गरेका छन् । साविक भन्दा बढी भाडा उठाएपछि यात्रुहरुले नै प्रहरीमा गुनासो गरेपछि नागढुंगा प्रहरीले (नयाँ भाडादर अनुसार) बढी भाडा उठाउने बस तथा माइक्रोबसलाई जरिवाना तिराइएको व्यावसायीहरुले बताएका छन् ।  

धादिङका ६ यातयात व्यवसाय संस्था ग्रामीण यातयात सहकारी संस्था लि, धादिङ मण्डली यातयात प्रा.लि, ग्रामीण यातयात धादिङ प्रा.लि, संयुक्त यातयात बस तथा जीप सेवा प्रा.लि, सुनौलो भैरवी यातयात प्रा.लि, नगर यातयात प्रा.लिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अनिश्चित रुपमा यातयात सेवा बन्द गराएको जानकारी दिएको छ ।

प्रकाशित: ६ श्रावण २०७८ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App