coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्गमको दुःख : हवाई उद्धारले जोगिँदै सुत्केरी र गर्भवतीको ज्यान

गंगाजमुना गाउँपालिकाकी सुत्केरी महिलाको उद्धार गरिदै ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका– १ की गाउँकी सुमिना तामाङ सुत्केरी व्यथाले छटपटिएपछि गाउँ नजिकैको स्वास्थ्य संस्थामा लगियो । गत असार ११ गते ३ घण्टाको दुरीमा रहेको गणेश हिमाल हेल्थ केयरमा लगियो । हेल्थ केयरमा एक रात बसेपछि स्वास्थ्य चौकीमा पु¥याइयो तर त्यहाँ पनि सम्भव भएन । स्वास्थ्यकर्मीको टोलीले तामाङको गर्भ जाँच ग¥यो । तामाङ १७ वर्षकी मात्र थिइन्, जुन उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यानको जोखिम बढी हुन्छ ।  

भौगोलिक विकटता, सडक सञ्जाल लगायतका समस्याका कारण तत्कालै उपचारका लागि सदरमुकाम पु¥याउन सम्भव थिएन । घर नखुलेको र निरन्तर पेट दुख्न थालेपछि उपचारका लागि अन्यन्त्र लैजान स्वास्थ्यकर्मीले सुझाव दिए । गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने भएपछि गाउँपालिकाले तुरुन्तै हेलिकप्टर बोलायो । असार १४ गते हेलिकप्टर मार्फत प्रसूतिगृह थापाथली पु¥याइयो । उनले त्यहि दिन छोरी जन्माइन् ।  

गंगाजमुना गाउँपालिका वडा नं २  लताबकी २३ वर्षीय सुन्तली तामाङको व्यथा पनि सुमिनाको भन्दा कम्ती छैन । पेट अधिक दुख्न थालेपछि घरपरिवारले रि स्वास्थ्य चौकी पु¥याएको थियो । तर उच्च रक्तश्राव हुन थालेपछि काठमाडौं रेफर गरियो । वर्खाले बिगारेको सडकमा तत्काल एम्बुलेन्स आउन सम्भव थिएन । हेलिकप्टर बोलाउ आर्थिक अवस्था  कमजोर थियो । के गर्ने कसो गर्ने भन्ने अन्यौल हुदै गर्दा गाउँपालिकाले हेलिकप्टर बोलाइदियो र बैशाख २९ गते काठमाडौं लगियो ।  

गाउँपालिकाको भौगोलिक विकटता, आर्थिक अवस्था कमजोर र ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार सुमिना र सुन्तलीले हवाई सेवा पाइन । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । विकट बस्तीमा सडकको सुविधा राम्रो नभएकै कारण हेलिकप्टर प्रयोग गरेर महंगो शुल्क तिर्न बाध्य छन् । गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र सुरक्षित प्रसूति गराउन कठिनाई भएकालाई निःशुल्क हेलिकप्टर उपलब्ध गराउँदै आएको छ ।

सुत्केरी तथा गर्भवती महिलालाई मध्यनजर गर्दै ल्याएको निःशुल्क हवाई सुविधाका कारण जोखिममा रहेका धेरै आमा र बच्चाको ज्यान जोगिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताए । ‘भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन असहज छ, सुत्केरी, गर्भवतीका लागि झनै समस्या छ’, स्वास्थ्य संयोजक अधिकारीले भने, ‘स्वास्थ्य सेवा नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नै खर्चमा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलाको निःशुल्क एम्बुलेन्स सेवादेखि हवाई उद्धारको सेवा दिएको हो ।’ गाउँपालिकाभित्र यस वर्ष ५ जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।  

समयमै स्वास्थ्य सेवा नपाएकै कारण ग्रामीण क्षेत्रका आमा र बच्चाहरुले अकालमै ज्यान गुमाउनु परेको छ । विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा ज्यान समेत गुमेको घटना छ । नागरिकका यस्ता समस्यालाई मध्यनजर गर्दै गंगाजमुना गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क रुपमा हवाई तथा एम्बुलेन्स सेवा सुरु गरेको छ ।  

