७ वैशाख २०८१ शुक्रबार
समाज

मनाङमा सकसपूर्ण दैनिकी

मनाङको माथिल्लो क्षेत्र जोड्ने सडकमा पहिरोले बगाएपछि सकसपूर्ण तरिकाले पहरो खोपेर बनाइएको साँघुबाट हिडडुल गर्दै स्थानीयबासि । तस्बिरः नागरिक

एकमहिना भयो, हिमालपारिको जिल्ला मनाङले बाढीपहिरोको बढी क्षति भोगेको । तर, डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरुपमा बिच्छेद छ । जिल्ला मात्र नभई मनाङ भित्रैका गाउँ पनि एकअर्कासँग बिच्छेद छन् ।

सडक मात्र नभई मनाङमा विद्युत सेवा पनि ठप्प छ । सदरमुकाम चामेसँग नै बेलाबेला सञ्चार सम्पर्क हुँदैन । बाढीपहिरोले क्षति गर्दा कतिपय गाउँ अझैपनि सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सबैतिरको क्षति भोगेको हिमाली जिल्लाले निकै नै सकसपूर्ण अवस्था बेहोरिरहेको छ ।

स्थानीयका अनुसार सबैभन्दा बढी सकस सडक बिच्छेदले पारेको छ । सडक सञ्जाल कायम हुन नसक्दा जिल्लामा खाद्यान्न, औषधि, इन्धन लगायतका अत्यावश्यक बस्तु अभाव हुन थालेको छ । पसलमा सामान किन्न पाउन छाडिएको छ । बिरामी परेमा उपचारका लागि अस्पतालसम्म आउन पनि उत्तिकै कठिन छ । पैदल हिडडुल नै सहज छैन । एकअर्का गाउँमा आउजाउ गर्दा रुखको जरा समाएर स्थानीयबासि हिडडुल गरिरहेका छन । पहरो कोपेर बनाइएका साँघु तरेर स्थानीय ज्यान जोखिममा पारेर हिडिरहेका छन ।

‘सकसपूर्ण अवस्था अहिले हामीले बेहोरिरहेका छौ । सायद यौ नै अहिलेसम्मको सबैभन्दा अप्ठेरो अवस्था हामीलाई आईपरेको छ,’ मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङ भन्छन, ‘सबैतिर समस्यै समस्या भोगेका छौ ।’ उनका अनुसार खाद्यान्न ढुवानी गर्न नपाउँदा बढी अप्ठेरो आइपरेको छ । लम्जुङको बेशीसहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था नरहेपछि मुस्ताङ हुँदै खच्चडबाट आवश्यक खाद्यान्न र दैनिक अत्यावश्यक बस्तु ढुवानी गर्नुपरेको छ ।  

मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च बिन्दु थोराङला भञ्ज्याङ (५४१६मि) पार गर्नुपर्छ । माथिल्लो मनाङका बासिन्दाले अहिले थोराङला भञ्ज्याङ हुँदै खाद्यान्न र आवश्यक बस्तु ढुवानी गरिरहेको गुरुङले जानकारी दिए । ‘पिसाङमा दुई र खाङखारमा एकट्रिप सामान थोराङला हुँदै ढुवानी भयो । अब मनाङका बासिन्दाले पनि केहीदिनमा सामान ल्याउने तयारी छ,’ उनले भने । 

खच्चडबाट गरिएको यो रुटको ढुवानी निकै नै महंगो पर्ने उनले बताए । थोराङला फेदी (मुस्ताङतर्फ)बाट मनाङसम्म खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ४० रुपैयाँ खर्च पर्ने उनले बताए । थोराङपासको मुस्ताङको फेँदीसम्म गाडी पुग्छ । मुक्तिनाथबाट डेढ दिनमा सामान मनाङ पुगिसक्ने उनले बताए ।

‘दाल, चामल, तेन, नुन, औषधि सहितका सामान अहिले मुस्ताङबाट ल्याउन थालेका छौ,’ उनले भने । उनका अनुसार गाडीबाट बेसीसहर हुँदै १० रुपैयाँ किलोमा मनाङसम्म सामान ढुवानी हुन्थ्यो । तर, अहिले खच्चडबाट ल्याउँदा ४० रुपैयाँ र हेलिकप्टरमा २५० रुपैयाँ पर्ने उनले बताए ।

‘तल (चामे हुँदै) सामान आउने सम्भावना नै छैन । मान्छे हिड्न त डोरीको भरमा हिड्नुपर्ने अवस्था छ । हुने खानेले पो हेलिकप्टरमा ल्याउँलान,’ उनले भने, ‘उपचारमा बढी समस्या । बिरामी परे अस्पताल पुग्नै सकस छ । मौसम खराबीले हेलिकप्टरको उडान नै समस्यापूर्ण छ ।’ पैसा भएपनि हेलिकप्टर नै नआउने उनले बताए ।  

