१६ चैत्र २०८० शुक्रबार
समाज

डुबानको निकास खोल्न खोज्दा झडप, १० प्रहरी घाइते

अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ। धनगढी उपमहानगरपालिका–३ स्थित हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए।

डुबान खोल्नका लागि गएको प्रहरीमाथि धनगढी–२ का स्थानीयले ढुंगामुढा गरी अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको हो। स्थानीयको अवरोधपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। त्यसपछि भीड झन् आक्रोशित भएको थियो। आक्रोसित स्थानीयले ढुंगामुढा गर्दा १० प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६ जना सशस्त्र र ४ जना नेपाल प्रहरी घाइते भएका हुन्। सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्याँस प्रहार गरिएको थियो।  

सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर, वडा नम्बर २ का बासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए। भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो। यसअघि भएको डुबानका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा क्षति पुगेको छ।

प्रकाशित: ५ श्रावण २०७८ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App