धुसेनीकी २७ वर्षीय सिमा तामाङलाई पनि सुत्केरी व्यथा लागेपछि गत माघ १७ गते स्वास्थ्य चौकीमा उपचारका लागि लगियो । तर स्वास्थ्य अवस्था गम्भीर र तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले उपचार सम्भव भएन । तामाङलाई गाउँपालिकाको सिफारिसमा निःशुल्क रुपमा हेलिकप्टरमार्फत काठमाडौं पठाइयो । अपरेसन गरियो तर बच्चालाई बचाउन सकिएन । वडा नं १ किचेतकी १७ वर्षीय शान्ति तामाङले २०७६ जेठ १७ गते, वडा नं २ ताबलकी इशिका तामाङले २०७८ जेठ २० गते बच्चालाई जन्म त दिइन तर संसार देखाउन सकिनन् । तत्काल शल्यक्रिया हुन नसक्दा बच्चाको मृत्यु भयो ।  

यता धादिङको विकट क्षेत्र रुविभ्याली गाउँपालिकामा पनि सुरक्षित प्रसूतिका लागि हेलिकप्टरकै भर पर्नुपर्छ । रुविभ्यालीमा जोखिममा रहेका सुत्केरी तथा गर्भवती महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क हवाई सुविधा छ । असार ११ गते रुवीभ्याली गाउँपालिका वडा नं ५ लापाकी ४० वर्षीया माईली घलेले लापा स्वास्थ्य चौकीको पहलमा निशुल्क हेलिकप्टको सेवा लिइन् ।  

स्वास्थ्य चौकीमा सुत्केरी गराउन पुगेकी घलेको अवस्था नाजुक बन्दै गएपछि सुरक्षित प्रसुतिका लागि हेलिकप्टरबाट काठमाडौं  पठाइएको स्वास्थ्य चौकीले जनाएको छ । माइली घलेसँगै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रुवीभ्याली गाउँपालिकाबाट यस वर्ष ११ जनाले निशुल्क हवाई सेवा पाएकी छन् । त्यसक्षेत्रका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  

गर्भवती तथा सुत्करी अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले नीति तथा कार्यक्रम र कानूनद्वारा नै सुनिश्चित गरेको छ । नेपालको संविधानमा उल्लिखित मौलिक अधिकार अन्तर्गत स्वास्थ्य सेवा पाउने हकलाई सम्बोधन गर्न सरकारले सो कार्यक्रम आरम्भ गरेको हो । सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रमबाट उत्तरी धादिङका दुर्गम क्षेत्रका महिलाहरुले सुविधा पाएका छन् ।

   हवाई एम्बुलेन्सको व्यवस्था भएपछि दुर्गम ठाउँका धेरै गर्भवती र सुत्केरी महिलाको ज्यान जोगिएको छ । मुलुकी ऐनमा महिलाको उपयुक्त विवाह उमेर २० वर्ष तोकिए पनि धेरैले त्योभन्दा कम उमेरमा विवाह गर्छन् । उमेर परिपक्व नभई गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्छ । यसैगरी, उमेर पुगेकै कतिपय गर्भवती तथा सुत्केरीको पनि स्वास्थ्य समस्यालाई गम्भीर रुपले नलिइँदा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

अझै घरमै सुत्केरी

आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले बर्षौदेखि आमा सुरक्षा कार्यक्रम संचालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनका लागि यातयात खर्च, पौष्ट्रिक आहारहरु दिने गरेको पाइन्छ तर अझै पनि घरमै बच्चा जन्माउने महिलाहरु छन् । घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने गरेको री स्वास्थ्य चौकीका प्रमुख अरुण तामाङले बताए । कतिपय दुर्गम गाउँका महिला अझै सुत्केरी हुन अस्पताल जानुपर्छ भन्ने ठान्दैनन्, उनले भने, जटिल अवस्था भएका आमालाई चाँडै स्वास्थ्य संस्थामा नल्याए आमा र बच्चा दुवैको ज्यान जान्छ ।  

पहिलो सन्तान घरमै जन्माउनेहरु दोस्रो सन्तान पनि घरमै जन्मिन्छन् भन्ने ढुक्क हुने गरेको तामाङले बताए । परम्परागत सोच, आर्थिक अवस्था कमजोर, स्वास्थ्य चौकीसम्म पुग्न घण्टौँ हिड्नु पर्ने बाध्यताका कारण पनि घरमै सुत्केरी हुने गरेका छन् । लगातार लामो प्रसव व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएका महिला, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुनिएको, सुत्केरी पश्चात् अत्यधिक रक्तस्राव भएका महिलाको अवस्था अनुसार अन्यन्त्र रेफर गर्ने गरेको उनले बताए ।

प्रकाशित: २ श्रावण २०७८ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App