गुरुङले दाताहरुको सहयोगमा रासन ल्याएर बाहिरबाट आएर काम गर्ने र एकल तथा गरिब परिवारलाई उपलब्ध गराउने गरिएको बताए । एकल महिला, गरिबलाई राहत दिनेगरि योजना बनाएको पनि उनले बताए । ‘बाहिरबाट आएकालाई यहाँ बढी सकस छ । उनीहरुले मौज्दात सामान राख्न पनि सकेका छैनन । गोरखा, धादिङ, रुकुम, रोल्पाका मान्छे यहाँ कामका लागि आएका छन,’ उनले भने, ‘उनीहरुलाई हामीले सघाएका छौ ।’  

उद्योग बाणिज्य सघ मनाङका द्वितीय उपाध्यक्ष कान्छा गुरुङ पनि मोटरबाटो नखुल्दा अवस्था सकसपूर्ण बन्दै गएको बताए । ‘माथिल्लो भेगमा सकस छ । खाद्यान्न ढुवानीमा समस्या परेको छ । पैसा भएर पनि सामान ल्याउन सक्ने अवस्था छैन,’ उनले भने, ‘बाटो छैन । बजार ठप्प छ । बजारमा सामान किन्न पाइन छाडेको छ । चामेतिर पनि अवस्था उस्तै हो । पैसा भएर किन्न पाइने अवस्था छैन ।’ उनले पनि थोराङला पास गरेर दैनिक उपभोग्य र अत्यावश्यक बस्तु ल्याउन थालेको बताए । 

मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मौज्दात खाद्यान्न पनि सकिन थालेको छ । उनले पनि हेलिकप्टर वा थोराङला भञ्ज्याङ पार गराएर सामान ल्याउने बाहेक विकल्प नभएको बताए । ‘अझैपनि मान्छे घर फर्किन सकेका छैनन । तालगाउँका करिब ९० प्रतिशत घरका मान्छे आफन्तकहाँ आश्रय लिएका छन,’ गौतमले भने, ‘कतिपय बाँडिएर गाउँमै बसेका छन । सामुहिक रुपमा चारठाउँमा गाउँले बसेका छन ।’ उनले अझै दुई महिना गाडी उक्लने सम्भावना नभएको बताए ।  

‘ठाउँठाउँमा खतरा छ । हेलिकप्टर वा थोराङलाबाट खाद्यान्न ढुवानीको विकल्प छैन । धेरै नै महंगो ढुवानी पर्ने भयो,’ उनले भने, ‘ठाउँठाउँका पुल भत्केका छन । झोलुंगे पुल बगेका छन । मोटरबाटो नखुलेसम्म यहाँ सबैतिर सकस छ ।’ चामे र माथिल्लो मनाङबीचको सम्पर्क नै बिच्छेद हुने अवस्था आएको उनले बताए । ‘चामेको झोलुंगे पुल बग्ने अवस्थामा छ । त्यो पुल पनि बगेमा तल्लो र माथिल्लो मनाङबीच सम्पर्कविच्छेद हुनेछ,’ उनले भने ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको अवस्था सकसपूर्ण बन्दै गएको छ । गाडी नचलेपछि खाद्यान्न, औषधि, अत्यावश्यक बस्तु अभाव हुन थालेको उनले बताए । विजुली अभाव छ । सौर्यउर्जाको भरमा केही काम चलेको छ । बजारमा सामान किन्न नपाइने प्रजिअ लामिछानेले बताए । ‘अस्थायी बासिन्दालाई समस्या हुने गरेको छ,’ उनले भने, ‘तर कसैलाई भोकै बस्न नपरोस भनेर हामी सचेत बनेका छौ ।’

उनका अनुसार सदरमुकाम चामेमा १५० र हुम्देमा ८० क्वीन्टल चामल मौज्दात छ । खाद्यसँग एकहजार क्विन्टल चामल माग गरेको उनले बताए । ‘हेलिकप्टरबाट चामल ल्याउने हो । अझैसम्म त कोही भोकै परेका छैनन,’ उनले भने । ‘सबैतिर अप्ठेरै अप्ठेरो छ । माथिल्लो मनाङबाट तल्लो मनाङसम्म सामान ल्याउन पनि सकिने अवस्था छैन,’ लामिछानेले भने । 

प्रकाशित: २ श्रावण २०७८ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App