coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुठिचौरका वडाध्यक्षको नमुना कामः चार वर्षमा हिलोमुक्त वडादेखि फ्रि वाइफाइसम्म

जंगल संरक्षणको लागि ग्याँस व्यवस्थापन गर्ने, नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने, स्याउ खेतीलाई प्रवर्द्धन गर्ने, वडा हिलोमुक्त बनाउने र फ्रि वाइफाई जोडेर सिंगो वडालाई प्रविधिमैत्री बनाउने जुम्ला गुठिचौर गाउँपालिका ३ का वडाध्यक्ष प्रेमबहादुर बुढाका निर्वाचन घोषणा पत्रमा समावेश गरिएका विषय हुन्। त्यही घोषणा पत्रले बुढालाई निर्वाचनमा वडाध्यक्ष बनायो। उनीप्रति जनताको आशा थियो,‘समृद्ध वडा र सुखारी वडावासी बनाउने प्रयत्न निरन्तर अघि बढ्नेछ।' वडाध्यक्ष बुढाले पनि घोषणा पत्रमा रहेका विषयलाई क्रमश लागु गर्दै गए। उनले जनताको विकासलाई प्राथमिकता दिए।  

वडाध्यक्ष बुढाले पहिलो वर्षमा वडाका सबै घरधुरीलाई एक घर एक ग्याँस उपलब्ध गराए। जंगलको संरक्षण गर्ने, प्रदूषण कम गर्ने, समयको बचत गराउने लक्ष्यका साथ ग्याँस वितरणले नागरिकमा उत्साह ल्यायो। उनले भने,‘ग्याँस अहिले नागरिकले निरन्तर प्रयोग गरिरहेका छन्। समयको बचत भएको छ। प्रदूषण कम भएको छ। जंगल संरक्षणको लागि दवाव बढेको छ। आधुनिक प्रविधिसंग जोडिन सिकाएको छ।’

दोस्रो वर्षमा उनले एक घर एक फिल्टर कार्यक्रम ल्याए। वडावासीले स्वच्छ खानेपानी व्यवस्था गर्न यो कार्यक्रमले राम्रो सन्देश दियो। बढ्दो कोरोना महामारीमा यो कार्यक्रम उत्तम विकल्प थियो। उनले भने,‘सबैभन्दा ठूलो नागरिक स्वास्थ्य हो। वडावासीको स्वास्थ्यका लागि गरिएको यो कार्यक्रमले स्वच्छ खानेपानी पिउनको लागि बानी बसालेको छ। फिल्टरको पानीले नै रोग लाग्न नदिनको लागि पनि काम गर्छ भन्ने सन्देश दिएको छ।’

तेस्रो वर्ष वडाध्यक्ष बुढाले कृषिलाई प्राथमिकता दिए। उनले यहाँ स्याउको संभावना देखे। एक घरलाई २५ स्याउका विरुवा दिए। स्याउ जुम्लाको आम्दानीको स्रोत हो। एक बगैँचा हुनको लागि न्यनुतम २५ विरुवा रोपेको हुनुपर्छ। उनले एक घर एक बगैँचा स्थापनामा जोड दिए। हरेक वडावासीको घरमा स्याउ विरुवा छन्। स्याउ बगैँचा स्थापना गरिदिएकोमा किसान खुसी छन्। उनले भने,‘स्याउबाट आर्थिक समृद्धि हासिल गर्नको लागि सहयोग मिलोस भन्ने कामना गरिएको छ। यो सफल हुनेछ। बगैँचा स्थापनाका किसान आकिर्षत हुन थालेका छन्।’

चौथो वर्षमा वडाध्यक्ष बुढाले वडाभरी फ्रि वाइफाई जडान गरेका छन्। यसले सूचना प्रविधिको पहुँचमा नपुगेका सबै नागरिक सूचनाको पहुँचमा छन्। विश्वभरमा घटेका हरेक घटना क्षणभरमै थाहा पाउँछन्। आफ्नो घर भन्दा टाढा रहेका आफन्तजनसंग भिडियोमै गफ गर्न पाउँछन्। वडाध्यक्ष बुढाले भने,‘चार वर्षमा गरिएका यी कार्यले समाजमा सकरात्मक छाप बसेको छ। व्यक्तिगत स्वार्थ कुनै छैन। सामूहिक हितका लागि गरिएको यो कार्य सबैका लागि प्रशंसनीय छ।’

उनले यो चार वर्षमा सबै घरमा बिजुली पुर्याएका छन्। जसले अन्धकारभित्र काम गरिएका नागरिक उज्यालोको अनुभूति गरिरहेका छन्। यो वडा भित्र दुई गाउँ छन्। दामदासे र गज्र्याङकोट। दुबै गाउँमा आधारभूत रुपमा समानुपातिक हिसावले विकास निर्माणका कार्य भइरहेका छन्।  

विद्यालयमा फर्निचर व्यवस्थापन, खेल मैदान निर्माणमा जोड दिइएको छ। गुणस्तरीय शिक्षामा जोड दिँदै शिक्षा क्षेत्रलाई सबैको पहुँचमा ल्याउन पहल भइरहेको छ। वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। औषधि अभाव हुन दिइएको छैन। स्वास्थ्य केन्द्रले महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रचारप्रसार गर्ने, परामर्श दिने काम गरिएको छ। कोरोना भाइरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री तथा विपन्न नागरिकलाई राहतको व्यवस्थापन गरिएको छ।

वडाभित्रका सबै रिङ रोड पिसीसी गरिएको छ। जसले सबै गाउँमा हिलोमुक्त भइसकेका छन्। वडामा एक घर एक धाराको प्रबन्ध गरिएको छ। सिँचाइमा बहुवर्षीय योजना निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। स्याउ र आलुकाे पकेट क्षेत्र बनेका छन्।  

उनले भने,‘सहजै रुपमा काम गर्ने अवसर नहुँदा पनि यी काम संभव भएका छन्। नागरिक वडाको काम प्रति सन्तुष्ट छन्। केही व्यक्तिले साथ दिएका छैनन्। विकास सबैको साँझा हुनुपर्छ भन्ने मान्यता स्थापित भइसकेका छन्। राम्रो काम गर्दा अवरोध गर्ने संस्कार हाबी छ।  

उनले थपे,’विकासमा जनताको साथ छ। समृद्ध वडा बनाउने सपना निरन्तर अघि बढेको छ।’ जनप्रतिनिधिले साथ नदिएको उनले गुनासो पोखे। उनले भने,‘विकासमा राजनीति गर्दा गुणस्तरीय विकास हुन नसक्नु दुःखद् हो। तर स्वार्थ रहित काम गर्दा हरेक विकास संभव भइहाल्छ।’

प्रकाशित: ४ श्रावण २०७८ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App