७ वैशाख २०८१ शुक्रबार
समाज

भाडा बढाउन नपाएपछि यातयात नै बन्द

बसपार्कमा थन्किएका यातायातका साधन। तस्बिर: सरिता/नागरिक

भाडा बढाउन नपाएपछि धादिङका यातायात व्यवसायीहरूले मंगलबार यातायात बन्द गरेका छन् । संघीय सरकारले बढाएको भाडादर अनुसार भाडा बढाउन नपाएपछि यवसायीहरुले यात्रुबाहक सवारी बन्द गराएका हुन्।  

संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको मात्रै भाडा समायोजन गरेपनि एउटै प्रदेशभित्र चल्ने र स्थानीय तहमा चल्ने सवारीको भाडा समायोजन गरेको छैन। तर, धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाडाैंबाट छुट्ने सबै रुटको भाडा आफु खुसी २८ प्रतिशतले बढाएका थिए। त्यहि भाडा कार्यान्वयन गर्दा प्रशासनले जरिवाना गराएको भन्दै सार्वजनिक यातायात बन्द गराएका हुन्।

यसअघि १ सय ८७ रुपैँयामा धादिङ काठमाडौ गरिरहेका यात्रुले अहिले बढाएको भाडा अनुसार लोकल बसमा २ सय ३७ र ननस्टप तथा डिलक्स बसमा २ सय ९० तिर्नुपर्छ। साविक भन्दा बढी भाडा उठाएपछि यात्रुहरुले नै प्रहरीमा गुनासो गरेपछि नागढुंगा प्रहरीले (नयाँ भाडादर अनुसार) बढी भाडा उठाउने बस तथा माइक्रोबसलाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए।  

यातायात व्यवसायीले भने २०७१ सालदेखिको एउटै भाडामा यात्रु बोक्न नसकिएकोले बाध्य भएर भाडा समायोजन गरेका बताएका छन् । वैज्ञानिक ढंगबाट भाडा समायोजन नभएसम्म गाडी नचलाउने व्यवसायीहरुले धम्की दिएका छन् । ग्रामीण यातायात सहकारी संस्था लि.का महासचिव बद्री सुवेदी भन्छन्, ‘२०७१ सालमा पनि त्यहि भाडामा यात्रु बोकियो, त्यतिबेला भन्दा अहिले तेलको मुल्य ४२ रुपैँयाले बढी छ, गाडीको कर, चालक सहचालकको तलब भत्ता पनि उत्तिकै बढेको छ, त्यसैले भाडा समायोजन नभएसम्म गाडी चलाउन सकिदैन।’ यातायात व्यवसायी र बसका चालक सहचालकहरुले लोकल चल्ने साना गाडीहरुलाई समेत ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन्।  

यातायात व्यवस्था विभागकै निर्णय अनुसार यात्रुबाहक सार्वजनिक यातायातको भाडा बढाएको व्यवसायीहरुले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गत असार २७ गतेको सैदान्तिक सहमतिमा यातायात व्यवस्था विभागले दुई वा सो भन्दा बढी प्रदेश गई संचालन हुने सार्वजनिक यातायातका सवारीहरुको हकमा मात्र लागु हुने गरी भाडादर समायोजन गरेपनि अन्तर–जिल्लाको भाडा समायोजन गरेको छैन।

धादिङबेसीबाट काठमाडौ र आरुघाट, काठमाडौबाट धादिङबेसी र आरुघाट रुटमा धादिङ मण्डली यातायात प्रा.लि., ग्रामीण यातायात सहकारी सस्था लि. र ग्रामिण यातायात धादिङ प्रा.लि.ले यात्रुबाहक सार्वजनिक यातायात संचालन गर्दै आएको छ। प्रदेश र स्थानीय दुई सरकारले भाडा समायोजनको विषयमा कहि कतै निर्णय गरेको छैन। तर, यातायात संचालक सस्थाहरुले नै भाडा समायोजनको सूचना निकालेर एकलौटी ढंगबाट भाडादर कायम गराएका हुन्। साउन १ गतेदेखि नै यात्रुसँग नयाँ समायोजन अनुसार भाडा असुल्न थालेका छन्।

एकै प्रदेशभित्र संचालन हुने वा स्थानीय तहभित्रका रुटहरुमा संचालन हुने सार्वजनिक सवारीहरुलाई भाडा वृद्धि नगर्न विभागले भनेको छ। ‘प्रादेशिक सार्वजनिक यातायातको हकमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सार्वजनिक यातायातको हकमा स्थानीय सरकार वा सम्बन्धित निकायबाट समायोजन नभएसम्म साविक बमोजिमकै भाडादर लागु हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ’ विभागको सूचनामा उल्लेख छ।

प्रकाशित: ५ श्रावण २०७८ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App