coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'नाम मात्रको' निषेधाज्ञाले जोखिम, अनुगमनकारी निकाय मौन

काठमाडौं उपत्यकामा जारी ‘नाम मात्रको’ निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो।

कोरोना महामारीको दोस्रो लहर बढेपछि गत वैशाख १६ गतेदेखि निषेधाज्ञाको अवधि थप गर्दै आएको प्रशासन कार्यालयहरुले भने निषेधाज्ञालाई प्रभावकारी बनाउनका लागि भने खासै पहल नगरेको स्थानीय मात्र नभएर स्वास्थ्यकर्मीहरुले समेत बताएका छन्।

लम्ब्याइएको निषेधाज्ञाकै कारण जोखिम बढ्ने सम्भावना बढेको सरोकारवालाहरु बताउँछन्। ‘अहिले निषेधाज्ञा नाम मात्रको बनेको छ, निषेधाज्ञा भनेको छ, तर निषेधाज्ञामा पालना गर्नुपर्ने कुराहरु पालना गरेका छैनन्,’ भक्तपुर सूर्यविनायकका मुकुण्द भुजुले भने। उनले निषेधाज्ञा खुकुलो बनेसँगै लापरबाही समेत बढेको बताए।

सरकार स्वयंले जोखिम नघटेको बताउँदै आए पनि त्यसको पालना गराउनका लागि भने कुनै पक्षबाट निगरानी र अनुगमन नभएको स्थानीय रामभक्त श्रेष्ठले बताए। ‘निषेधाज्ञाको पालना भयो कि भएन भन्ने कुराको अनुगमन मात्र भए पनि बढ्दो जोखिमलाई कम गर्न सकिन्छ, तर त्यसको पालना भएको छैन, निषेधाज्ञा लगाउने निकायले पनि त्यसको अनुगमन गरेको छैन।’

यही अनुगमन नगर्दा सबैतिर अहिले भीड बढेको छ। स्वास्थ्य मापदण्डको पालना नगर्नेहरुको संख्या दिनानुदिन बढीरहेको छ। सार्वजनिक सवारी साधनमा यात्रुहरुको संख्या बढीरहेको छ। मास्कविना हिँड्डुल गर्ने सर्वसाधारणहरु पनि बढ्न थालेका छन्।  

‘लापरबाही गर्नेहरुको संख्या बढीरहेको छ, भीड नगर्न भने पनि भीड गरिरहेका छन्, पसल, खाजा पसलमात्र नभएर विभिन्न धार्मिक स्थलमा पनि मानिसको चहलपहल बढ्दो छ’, स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भने, ‘यसले जोखिम बढेको छ।’

उनले खोप पाएकाहरुमा बढेको आत्मविश्वासले पनि बजार, कार्यालयहरुमा भीड बढेको हुन सक्ने बताउँदै अझ स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी रहेको बताए। ‘संक्रमणको जोखिम उस्तै छ, सुरक्षित हुनुको विकल्प छैन, अरु कोहीले गर्दैन, आफै संयमित हुनुपर्ने भएको छ,’ उनले भने।

साउन १ गतेदेखि अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई मात्र आवतजावत गर्न दिने निर्णय गरे पनि त्यसको पालना हुन सकेको छैन। निषेधाज्ञामा औषधि तथा स्वास्थ्य सामग्री पसललाई मात्र जुनसुकै समयमा निर्बाध रूपमा सञ्चालन गर्न पाइने निर्णय गरे पनि खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री, स्टेसनरीलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने पसलहरूदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम तथा पार्ट्स पसल, टेलरिङ, इलेक्ट्रोनिक पसल र निर्माणजन्य सामग्रीलगायत पसल तथा व्यवसाय बेलुका ७ बजेभन्दा बढी समयसम्म सञ्चालन हुन थालेका छन्।

‘पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा सेनिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने भनिए पनि त्यसको पालना हुन सकेको छैन। प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड परिपालना नगरेको पाइए पसल तथा व्यवसाय तत्काल बन्द गर्न सक्ने बताए पनि त्यसको अनुगमन भने भएको छैन।

प्रकाशित: १ श्रावण २०७८ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App