coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपाली सेना कर्णालीबासीको ब्लड बैंक

जुम्ला पातारासी गाउँपालिका–४ का १२ वर्षीय अबि बुढाको शरीरमा रगतको मात्रा निकै कम देखियो । उनलाई ‘ओ’ पोजेटिभ रगतको आवश्यक थियो । तर उनी ग्रामीण क्षेत्रको भएकोले रगत कहाँ पाइन्छ भन्ने बारेमा कुनै जानकारी थिएन । उनी रगत खोज्न अबिको परिवारले निकै तनाव बेहोर्नु परिरहेको थियो ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रगतको लागि जिल्ला स्थित नन्दबक्स गणलाई लिखित आग्रह गर्यो । कोभिड प्रोटोकललाई पूर्ण पालना गर्दै सुरक्षाको जिम्मेवारीको व्यवस्था गरेर गणले रगतदान गर्न सिपाइ बसन्त घिमिरेलाई पठायो । रगत अभावले अस्पतालको बेडमा छटपटिरहेका अबि निको भएर घर फर्किए । उनले भने,‘नेपाली सेनाले ज्यान बच्यो । सेना त सुरक्षाका लागि मात्रै रहेनछ, ज्यानको सुरक्षाका लागि आवश्यक पर्ने ब्लड बैंक नै रहेछ ।’

गत वैशाख १९ गते जुम्ला हिमा गाउँपालिका–५ का २ वर्षीय आयुस शाहीलाई आगोले पोल्यो । परिवारले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याए । आयुसको शरीरमा रगत निकै कम थियो । उनलाई ‘एबी’ पोजेटिभ रगत चाहिएको थियो । रगतको लागि आयुसको परिवारले सबैतिर पहल थाले । संभव कतै पनि भएन । उपचारका लागि रगत नभेटिदा आफन्तजन निराश थिए ।  

परिवारले रगतको जोहो गर्न नसक्ने ठानेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नन्दबक्स गणलाई लिखित पत्र पठाएर रक्तदानको लागि अनुरोध गर्यो । गणका सिपाही दिपक नेपाली गएर रगतदान गरेर बिरामी २ वर्षको आयुस निको भएर घर फर्किए । परिवारले भने,‘कठिन अवस्थामा चाहिने नेपाली सेना नै रहेछ । सेना सिमा सुरक्षा र देशको सुरक्षाका लागि मात्रै रहेनछ, आवश्यक परेको बेला अस्पतालमा मृत्युको पखाईमा रहेको बिरामीको लागि भगवान नै रहेछ । सेना नै संकटको साहरा, सेना नै असल साथी भएको प्रमाणित भयो । ’

नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने कर्णालीका हुम्ला, डोल्पा, कालिकोट र मुगु जिल्लाका बिरामीलाई पनि रक्तदान गर्दै आइराखेको छ । नन्दबक्स गणका गणपति दिवाकर रायमाझी सेनाले जटिल प्रकारका २७ जना बिरामीको ज्यान बचाएको बताए । उनले भने, ‘ती बिरामी मध्ये कुनैलाई तीन प्वाइन्ट सम्म रगत दिनु परेको थियो । ’

उनले भने, ‘बिरामीको अवस्था जटिल छ । रगत अति आवश्यक नै छ, भने खबर पाउने वित्तिकै मिल्ने रगत गु्रपको व्यक्ति पठाइहाल्छौँ । रगत दिएर ज्यान बचाउने कुरामा ढिलासुस्ती हुदैन् । ’जुम्लामा सेनालाई ब्लड बैंकमा रुपमा हेरिने गरिएको छ । कतिपयले त दुर्गमका बिरामीको प्राण नै सम्झन्छन् । सेनालाई ब्लड बैंकको प्रर्यायवाचीको बनेको छ ।  

गणपति रायमाझीले दुई वर्ष ६ महिनामा मृत्युसँग छटपटाइरहेका २७ जनाको ज्यान बचाउँनु उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए । उनले भने,‘समयमै नेपाली सेनाको गणमा सम्पर्क गरेको खण्डमा ब्लडको कुनै अभाव झेल्नु पर्दैन । प्रतिष्ठानले पठाउने चिठ्ठीका कारणले ज्यान जोखिममा राख्नु पर्दैन । चिठ्ठी आउँदै गर्छ । बिरामीलाई रगत दिन पठाइहाल्छौँ । ’ सेना सन्तान पनि हो । मलामी पनि हो भन्ने मान्यता समाजमा स्थापित हुन थालिसकेको छ ।  

