coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्य मापदण्ड पालनामा पुनः लापरवाही, तेस्रो लहरको उच्च जोखिम

नेपाल–भारत सिमा नाका जमुनाहाबाट नेपालतर्फ भित्रिदै सर्वसाधारण । तस्बिर : नागरिक

दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९)महामारी पूर्ण रुपले नियन्त्रणमा नआउँदै बाँकेमा पुनः तेस्रो लहरको जोखिम पुनः बढेको छ । तेस्रो लहरको महामारीबाट बढी मात्रामा बालबालिका प्रभावित हुने स्वास्थ्य क्षेत्रका विज्ञले बताइरहेका छन् । महामारी पूर्ण रुपमा नियन्त्रणमा नआउँदै स्वास्थ्य मापदण्ड लत्याइएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।  

कोरोना महामारी पुनः बढ्ने संकेत देखिरहँदा पनि नेपालगन्ज, कोहलपुर लगायत बजार क्षेत्रमा अत्यधिक रुपले भिडभाड भइरहेको छ, भने नेपाल–भारत सिमा नाकामा निर्वाध रुपमा आवत–जावत चलिरहेको छ । कोरोना महामारीको पहिलो लहरबाट बाँकेमा ४ हजार ९ सय ५८ जना संक्रमित भएका थिए । यस्तै दोस्रो लहरको संक्रमण सुरु भएदेखि हालसम्म १२ हजार ५ सय ८५ जना संक्रमित भइसकेका छन् ।  

यस्तै पहिलो लहरमा बाँकेका ५८ र बाहिरी जिल्लाका ९२ जनाको मृत्यु भएको थियो, भने दोस्रो लहरमा बाँकेका २ सय ६० र बाहिरी जिल्लाका २ सय ८१ जनाको मृत्यु भइसकेको छ । कोरोना महामारीको दोस्रो लहरबाट अत्यधिक रुपले प्रभावित भएको बाँकेमा स्वास्थ्य मापदण्ड पालना नहुँदा तेस्रो लहरको जोखिम बढिरहेको बाँकेका चिकित्सकको ठहर छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे पछिल्लो समयमा सार्वजनिक भएका पिसिआर रिपोर्ट हेर्दा बाँकेमा कोरोना महामारी कायमै रहेको बताउँछन् । ‘पछिल्लो समयमा १० देखि २० प्रतिशतसम्म संक्रमित फेला परिरहेका छन्,’ उनले भने ‘संक्रमितको संख्या पाँच प्रतिशतभन्दा कम भएपछि मात्र महामारी नियन्त्रणमा रहेको भन्न मिल्छ ।’

स्वास्थ्य क्षेत्रका विज्ञहरुले महामारीको तेस्रो लहर आउने र त्यसबाट बालबालिकासहित खोप नलगाएका व्यक्ति बढी प्रभावित हुने बताइरहेकाले बाँके जिल्ला पुनः महामारीको जोखिममा रहेको डा. पाण्डेले बताए । ‘कोभिड–१९ को तेस्रो लहर आउने आँकलन भइरहेको छ, सरकारले पूर्वतयारी पनि गरिराखेकै छ,’ उनले भने ‘हामीले जति चाँडो खोप लगाउन सक्छौं, त्यसले गर्ने क्षति पनि कम हुन्छ ।’ नेपालमा बालबालिकासहित वयस्क र वृद्धवृद्धाहरु धेरै जना खोप लगाउनबाट बञ्चित रहेकाले तेस्रो लहरको महामारीबाट बढी क्षति हुन सक्ने प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेको भनाइ छ ।  

महामारी नियन्त्रण नआएपनि बजारमा भिडभाड अत्यधिक रुपले बढेको छ । सार्वजनिक यातायातका साधनहरु खुलेआम सञ्चालन भइरहेको छन् । यातायात साधन, बजार, सरकारी तथा बैंकिङ संस्थामा बढी भिडभाड देखिन्छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपनि भिडभाड नियन्त्रण गर्नमा चासो देखाएको छैन । प्रशासनले पछिल्लो पटक साउन १० गतेसम्म निषेधाज्ञा थपेको छ । जसले गर्दा कोरोना महामारीको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । भेरी अस्पतालका सूचना अधिकारी एवं फिजिसियन डा. संकेत रिसालले कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै बजारमा भिडभाड बढेको र त्यसले कोरोना महामारी पुनः बढाउने बताए ।  

‘कोरोना महामारी नियन्त्रणमा आएको छैन, स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि बजारमा अत्यधिक भिडभाड छ,’ उनले भने ‘जबसम्म स्वास्थ्य मापदण्डमा कडाई गरिँदैन, तबसम्म महामारी पूर्ण रुपले नियन्त्रणमा आउन सक्दैन ।’ निषेधाज्ञाको बाबजुद पनि बजारमा भिडभाड कायमै रहेकाले महामारीको जोखिम बढेको डा. रिसाल बताउँछन् । अधिकाशं नागरिक खोप लगाउनबाट बञ्चित रहेकाले महामारीबाट क्षति बढी हुन सक्ने उनको आशंका छ ।  

उनले भने, ‘सरकारले प्रत्येक उमेर समुहलाई खोप दिन नसकेको अवस्था छ, बजारमा भिडभाड पनि अत्यधिक रुपले बढेको छ, सिमा नाकामा निर्वाध रुपले आवत–जावत चलिरहेको छ, यसरी त महामारी कसरी नियन्त्रणमा आउँला र ?’ दोस्रो लहर नियन्त्रणमा नआउँदै तेस्रो लहरको महामारी फैलिन सक्ने अनुमानसहित बाँकेमा पुर्वतयारीका काम भइरहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार तेस्रो लहरको महामारीबाट बालबालिकालाई जोगाउन बाल विशेषज्ञ लगायत विभिन्न निकायसँग छलफल गरिएको छ ।  

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. पिताम्बर सुवेदी अहिलेसम्म बाँकेमा कुनैपनि बालबालिकालाई महामारीको लक्षण नदेखिएको तर जोखिम कायम रहेकाले पुर्वतयारी गरिएको बताए । ‘कुनैपनि बालबालिकाले खोप लगाएका छैनन्, त्यसकारण महामारी आएपछि बालबालिकाहरु स्वतः प्रभावित हुन्छन्,’ उनले भने ‘पुर्व तयारीका लागि हामी छलफलमै छौं ।’ कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआएको र तेस्रो लहरको महामारी पनि आउन सक्ने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने डा. सुवेदीको सुझाव छ ।  

प्रकाशित: २ श्रावण २०७८ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App