coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१५ वर्षदेखि फरार २ अभियुक्त पक्राउ

वर्षाैंअघि आपराधिक गतिविधिमा संलग्न भई फरार जिल्लाका दुई अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । फरार अभियुक्त खोजी गरी कारबाही गर्ने अभियान अन्तर्गत जवरजस्ती करणी र चोरी आरोपका अभियुक्तलाई छुट्टाछुट्टै ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न अदालत पठाएको हो ।  

पक्राउ पर्नेमा ५ वर्षअघि जवरजस्ती करणी उद्योग आरोपमा फरार रहेका जिल्लाको चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका ४१ वर्षीय विजय थुलुङ सोमबार साँझ पक्राउ परेका छन् । उनीमाथि ०७३ माघ १८ गते एक महिलालाई जवरजस्ती करणी गर्न खोजेको आरोप प्रहरीमा दर्ज थियो ।  

जिल्ला अदालतले दोषी करार गरे पनि अहिलेसम्म फरार रहँदै आएकाले खोजी गर्ने क्रममा लुकिछिपी बसेको ठाउँबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुबासचन्द्र बोहराले बताए । फरार सूचीमा रहेका थुलुङलाई इलाका प्रहरी कार्यालय बेलटारको टोलीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरी जिल्लामा बुझाएको हो । त्यस्तै १५ वर्षअघि चोरी अभियोगमा जिल्ला अदालतबाट दोषी करार भई कैद र जरिवानाको फैसला सुनाइए पनि भाग्दै आएका त्रियुगा नगरपालिका ८ का ३५ वर्षीय विजय चौधरी पनि सोमबारै पक्राउ परेका छन् । चौधरीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार साँझ ५ः०० बजे पक्राउ गरेको हो ।  

०६३ साल कात्तिक १३ गतेको फैसला अनुसार चौधरीलाई १२ दिन कैद र ७ सय ५० रुपैंया जरिवाना तोकिएको छ । थुलुङ र चौधैरी दुवैलाई फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालत उदयपुरको जिम्मा लगाइएको एसपी बोहराले बताएका छन् । 

प्रकाशित: ५ श्रावण २०७८ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App