७ वैशाख २०८१ शुक्रबार
समाज

३८ वर्षदेखि डुब्दैछ धनगढी

सुदूरपश्चिमकै प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्र रहेको धनगढी विगत ३८ वर्षदेखि डुबानको चपेटामा परेको छ। हरेक वर्ष वर्षात्मा धनगढीका १९ वटै वडाका ७५ टोल डुबानमा पर्ने गरेका छन्।  

धनगढी उपमहानगरपालिकाद्वारा प्रकाशित विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना पुस्तिकामा विगत ३८ सालदेखि धनगढी डुवानको चपेटामा पर्न थालेको तथ्याङ्क उल्लेख छ। तथ्याङ्कअनुसार उपमहानगरपालिकामा विगत ३८ वर्षदेखि पटक–पटक गरेर ५० पटक बढी साना ठूला बाढीका घटनाहरु भएका छन्।

धनगढी क्षेत्रमा बग्ने मोहना, घुराहा, घुरही नदी, सुकुटी नालालगायतका खोला तथा नालामा आएको बाढीले डुबान पार्ने गरेको हो। बाढी तथा डुबानले धनगढीमा ३८ वर्ष यता १५ जनाले ज्यान गुमाउनु परेको छ।

यस्तै ५ हजार २ सय ५९ घर डुबानमा परेका थिए। १ सय १६ वटा घर तथा गोठमा बाढी र डुबानले क्षति पुर्याएको थियो भने ७ सय ९३ घरधुरी विस्थापित भइसकेका छन्। यस्तै बाढीले धनगढी क्षेत्रको एक हजार ६५ बिघा खेतीयोग्य जमिन कटान गरेको तथ्याङ्क धनगढी उपमहानगरपालिकासँग छ।  

उपमहानगरपालिकाले विगत वर्षहरूमा झैँ यस वर्ष पनि बाढी तथा डुबान भएमा धेरै क्षति हुने आँकलन गरेको छ। विगतको जत्तिकै मात्राको ठूलो बाढी आएमा यस उपमहानगरपालिकाका चार हजार ६ सय ८१ घरहरू र त्यहाँका २१ हजार ५ पाँच सय ८२ जना मानिस विस्थापित हुन सक्ने आँकलनसहितको आँकडा निकालेको छ। तर, यसरी निकालिएको आँकडा कागजमा मात्रै सीमित छ। बाढी तथा डुबान न्यूनीकरणका लागि उपमहानगरपालिकाले गर्नुपर्ने काम नगरेको स्थानीयको आरोप छ।

‘विगतका वर्षहरुमा त्यही ठाउँमा बाढी र डुबान हुँदै आएको छ,’ स्थानीय पहल धामीले भने, ‘तर, त्यसको निराकरणका लागि धनगढी उपमहानगरपालिकाले कुनै पहल नै गरेको छैन।’ डुबान र कटान क्षेत्रलाई बचाउन तथा कम क्षति हुने खालका कार्यक्रम ल्याउन नसक्दा वर्षेनि धनगढीबासी बाढी र डुबानको चपेटामा पर्ने गरेको उनले बताए।

धनगढी उपमहानगरपालिकाले विगत ३८ वर्षदेखि डुबान र कटानको क्षेत्र पहिचान गरे पनि त्यसलाई बचाउन दीर्घकालीन योजना ल्याउन नसकेको भन्दै नागरिक समाजका अगुवा हरि रेग्मीले दुखेसो पोखे। उनले भने, ‘उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा वर्षातमा हुने डुबान र कटानको पहिचान गरेको ३८ वर्ष भइसक्यो, तर दीर्घकालीन कार्यक्रम ल्याएर त्यसको न्यूनीकरणका लागि देखिनेगरी काम गरेको देखिएन।’  

शासक र प्रशासकबाट वर्षौदेखि धनगढीबासी प्रताडित हुँदै आएको उनको टिप्पणी छ। ‘जनताबाट उठेको करबाटै शासक र प्रशासक तलब खान्छन्,’ उनले भने, ‘तर,तिनै जनता वर्षौदेखि डुबान र कटानको चपेटामा पर्ने ठाउँमा दीर्घकालीन योजना ल्याउन विर्सेका छन् ।’  

साविकको धनगढी नगरपालिका भनै झनै डुबानको चपेटमा परेको उनी बताउँछन्। धनगढीको मुख्य बजार क्षेत्र भएर बहने ५ वटा नलाका कारण धनगढी डुबान झनै जोखिममा रहेको छ। ज्योति स्कुल नाला, रातोपुल नाला, कैलाली नाला, जिप्रका नाला, सेतोपुल नालाले सबैभन्दा बढी जोखिम निम्त्याएको उनी बताउँछन्। ‘यी नालाहरु वर्सेनि साँघुरिदा वर्षातको पानी आफ्नै बेगमा बग्न नपाएपछि डुबानको समस्या झेलिनु परेको छ,’ उनले भने, ‘त्यसको निराकरणका लागि उपमहानगरपालिकाले कुनै कदम चाल्न सकेको छैन ।’

धनगढीका योजनाहरु हचुवाका भरमा छनोट गरिनु पनि डुबान र कटानको समस्या निराकरण हुन नसक्नु अर्का स्थानीय दिपेन्द्र भाट बताउँछन्। उनले भने, ‘डुबान र कटानको क्षेत्र पहिचान हुँदा हुँदै पनि त्यसमा प्राविधिक पक्ष कमजोर हुँदा वर्षौदेखि निराकरण हुन सकेको छैन ।’  

धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले साधनस्रोतको कमीका कारण डुबान तथा कटानको समस्या समाधान गर्न नसकीएको स्वीकारे। उनले भने, ‘तर पनि हामीले आफूले सक्दो प्रयास गरिरहेका छौँ।’  

पछिल्लो समयमा जनताको तटबन्धन र एडिबीको तटबन्धनले केही ठाउँमा तटबन्ध भएको उनले बताए। ‘डुबानको समस्या समाधानका लागि ६ लेन सडकमा एडिबीले तयार गरेको पानी निकासको योजना बनाएको थियो,’ उनले भने, ‘त्यसमा त्रुटि भएको भन्दै फेरि सच्चाउन भनेका छौँ।’  

प्रकाशित: १ श्रावण २०७८ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App