नेपाली सेनाले रगत अभावमा छटपटाइरहेका बिरामीको लागि रगतको व्यवस्था मात्र गरिरहेको छैन । महाविपत्तीमा समेत असल साथीको भूमिका निर्वाह गरेको छ । जुम्लामा एक नगरपालिकासहित ७ वटा स्थानीयतहमा विपद प्रकोप व्यवस्थापन तालिम प्रदान गरेको छ । विपदका घटनाको पहिचान र प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित डेमो प्रर्दशन गरिरहेको छ । जिल्लाको २५ ठाउँमा लागेको आगो नियन्त्रणमा लिनको लागि सेनाको योगदान निकै स्मरणीय रह्यो । पहिरोमा परेको उद्धार देखि मौसम अनुसारको प्रतिकार्य योजना निर्माणमा सहभागि बन्यो । उनले भने,‘विपद कसैलाई सोधेर नआउने भएकोले विपद पूर्वतयारीका लागि जनतालाई सचेत पार्ने काम गरियो । जसले गर्दा क्षति न्यूनिकरणमा सहयोग पुगेको छ । मानवीय क्षति निकै कम हुने गरेको छ । उद्धारदेखि विपद् रोगथामका क्रियाकलापमा जनता आफै संलग्न हुने गरेका छन् । यो विशेष उपलब्धि हो । ’

विद्यालय भवन निर्माण,खेलमैदान निर्माण, समुदायको माग अनुसारका विकासे कार्यमा समेत सेना सहभागि हुने गरेको छ । कोभिड–१९ महामारीका कारण अस्पताल सम्म पुग्न नसकेका जिल्लाको गुठिचौर गाउँपालिका–३ र हिमा गाउँपालिका–५ मा स्वास्थ्य शिविर चलायो । जसले लामो समय सम्म रोगपालेर बसेका बिरामीले गाउँमै विशेषज्ञ चिकित्सकद्धारा उपचार सुविधा प्राप्त गरे ।  

कोरोना महाविपत्तीमा क्वारेन्टिन,आइसोलेशन निर्माणदेखि सुरक्षा सम्मको सबै जिम्मेवारी नेपाली सेनाले लिएको थियो । जसको कारणले गर्दा नेपाली सेना सबैको भरोसा बन्यो । सेनाको जनमैत्री कामले सर्वसाधारण नागरिकले सेनाका हरेक क्रियाकलापमा चासो राख्न थाले । गुनासो गर्न थाले गुनासो संवोधनका लागि आग्रह गर्न थाले ।  

कारागार, विमानस्थल र कोभिड संक्रमितको शव व्यवस्थापनमा खटिएका थियो । ब्यारेक भित्रको सुन्दरताको लागि स्याउ, ओखरका बिरुवा रोप्न थालियो । जसले जुम्लाको कृषि क्षेत्रलाई प्रोत्साहित गरेको छ । रक्तदान गर्ने,सचेतना फैलाउने, नेपाली सेनाका कामका बारेमा निर्माण भएका वृत्तचित्र देखाउने र नेपाली सेनाको सेवा के हो ? कसरी काम गर्छ ? सेना जनताको रक्षाका लागि हो भन्ने अनुभूति गर्न थालेका छन् । सेनाले गरेको कामले सेनामा भर्ना हुने युवामा जोश जागर पैदा हुन थालेको छ ।

अहिले स्थानीय उत्पादन सेनाले सुर्खेतमा चलाएको सुपथ मुल्यको क्यान्टिनमा पठाउने गरेको छ । यहाँबाट किसानले उत्पादन गरेको कृषिवस्तु पठाउँछौं । किसानसंग समन्वय गर्छौं । गणपति रायमाझीले भने, ‘स्थानीय उत्पादनमा किसानको आकर्षण बढेको छ । बजारीकरणमा समस्या हुँदैन।’ बजार नपाएर घरमै थन्किने र बिचौलियाको मार खेप्नु पर्ने बाध्यता घट्यो ।  

सेनासंग जनताको अन्र्तक्रिया बढेको छ । सेना संकटमा भरोसा बनेको छ । सेना देख्ने वित्तिकै डराउनु पर्ने अवस्थाको अन्त्य भएको छ । रायमाझीले भने,‘सेना र नागरिक सम्बन्ध सुमधुर बनेको छ । नागरिकले आफ्ना समस्या सहजै रुपमा राख्न सक्छन । यही हो मुख्य उपलब्धि । ’ बालबालिका देखि वृद्धवृद्धाले पनि सेनालाई भरोसा ठान्छन् । जुम्लामा नेपाली सेनाका नन्दबक्स गण र श्री नम्बर २४ बाहिनी अड्डा छन् । सेना अफ्ठ्यारोमा परेका भुपूर्व सैनिक परिवारको सुखदुःखको साथी बनेको छ ।

प्रकाशित: २ श्रावण २०७८ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App