८ वैशाख २०८१ शनिबार
समाज

‘सेटिङमा’ हुने अपराध रोक्न प्रहरीलाई चुनौती

जिल्ला प्रहरी कार्यालय कैलालीमा भर्खरै सरुवा भएर आएका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आइतबार पत्रकारसँग भेटघाट र छलफल कार्यक्रम गरे। जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने ढंगबाट काम गरेर ‘हाम्रा प्रहरीसँग हामी’ अभियान सुरु भएको छ।

जिल्लामा सरुवा भएर आउने वित्तिकै नयाँ प्रहरी प्रमुखले आफू अरूभन्दा फरक र राम्रो काम गर्ने सन्देश दिन पत्रकारसँग परिचयात्मक कार्यक्रम गरिने पहिलेदेखिको परम्परा हो। तर विगतका अधिकांश प्रहरी प्रमुखले जिल्लामा आउने बित्तिकै पत्रकारसँगको भेटमा भनेजस्तो कार्यशैली र फरक पन पछि कार्यसम्पदानमा पाइएन्।  

प्रत्येक प्रहरी प्रमुखले उही परम्परालाई निरन्तरता दिइरहेका छन्। कोभिड–१९ को संक्रमणपछि भने प्रहरी प्रमुखसँगको पत्रकारको सुझावसहितको भेटघाट यो पहिलो हो। कैलालीको टीकापुरमै जन्मेहुर्केर प्रहरी संगठनभित्रका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको चर्चा गर्दै एसपी अधिकारीले आफ्नो गृह जिल्लामा राम्रो र नमुना काम गरेर देखाउनकै लागि यहाँ आएको बताए।  

परिचयात्मक कार्यक्रममा सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीका प्रहरीसँग जोडिएका दर्जनौ समस्याका बारेमा पत्रकारहरूले सुझाव दिएका थिए। राजनीतिक संरक्षण र प्रहरीको ‘सेटिङमा’ तस्करीलगायतका अपराधिक क्रियाकलाप हुने गरेको बताउँदै प्रहरीकै संलग्नता र राजनीतिक संरक्षणमा भइरहेका अपराधिक क्रियाकलाप र दण्डहीनता रोक्नु कैलालीमा मुख्य चुनौती रहेको प्रहरी प्रमुख (एसपी)लाई सुझाए । 

कैलाली र कञ्चनपुर लागुऔषधको ‘हटस्पट’ हो। पछिल्लो समयमा किशोर किशोरी र युवा युवतीहरू लागुऔषधको दुव्यर्सनमा फस्ने क्रम बढ्दो छ। लागुऔषधको कारोबार गर्ने ठूलो सञ्जाल कैलालीमा रहेको प्रहरीकै भनाइ छ। प्रहरीले लागुऔषध कारोबारीको सञ्जाललाई तोड्न  सकेको छैन।

जिल्ला प्रहरी प्रमुखले राखेका घुमुवाले अपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ नभई ‘महिनावारी उठाएर’ त्यस्ता क्रियाकलापमा सहयोग गर्ने गरेको सरोकारवालाले आरोप लगाउँदै आएका छन्। 

कोभिड–१९ को महामारी नियन्त्रण गर्न निषेधाज्ञा लगाएका बेला पनि प्रहरीको ‘सेटिङमा’ तस्करी हुँदै आएको स्थानीयको आरोप छ। निषेधाज्ञामा समेत धनगढीको चौराह र भन्सार रोड क्षेत्रका केही होटलमा युवती राखेर अवैध यौनधन्दा सञ्चालन भइरहेपनि प्रहरीले थाहा नपाए जस्तो गरेको स्थानीयको गुनासो छ। प्रहरीले महिनावारी बुझेर यस्ता क्रियाकलाप गर्न छुट दिने गरेको प्रहरीमाथि स्थानीयको आरोप छ।  

कैलालीमा रहेका ‘गिरोह’ले भारतका विभिन्न सहरमा मान्छे पठाएर करोडौंको सुन, गहना चोरी गरेर ल्याउने गरेको छ। भारतबाट चोरेर बर्सेनि करोडौंको नगद र गहना कैलाली भित्रिने गरेको छ। त्यसमा यहाँका केही पेसेवर अपराधिक क्रियापलापमा संलग्नहरू र प्रहरीको संरक्षण हुने गरेको स्थानीयको भनाइ छ। 

पहुँच भएका व्यक्तिका मुद्दा दर्ता नहुने, राजनीतिक संरक्षण भएका व्यक्तिले उन्मुक्ति पाउने, सर्वसधारणलाई मात्र सानो गल्तीमा पनि थुनुवा राखेर दुःख दिने समस्या कैलालीमा विगतदेखि छ। अपराध नियन्त्रणका लागि भन्दै बजारका विभिन्न ठाउँमा लगाइएका सिसी क्यामेराहरू बिग्रेका छन्। अपराध नियन्त्रणका लागि बजेट भएर पनि बनाउन तिर ध्यान छैन।

प्रकाशित: ५ श्रावण २०७८ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App